आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ – वुमन्स च्याम्पियन्स लिग क्रिकेटको पहिलो संस्करण बुधबारबाट सुरु भएको छ ।
प्रतियोगितामा चितवन राइनोज वुमनले जितका साथ प्रतियोगिता सुरु गरेको छ । बुधबार भएको उद्घाटन खेलमा चितवनले क्याट क्विन्स काठमाण्डौलाई पाँच विकेटले हरायो ।
कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको क्याट क्विन्सले पूरै २० ओभरमा सबै विकेट गुमाएर ९२ रनमात्र बनाउन सक्यो । क्विन्सका लागि दुई जना खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । रश्मी चौलागाईले ३४ रन बनाउँदा सरस्वती कुमारीले १५ रनको योगदान गरिन् ।
राम्रो सुरुवात गरेको क्याट क्विन्सका मध्यक्रमका खेलाडीले एकपछि अर्को विकेट गुमाउँदा कम योगफलमा रोकिन पुग्यो । ४० रनमा पहिलो विकेट गुमाएको क्विन्सले ५८ रनमा पाँच विकेट गुमाएको थियो । त्यसपछि स्कोरबोर्डमा ८८ रन बनाउँदा सात विकेट खेर फाल्यो ।
बलिङमा चितवन राइनोज वुमन्सका लागि सन्तोषी चौधरीले तीन विकेट लिइन् । रेशा रावल र कविता गौतमले समान दुई दुई विकेट हात पार्दा रित कनौजीयाले एक विकेट हात पारिन् ।
जवाफी ब्याटिङमा चितवनले १८ ओभर तीन बलमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गर्याे । सुरुवात राम्रो गर्न नसकेको चितवनले ११ रनमा पहिलो विकेट गुमायो भने १७ रनमा दोस्रो तथा २८ रनमा तेस्रो विकेट गुमायो । चौथो विकेटका लागि सुमन खतिवडा र रितु कनोजीयालै ४७ रनको साझेदारी गरेपछि चितवनको पारी सम्हालिएको थियो ।
चितवनका लागि काजल श्रेष्ठले ११ रन बनाइन् भने कञ्चन श्रेष्ठले ६ तथा रितु कनोजीयाले १४ रनको योगदान गरिन् । यस्तै कप्तान इन्दु बर्मा एक रनमा पेभेलियन फर्किँदा सुमनले सर्वाधिक २९ रन बनाइन् ।
अन्तिममा प्यारी चौधरीले अविजित २४ रन बनाउँदा चितवनले सहज जित निकाल्यो । उनले रुवीना क्षेत्रीको ओभरमा दुई ओटा चौका प्रहार गर्दै जित दिलाइन् ।