एनआरएनएको नयाँ नेतृत्व चयनका लागि १० बजेदेखि मतदान हुने

 असोज ३०, २०७६ बिहिबार ८:२२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गैरआवासीय नेपाली संघ एनआरएनएको नयाँ नेतृत्व चयनका लागि बिहीबार फेरि मतदान हुने भएको छ । बुधबार अबेर सुरु भएको मतदान भोटिङ मेसिनमा समस्या आएपछि बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको र १० बजेपछि फेरि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

बुधबार मतदाता नामावलीमा विवाद भएपछि मतदान प्रक्रिया ढिलो मात्रै सुरु भएको थियो । मतदान सकिएको एक घण्टाभित्र नतिजा सार्वजनिक गरिने संघले जनाएको छ । संघको नयाँ अध्यक्षमा कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ ।

काठमाण्डौको हायात होटलमा मंगलबार भएको सम्मेलनपछि अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, क्षेत्रीय संयोजक तथा उप–संयोजक, महिला र युवा उपसंयोजक गरी २५ जना नयाँ सदस्यका लागि ७५ जना उम्मेद्वार छन् । 

सम्मेलनमा २८ सय प्रतिनिधि सहभागि भए पनि मतदाता सूचीमा २४ सय मात्र रहेकाले सूचीमा समेटिएकाले मात्र मतदान गर्ने निर्वाचन समितिले जनाएको छ । निर्वाचनका बारेमा विवाद हुँदा एनआरएनएका प्रतिनिधिले बुधबार होटलमा तोडफोडसमेत गरेका थिए । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया