फिल्म हेर्न नेपालगञ्जमा भारतीय दर्शककाे घुइँचाे

 असोज ३०, २०७६ बिहिबार १५:६:३३ | रासस
unn.prixa.net

काठमाण्डाै - भारतीय बजार रुपैडियामा दशैँको किनमेल गर्न गएका नेपालीको भिड थामिनसक्नु छ ।

नेपालगञ्जको बजार फस्टाउन नसकेका बेला रुपैडिया भने मालामाल हुनु सामान्यजस्तै बनिसकेको छ । हरेक सामान किन्न नेपाली रुपैडिया पुग्छन् । तर रुपैडियालगायत सीमावर्ती ठाउँमा भारतीय नागरिक फिल्म हेर्नकै लागि नेपालगञ्ज आउँछन् । 

भारतीय नागरिककै कारण नेपालगञ्जको फिल्म व्यापार अझ फस्टाएको छ । सीमावर्ती भारतीय बजार र गाउँका भारतीय नागरिक फिल्म हेर्न नेपालगञ्ज आउने गरेका छन् । क्यूएफएक्स बागेश्वरी सिनेमाज सञ्चालनमा आएपछि सीमावर्ती बजार रुपैडिया, नानपारा मात्र होइन, बहराइजसम्मबाट भारतीय नागरिक नेपालगञ्जमा आउने गरेका छन् ।
 
क्यूएफएक्स बागेश्वरीमा फिल्म हेर्न आइरहने रुपैडियाका व्यापारी सुशील रावले भन्नुभयो, 'हाम्रोतिर हल छैन । नजिक भनेको नेपालगञ्ज हो, त्यही भएर हिन्दी फिल्म लागेका बेला नेपालगञ्ज पुग्छौँ ।' रुपैडियाबाट नजिक लखनऊमा सुविधासम्पन्न हल छन् । त्यहाँ जान समय लाग्ने भएकाले भारतीय नागरिक नेपालगञ्ज आउने गरेका छन् ।
 
नेपालगञ्जमा अहिले क्यूएफएक्स बागेश्वरी मात्र सञ्चालनमा छ । लक्ष्मी हलले स्तरोन्नति गरिरहेको छ, श्रृष्टि हल भत्काएपछि बन्द भइसक्यो । स्नेह होटल छेउमा सुविधासम्पन्न नयाँ हल बन्दैछ । पर्यटन वर्षसँगै त्याे हल सञ्चालन हुने अपेक्षा गरिएको छ । यी हलले भारतीय नागरिकलाई तान्ने अपेक्षा गरिएको छ ।

क्यूएफएक्स बागेश्वरी सिनेमाज नेपालगञ्जका प्रबन्ध निर्देशक नीरजमान शाक्यले भारतीय नागरिकहरु फिल्म हेर्न आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, 'हिन्दी फिल्म चलेका बेला अधिकांश भारतीय नागरिक नै हाम्रा ग्राहक हुन् ।' 

अहिले नेपालगञ्जमा भारतीय नागरिकलाई लक्षित गरी फनपार्क बनाउने काम धमाधम भइरहेको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया