चितवन राष्ट्रिय निकुञ्जमा दुई महिनामा चार गैँडा मरे

 कात्तिक १४, २०७६ बिहिबार १२:८:३७ | रासस
unn.prixa.net

चितवन - चितवन राष्ट्रिय निकुञ्जमा भदौ यता कालगतिले चार वटा गैँडा मरेका छन् ।

भदौ ११ गतेदेखि कात्तिक ९ गतेसम्म विभिन्न ठाउँमा चार वटा गैँडा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार पछिल्लो पटक कात्तिक ९ गते भरतपुर महानगरपालिका वडा नम्वर २५ को राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ४० वर्षको भाले गैंडा मरेको हो । बुढो भएर हिँडडुल गर्न र चर्न नसकेपछि निगरानीमा राखिएको गैँडा मरेको उहाँले जानकारी दिनुभयो ।

यस अघि असोज २९ गते भरतपुर महानगरपालिका वडा नम्बर २८ को वरदाहा सामुदायिक वनमा एउटा गैंडाको हाडखोर भेटिएको थियो । त्यस अघि असोज ५ गते सौराहाको खोरसोरमा र भदौ ११ गते राप्ती नियन्त्रण सामुदायिक वनमा भाले गैंडा मृत अवस्थामा भेटिएको थियो । ती सबै गैँडा कालगतीले मरेका बताइएकाे छ ।

अघिल्लाे वर्ष निकुञ्ज क्षेत्रमा कालगतिका कारण ४१ वटा गैँडा मरेका थिए । चोरी शिकारीबाट गैँडा मर्न जाेगिए पनि पछिल्ला वर्षहरुमा कालगतिबाट धेरै गैंडा मर्न थालेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडा मृत्युका कारण अध्ययन गर्न समिति गठन गरी काम अघि बढाएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया