दशैँ बिदामा घर गएका कार्यालय प्रमुख सम्पर्कविहीन, सेवाग्राही मारमा

 कात्तिक १६, २०७६ शनिबार १५:३१:१९ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – मालपोत कार्यालय रामेछापका कार्यालय प्रमुख दशैँपछि कार्यालयमा उपस्थित नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । 

कार्यालयमा प्रमुख नहुँदा धेरै सेवाग्राहीको काम रोकिएको छ भने कार्यालयको अन्य दैनिक कामहरु समेत प्रभावित हुँदै आएको छ । दशैँ मनाउन दशैँअघि कार्यालय छाडेर हिँड्नुभएका मालपोत कार्यालयका प्रमुख रघुनाथ फुयाँल तिहार सकिँदासमेत कार्यालय फर्किनुभएको छैन । 

कार्यालयका कर्मचारीले पटक पटक प्रमुखसँग सम्र्पक गर्दासमेत उहाँको मोबाइल स्विच अफ् भएकाले प्रमुखसँग सपर्क हुन नसकेको मालपोत कार्यालय रामेछापका नायब सुब्बा दामोदर सुवेदीले जानकारी दिनुभयो ।  

सुवेदीले भन्नुभयो, ‘दशैँ बिदामा जानुभएका प्रमुख तिहार सकिँदा पनि कार्यालयमा हाजिर हुन आउनुभएको छैन । प्रमुखले अहिलेसम्म कुनै पनि बिदा लिनुभएको छैन । दशैँ सकिएपछि एक पटक कार्यालयमा सम्पर्क गर्नुभएका प्रमुख फुयाँल त्यसपछि सम्पर्कमा आउनुभएको छैन ।’ 

कार्यालय प्रमुख नहुँदा कार्यालयले प्रदान गर्ने नामसारी, नाम संशोधन, दर्ता र संघ-संस्थाहरुको कामसमेत ठप्प भएको छ । कार्यालयमा काम लिएर आएका सेवाग्राहीहरु प्रमुख नहुँदा त्यत्तिकै फर्कनुपर्ने बाध्यता रहेको लेखापढी व्यवसायी बोधकुमार रोकाले जानकारी दिनुभयो । 

आफ्नो बावुको नामको जग्गा आमाको नाममा नामसारी गरी दुई छोराहरुको नाममा जग्गा नामसारी गर्न आमालाई लिएर मालपोत कार्यालय पुग्नुभएका रामेछाप नगरपालिका ५ का रामकुमार बस्नेत कार्यालय प्रमुख नभएकै कारण आफ्नो नाममा जग्गा नामसारी गर्न पाउनु भएन । 

उहाँले भन्नुभयो, ‘वृद्ध आमा लिएर ग्रामीण भेगबाट हजारौँ रुपैयाँ खर्चेर कार्यालय आइपुगियो । प्रमुख नभएकाले तपाईँको काम हुँदैन, प्रमुख आएपछि मात्रै हुन्छ भनेपछि अब के गर्ने ? कार्यालयमा प्रमुख नबस्ने यो कस्तो तरिका हो ?’

बस्नेत त एक पात्र मात्र हनुहुन्छ । उहाँजस्ता धेरै जना कार्यालय प्रमुखको अनुपस्थितिमा मारमा पर्नु भएको छ । 

मालपोत कार्यालयमा उपसचिवको दरबन्दी भएको लामो समय भैसक्दा पनि अहिलेसम्म पनि त्यो पदमा कोही प्रमुख आएका छैनन् । उपसचिवको दरबन्दी हुँदा पनि अहिलेसम्म शाखा अधिकृतले नै कार्यालय सञ्चालन गर्दै आएका छन् । 

त्यस्तै कार्यालयको सेवा अनलाइन प्रक्रियाबाट गरिने भनिएता पनि त्यो लागू हुन सकेको छैन । सेवाग्राहीले सेवा नपाएको विषयमा रामेछापका प्रमुख जिल्ला अधिकारी लिलाकुमार पाण्डेले तत्काल बुझेर आवश्यक कारबाही गर्ने जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया