डडेलधुरा पुगेर सुरु भयो डाक्टर केसीको १७औँ अनशन, यस्ता छन् माग

 कात्तिक १८, २०७६ सोमबार १८:५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

डडेलधुरा – चिकित्सा क्षेत्रमा विभिन्न सुधारको माग गर्दै डाक्टर गोविन्द केसी डडेलधुरा पुगेर अनशन बस्नु भएको छ ।

हालसम्मको आन्दोलनका उपलब्धिहरु संस्थागत गर्न सत्याग्रहसहित आन्दोलनको नयाँ चरणअन्तर्गत सोमबार साँझ ५ बजेदेखि १७औं सत्याग्रह सुरु गरेको डाक्टर केसीले जनाउनु भएको छ । डाक्टर केसी जिल्ला अस्पताल डडेलधुरा नजिकै रहेको निजी भवनको तेस्रो तलामा सत्याग्रह बस्नु भएको उहाँका सहयाेगी प्रीतम सुवेदीले जानकारी दिनुभयाे ।

सोमबार अचानक डडेलधुरा पुग्नु भएका डाक्टर केसीले दिउँसो रक्त परीक्षणलगायतका विभिन्न स्वास्थ्य परीक्षण गराउनु भएको थियो । अनशन बस्नुअघि उहाँले विभिन्न स्वास्थ्य परीक्षण गराउँदै आउनु भएको छ ।

स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधार तथा सुशासनका लागि हामी लामो समयदेखि संघर्षरत रहेको त्यस क्रममा गरिएका सम्झौताहरु राज्यले बारम्बार उल्लंघन गरेकाले आफू सत्याग्रह गर्न बाध्य भएका उहाँले प्रेस विज्ञप्तिमार्फत जनाउनु भएको छ ।

प्रधानमन्त्रीलगायत सत्तारुढ दलका नेताहरुसँगको लेनदेन र सम्बन्धकै कारण चिकित्सा क्षेत्रमा आर्थिक अपराध गर्नेहरु अहिलेसम्म कानुनको दायरामा नआएको पनि डाक्टर केसीको आरोप छ ।

डाक्टर केसीकाे सत्याग्रहका मागहरु यस्ता छन्

 १. हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस ।

२. विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गरियोस् ।

३. आन्दोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस् । अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरुलाई फौजदारी कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरियोस्। नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाण्डौ विश्वविद्यालयको आंगिक कलेज तथा विस्तारित कार्यक्रममा तत्काल ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरियोस्।

४. संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा बृद्वि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस् ।

५. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस कार्यक्रम सञ्चालन गरियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीजीपी कार्यक्रम सञ्चालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमन्त्री कार्यालयले अड्काएर राखेकाले त्यसलाई तुरुन्त स्वीकृति दिँदै शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरियोस् । प्रदेश नम्बर दुई र चार तथा डोटी, डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस ।

६. क्यान्सरलगायतका महँगा औषधिहरु भारतभन्दा ४–५ गुणा महंगो भएकाले सुपथ मूल्यमा उपलब्ध गराउने व्यवस्था गरियोस् । कर्मचारी समायोजनका कारण सेवा नै अवरुद्ध भएका डडेल्धुरालगायतका अस्पताल र स्वास्थ्य संस्थाहरुमा तत्काल दरबन्दीअनुसार चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरियोस् ।

७. संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागबण्डाबाट रोकी पीडितहरुको मागअनुसार सम्बन्धित कानुन संशोधन गर्दै पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गरियोस् । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया