आलमले मागे काउन्सिलिङको समय, केही बेर बयान रोकियो

 कात्तिक १९, २०७६ मंगलबार १५:४५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

राैतहट - रौतहट बम विस्फोट प्रकरणमा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफताब आलमले बयान अघि काउन्सिलिङको समय माग गरेका छन् । बयानका लागि अदालत पुर्‍याइएका आलमलाई काउन्सिलिङका लागि उनका कानुन व्यवसायीले समय माग गरेपछि केहीबेर बयान रोकिएको थियो । 

आलमका पक्षबाट बहस गर्ने कानुन व्यवसायीहरुले सरकारी वकिल कार्यालयले आलमविरुद्ध तयार पारेको मिसिलको प्रतिलिपि पाउनु पर्ने माग र आलमलाई काउन्सिलिङका लागि केही बेर समय दिन माग गरेपछि बयान रोकिएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले उज्यालोलाई जानकारी दिनुभयो । 

केही बेरको काउन्सिलिङ र मिसिलको प्रतिलिपि उपलब्ध गराएपछि अहिले बयान सुरु भएको उहाँले बताउनुभयो । आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीन वटा अभियोगमा मुद्दा दायर भएको छ । 

जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा बयान सुरु भएको हो । बयान सकिएपछि  थुनछेकको बहस सुरु हुने र त्यसपछि मात्रै आलमलाई कस्तो सजाय दिने भन्नेबारे अदालतले आदेश दिने छ ।  

आलमलाई कारबाही माग गर्दै जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, सह–न्यायाधिवक्ता सूर्यराज दाहाल, पर्साका न्ययाधिवक्ता रुद्रप्रसाद पन्थी, उपन्यायाधिवक्ता अर्जुनप्रसाद कोइराला र सहायक न्यायाधिवक्ता रामप्रसाद पन्थीले बहस गर्नुहुनेछ ।

आलमको पक्षबाट बहस गर्न २५ जना कानुन व्यवसायीले वकालतनामा भरेका छन् ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया