स्थानीय उत्पादनकाे बजार खोज्न बाजुरामा ‘आलु महोत्सव’

 कात्तिक २१, २०७६ बिहिबार १५:३७:१८ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा - आलुको बजारीकरण र प्रवर्द्धनका लागि बुधबारदेखि बाजुरामा पहिलो आलु महोत्सव सञ्चालन भइरहेको छ।

ढम्कने कृषि सहकारी संस्थाको आयोजना र बडीमालिका नगरपालिका र कृषि ज्ञान केन्द्र बाजुराको समन्वयमा पहिलो पटक ढम्कनेमा आलु महोत्सव सञ्चालन गरिएको हो ।

केही महिना अगाडि जिल्लाले स्थानीय स्याउलाई बजारीकण गरी पहिलो पटक ६५ लाखको स्याउ निर्यात गरेको थियो। त्यसको महिना नबित्दै बडीमालिका नगरपालिका–७, ढम्कनेमा पहिलो पटक आलु महोत्सव गरेकाे हाे।

‘स्थानीय कृषकहरुलाई आलु खेतीको उत्पादकत्वमा वृद्धि तथा व्यवसायिकतामा सहयोग पुर्‍याउने उद्देश्यले यो महोत्सव गरेका हौँ’, सहकारीका अध्यक्ष लोकेन्द्र रोकायाले भन्नुभयाे।

महोत्सवको उद्धघाटन बुधबार सुदूरपश्चिम प्रदेशका कृषि मन्त्री विना चौधरीले गर्नुभयाे । उद्धघाटनका क्रममा उहाँले भन्नुभयाे, ‘समृद्धि हामी सबै मिलेर ल्याउन सक्छौँ, हामीसँग भएको उत्पादनलाई बढाउने र बजारीकरण गर्ने हो भने सुदूरमा थुप्रै सम्भावना छन्। आलुको अभियानले कृषकलाई समृद्धितर्फ डाेहाेर्‍याउनेछ ।’ 

कृषकहरुले अहिले जिल्लामा बिस्तारै परम्परागत खेती छोड्दै नगदे बालीतर्फ लागिरहेका कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीन प्रसाद जोशीले बताउनुभयो ।

खेतमा लगाएको आलु बजारमा डुलाउनु पर्ने बाध्यता भएकाले एउटा निश्चित संकलन केन्द्र र बिक्री केन्द्र हुने हो भने कृषकहरुलाई सहज हुने स्थानीयकाे भनाइ छ।  

जिल्लामा यातायातका साधानको सहजता नभएका कारण पनि जिल्लाका उत्पादनहरु बजारमा लैजान समस्या भएकाे छ । यसाे हुँदा माैसममा फालाफाल हुने र कुहिने तथा बेमाैसममा तराइबाट आएको तरकारी किनेर खानु पर्ने बाध्यता रहेको स्थानीय डबलबाहादुर रोकायाले बताउनुभयाे। 

‘जिल्लामा सडक सञ्जाल जोडिएकाले तराइबाट आउने गाडीले सामान ल्याउने तर रित्तै फर्कने गरेका छन् । ती गाडीमा स्थानिय उत्पादन बजारमा लैजाने व्यवस्था मिलाउने हो भने हाम्रो उत्पादनले बजार पाउँछ, कृषकहरुले समेत आम्दानी हुने देखेपछि उत्पादनमा जाेड गर्छन्’, बाजुरा उद्योग वाणिज्य संघका अध्यक्ष देबबहादुर रोकायाले बताउनुभयाे।

अन्तिम अपडेट: बैशाख ५, २०८१

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया