हरिबोधिनी एकादशीमा तुलसीको विवाहका लागि  पुरोहितको अभाव

 कात्तिक २२, २०७६ शुक्रबार १०:१६:२४ | रासस
unn.prixa.net

म्याग्दी – आज हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन । धर्मशास्त्रमा उल्लेख भएअनुसार आषाढ शुक्ल एकादशीदेखि चार महिनासम्म क्षीरसागरमा शेषनागरुपी श्ययामा शयन गरेर भगवान् श्रीहरि जागा भएको दिन । 

यस दिनलाई हिन्दू धर्मावलम्बीहरूले भगवान् हरि (विष्णु)को विवाह लक्ष्मी मानिएकी तुलसीसँग गरिदिने धार्मिक प्रचलन रहँदै आएको छ । विधिविधान र पूजापाठ गरी व्रत बसेर तुलसीको विवाह गर्ने आजको दिनमा म्याग्दीमा भने पुरोहितको अभावमा तुलसीको विवाह गर्न व्रत बस्ने महिलाहरू अन्योलमा  परेका छन् ।

कर्मकाण्ड गर्ने ब्राह्मण (पुरोहित)हरूको अभाव हुँदै गएपछि अन्य धार्मिक कार्यहरूजस्तै तुलसीको विवाह गर्न पनि समस्या भएको बेनी नगरपालिका–२ की भीमकुमारी घिमिरेले बताउनुभयो ।

विद्यालयस्तरमा संस्कृत शिक्षाको पठनपाठन नहुँदा योग्य पुरोहितको अभावमा म्याग्दी जिल्लामा कर्मकाण्ड र पूजापाठ प्रभावित हुँदै गएका छन् । ब्राह्मणकै अभावमा जन्म, चुडाकर्म, विवाह र मृत्यु संस्कारसमेत प्रभावित हुन थालेपछि स्थानीयवासी चिन्तित हुन थालेका छन् ।

संस्कृत शिक्षा पढेर रोजगारी नपाइने र आधुनिक समाजसँग मेल नखाने सोचाइका साथ ब्राह्मणहरूले पनि संस्कृत पढन् छाडेपछि जिल्लामा धार्मिक कार्य र अनुष्ठानका लागि पुरोहित ब्राह्मणहरूको अभाव हुन थालेको स्थानीयवासीले बताएका छन् ।

वेद, उपनिषद्, पुराण, रुद्री लगायतका ग्रन्थहरूलाई आधार मानेर गरिने कर्मकाण्ड जन्मेदेखि मृत्युपर्यन्त आवश्यक भए पनि पुरोहितको अभावमा समस्या उत्पन्न हुन थालेको पण्डित भीमनाथ पराजुलीले बताउनुभयो । ‘हिजोआज संस्कृत पढ्ने चलन नै हराउन थालिसक्यो’, उहाँले भन्नुभयो, ‘संस्कृतको ज्ञान नभएका व्यक्तिहरूले कर्मकाण्ड गराउन नसक्ने हुँदा न्वारान, विवाह र मृत्युसंस्कार जस्ता नगरी नहुने कर्महरू गर्न पनि समस्या हुन थालेको छ ।’ संस्कृत शिक्षा हिन्दूहरूको जीवन पद्धतिसँग जोडिएको शिक्षा भए तापनि हिजोआज संस्कृतप्रति सबैको मोह घट्दै गएको पाइएको छ ।

गाउँघरतिर संस्कृत नपढेका, बेरोजगार भएर बसेका, नैतिक रूपमा स्खलित भएका र अन्य कुनै उपाय नभएपछि कर्मकाण्डमा लागेका बाहुनहरूले आफूखुशी ‘धुपं समर्पयामी, नैवेद्यं चढायामी’ भनेर पूजा गराउने गरेको र सङ्कल्पमा सम्वत्सर, नक्षत्र, तिथिसमेत गलत उच्चारण गर्ने गरेका आफूले पाएको अर्का पण्डित नीलकण्ठ आचार्यले बताउनुभयो । ‘शुद्धसँग वेदका  ऋचा उच्चारण गर्न नसक्ने र आफ्नो आचारणमा नरहेका ब्राह्मणहरूले पनि अरू कुनै पेशा गर्न नसकेर कर्मकाण्डमा लाग्दा ब्राह्मणहरूको समेत बदनाम भएको छ’, उहाँले भन्नुभयो ।

कर्मकाण्ड गर्ने बूढापाका ब्राह्मणहरूको शेषपछि पुरोहितहरूको अभाव सुरु हुन थालेको हो । अहिले म्याग्दीमा पुराणवाचन गर्ने पण्डितको सङ्ख्या दुई–तीनभन्दा बढी नरहेको र कर्मकाण्ड गर्नेहरू पनि घट्दै गएको ब्राह्मण समाज म्याग्दीले जनाएको छ ।

यस्तो छ क्षीर सागरमा सुतेका भगवान्लाई जगाउने विधान 

धर्मशास्त्रका अनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मका चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुन्छ । यसरी शयन गरेका भगवान् विष्णु (हरि) लाई ‘उत्तिष्ठोतिष्ठ गोविन्द त्यज निद्रां जगत्पते । त्वयि सुप्ते जगत्सुप्तमुत्थिते चोत्थितं जगत् ।। अर्थात् हे गोविन्द (विष्णु) भगवान्, हजुरले निद्रा छोडेर उठ्नुपर्‍यो । किनकि हजुरको सुताइमा संसार नै सुत्छ र हजुर जागा हुँदा यो चराचर जगत् नै उठ्छ (सक्रिय हुन्छ) । अतः हजुर उठ्नु पर्‍यो । यो मन्त्रले पूजा गरेर भगवान् विष्णुलाई उठाएपछि दामोदर (विष्णु) भगवान्सँग घरअगाडि मठमा सारिएको तुलसीको विवाह गर्ने विधान छ ।

हरिबोधिनी एकादशीको महत्व 

अरू एकादशीहरूको भन्दा हरिबोधिनी एकादशीको महत्व बढी भएको धर्मशास्त्रमा उल्लेख गरिएको छ । एकादशी महात्म्यमा वर्णन गरिएअनुसार आषाढ शुक्लपक्षको एकादशीदेखि चतुर्मास्यव्रत प्रारम्भ गरिन्छ भने कार्तिक शुक्ल पक्षको एकादशी व्रत सम्पन्न भएपछि विधिपूर्वक पारण गरी उक्त व्रत समापन गरिन्छ । सबै एकादशीभन्दा हरिबोधिनी एकादशी ठूलो भएकाले यो एकादशीलाई ठूली एकादशी पनि भन्ने गरिएको पं आचार्यले बताउनुभयो ।

पण्डित आचार्यका अनुसार सबै पाप एकादशीका दिन अन्नमा गएर बसेका हुन्छन् । व्रत बस्दा मुख्यरुपले शारीरिक अवस्था विचार गर्नुपर्दछ । एकादशी व्रतले मन, वचन र कर्मको एकाकार गरी आफ्नो कर्तव्य सबल भएर अगाडि बढ्न सिकाउने हुँदा एकादशीको व्रत लिनुपर्ने धर्माचार्यहरूको भनाइ छ । 

अन्तिम अपडेट: मंसिर ५, २०७६

तपाईको प्रतिक्रिया