डेढ वर्षमा ६ जना बालबालिकाे ज्यान गएपछि चितुवा खोज्न तनहुँकाे जङ्गलमा विज्ञ परिचालन

 कात्तिक २३, २०७६ शनिबार १६:२८:२० | रासस
unn.prixa.net

तनहुँ - तनहुँ जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ टोली जङ्गलमा परिचालित भएका छन् ।

भानु नगरपालिका–१, २, ३ र ४ मा चितुवाको आक्रमणबाट डेढवर्षको अवधिमा ६ जना बालबालिकाको मृत्यु भएपछि चितुवा नियन्त्रणका लागि कोषका विज्ञ टोली जङ्गलमा परिचालित भएका हुन् ।

चितुवा नियन्त्रणका लागि कोषका ६ जना विज्ञकाे टोली परिचालित भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो ।

‘स्थानीयस्तरबाट चितुवा नियन्त्रणका लागि भएको प्रयास असफल भएपछि विज्ञ टोलीको सहयोगमा चितुवा नियन्त्रणमा लिन खोजिएको हो’, बरालले भन्नुभयो, ‘उक्त टोलीले नतिजा निकाल्नेमा विश्वस्त छौं ।’

विज्ञ टोलीका साथमा स्थानीय शिकारीलाई पनि परिचालन गरिएको छ । 

कोषका वरिष्ठ विज्ञ डा नरेश सुवेदीले दुई महिनाभित्रै परिणाममुखी काम देखाउने गरी टोलीले काम सुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार चितुवा प्रभावित वडाबाट दुई-दुईजना स्थानीयवासीलाई टिममा सहभागी गराइएको छ ।

‘यस ठाउँको यथार्थ जानकारी भएका स्थानीयवासीलाई टिममा समावेश गरेपछि हामीहरुलाई काम गर्न सहज हुन्छ’, डा सुवेदीले भन्नुभयो, ‘जङ्गलको सबै ज्ञान उहाँहरुलाई हुने हुँदा उहाँहरुकै सहयोगमा चितुवा नियन्त्रणमा लिनेछौँ ।’

डा सुवेदीका अनुसार चितुवा नियन्त्रणका लागि चितुवा हिँड्ने बाटो पहिचान गरिनेछ । उहँका अनुसार चितुवा प्रभावित वडामा क्यामरा जडान गरेर चितुवा पहिचान गरिनेछ । चितुवा नियन्त्रणका लागि एशियाका विभिन्न देशमा प्रयोग गरिएका प्रविधि परिचालन गरिनेछ ।

देशका ७७ वटै जिल्लामा चितुवा पाइन्छ । पछिल्लो समय बैतडी, अर्घाखाँची र तनहुँमा चितुवाको बढी समस्या रहेको छ । उहाँका अनुसार बुढो र घाइते भएको खण्डमा चितुवा आक्रामक हुन्छ । जङ्गलमा आहाराको अभाव हुँदै गएपछि वैकल्पिक आहाराको खोजीमा चितुवाले मान्छेमाथि आक्रमण गर्ने गरेको अध्ययनबाट पुष्टि भएको सुवेदीको भनाइ छ । 

‘जङ्गलमा पाइने जनावर चोरी शिकारका कारण नष्ट हुँदै गएपछि चितुवा आहारा खोज्दै बस्ती नजिक आउने गरेको पाइएको छ’,डा सुवेदीले भन्नुभयो, ‘बस्ती नजिक आएको चितुवाले आहाराकै लागि मान्छेमाथि आक्रमण गर्ने गरेको छ ।’ 

चितुवालाई प्रतिदिन चार किलो मासु आवश्यक पर्दछ । 

चितुवा नियन्त्रणका लागि नगरपालिकाको सामुदायिक वनमा परम्परागत खोर राखिएको छ । चितुवा प्रभावित वडाका सामुदायिक वनमा ९ वटा परम्परागत खोर राखिएका छन् । भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले चितुवा नियन्त्रणका लागि संरक्षण कोषका विज्ञलाई नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहने बताउनुभयो । 

चितुवाको आक्रमणबाट विक्रम सम्वत २०७४ फागुन १ गते भानु नगरपालिका–३, दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४, जोखानेकी ४ वर्षीया रञ्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२, ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानु नगरपालिका–२, भकुण्डथोककी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारका ७ वर्षीय ऋतिक रोकाको ज्यान गइसकेको छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया