नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
जाजरकाेट - विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न जाजरकाेटका पण्डितहरु सहमत भएका छन् ।
जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । विवाह गराइदिनुअघि जन्मदर्ता र नागरिकताको प्रमाणपत्र हेरेर मात्र विवाहको काम गर्न पण्डितहरु सहमत भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘वर-बधुको जन्मदर्ता र नागरिकताको प्रमाण हेरर मात्र वैवाहिक कार्यक्रम अघि बढाइने निर्णय भएको छ, यसो नगरिए कारबाही भोग्नुपर्नेछ ।’
पछिल्लो समय धेरै बालविवाह भएको भन्ने व्यापक गुनासो आएकाले पण्डितहरू पनि उमेर नपुगेका केटाकेटीको विवाह नगराउन सहमत भएका हुन् ।
जिल्लामा १९ वर्ष नपुग्दै ७४ प्रतिशत बालबालिकाको विवाह हुने गरेको जाजरकोट जिल्ला अदालतको तथ्याङ्कमा उल्लेख छ । उमेर नपुग्दै बालविवाह गर्ने र त्यसैका कारण घरेलु हिंसा, बहुविवाह, सम्बन्धविच्छेदलगायत घटना बढ्दै गएपछि प्रहरीले विवाहमा प्रत्यक्ष संलग्न हुने पुरोहितलाई प्रशिक्षण दिएर यस्तो प्रतिबद्धता गराएको हो ।
बालविवाह गर्ने केटाकेटीले आमाबाबुको सहमतिमा मागी विवाह वा भागी विवाह गर्ने गर्दछन् । त्यसपछि सामाजिक परम्पराअनुसार पुरोहित बोलाएर विधिपूर्वक सिन्दूर हालेपछि विवाहले वैधता पाउने चलन बढेकाले यसलाई चिर्न यस्तो अभियान चलाइएको प्रहरी नायब उपरीक्षक खत्रीले बताउनुभयो ।
‘उमेर नपुगेका केटाकेटीले विवाह गरिदिनु पर्यो भनी बोलाए भने हामी जाँदैनाैँ, उल्टै सम्झाएर पठाइदिने अभियानमा लाग्छौँ’, ३० वर्षदेखि पुरोहित्याइँको काम गर्दै आउनुभएका भेरी नगरपालिका, मटेलाका सत्यप्रसाद शर्माले भन्नुभयो, ‘प्रहरीको प्रशिक्षणले हाम्रो आँखा खोलिदिएको छ, हामीले मात्र इमान्दारिता देखायौँ भने पनि बालविवाह निकै घट्छ ।’
जिल्लाका १५ पुरोहितको सहभागिता रहेको त्यस प्रशिक्षणमा बालविवाहले आमा र शिशुको स्वास्थ्यमा देखा पर्नसक्ने असर, सामाजिक समस्या, रोजगारीमा पर्ने असर र नियन्त्रणका उपायबारे छलफल भएको थियो । प्रहरीले जिल्लामा आमा समूह र स्कूले विद्यार्थीलाई बालविवाहविरुद्ध प्रशिक्षण दिइरहेको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिनुभयो ।
उमेर नपुगेकाको विवाह गराउने पुरोहित, लमी र अभिभावकलाई तीन वर्षसम्म कैद र रू ३३ हजार जरिबानाको कानुनी व्यवस्था छ । जाजरकोटमा बालवविवाह न्यूनीकरणका लागि बहुआयमिक विकास मञ्चलगायत संस्थाहरुले काम गर्दै आए पनि ती सबै कार्यक्रम प्रभावहीन देखिएका थिए । ती संस्था सामाजिक रूपमा भन्दा राजनीतिक प्रभावमा काम गर्न थालेकाले गरेका काम प्रभावहीन भएका हुन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।