आलमको अपराध बढ्दै, वरिष्ठ वकिलहरुको मान घट्दै

 कात्तिक २७, २०७६ बुधबार १५:१२:३२ | मिलन तिमिल्सिना
unn.prixa.net

१२ वर्षअघि रौतहटको राजपुरमा भएको बमकाण्डमा मोहम्मद अफताब आलमको भूमिकाबारे ढिलोचाँडो अदालतले फैसला गर्ला नै । तर अहिलेसम्म प्राप्त तथ्य, प्रमाण र अदालतमा बहस भैरहँदा उनले गरिरहेका पर्दापछाडिका हर्कतले उनलाई दोषी देखाउने पर्याप्त आधार तयार भैसकेको छ ।

हिरासतमा भए पनि उनका अपराधको सिलसिला रोकिएको छैन, बरु वरिष्ठ वकिलहरुको आड, भरोसा र साथ पाएर अपराध छोप्नसमेत अपराध भैरहेको छ ।

घाइते र प्रत्यक्षदर्शीको बयानले नै प्रस्ट पारिसकेको छ, २०६४ सालको चुनाव जित्न आलमले बमकाण्ड रचे । बम बनाउँदा बनाउँदै पड्किएपछि घाइते भएका आफ्नै कार्यकर्ता र समर्थकलाई जिउँदै इँटाभट्टामा हाले । बम विस्फोटको प्रमाण लुकाउन सकेको सबैथोक गरे । अनुसन्धानमा अवरोध गरे । पीडितका परिवारलाई उतिबेलै धम्क्याए । उठीबास लगाए । अहिले पनि त्यहाँ उनकै ‘राज’ चल्छ । उनीविरुद्ध बोल्न कसैले आँट गर्न सक्दैन ।

बम बनाउनु र घाइतेलाई अस्पताल लैजानुको सट्टा इँटा भट्टामा हाल्नु त जघन्य अपराध हुँदै हो । प्रमाण लुकाउनु, अनुसन्धानमा अवरोध गर्नु र पीडितलाई धम्क्याउनु पनि सानोतिनो अपराध होइन । अहिले १२ वर्षपछि मुद्दा चलिरहँदा पनि उनको रवाफ र हर्कत उस्तै छ ।

आफ्नो पक्षमा कार्यकर्तालाई प्रदर्शन गर्न लगाउनु त ठूलो कुरा भएन । तर अदालतमा बहस भैरहँदा सरकारी साक्षी बनेकाहरुलाई धम्क्याउँदै बयान फेर्न लगाउने कुरा आपराधिक मनोवृतिले मात्र सोच्न र गर्न सक्छ । पीडितलाई बयान फेर्न लगाउनु र अदालतलाई प्रभाव पार्न खोज्नु पनि अपराध नै हो । तर नाम कहलिएका वरिष्ठ वकिलहरु व्यवसायको नाममा आफ्नो सामाजिक मर्यादा र नैतिकता भुल्दै आलमको आपराधिक श्रृङ्खलालाई ढाकछोप गर्न मात्र होइन, उनलाई अपराधकर्ममा थप उत्साहित गर्न कम्मर कसेर लागेका छन् ।

आलमको पक्षमा वकिलहरुको हुल

जिल्लामा मात्रै होइन, केन्द्रमा समेत कांग्रेसका हर्ताकर्ता मानिने आलम कतिसम्म शक्तिशाली छन् भन्ने कुरा त उनको पछि लागेका वरिष्ठ वकिलहरुको हुलले नै प्रष्ट पार्छ । काठमाण्डौमै व्यस्त हुने र सर्वोच्च अदालतमा बहस गर्ने वकिलहरु जिल्ला अदालत रौतहट धाइरहेका छन् । आलम दोषी हुन् भन्ने बलियो तथ्य, प्रमाणबारे जान्दाजान्दै पनि उनी निर्दोष हुन् भनेर घण्टौँ बहस गर्दैछन् ।

वरिष्ठ वकिलहरुको आड भरोसामा आलम पीडित र साक्षीको बयान फेर्दै न्यायालयलाई प्रभावमा पार्न खोज्दैछन् । मंगलबार जिल्ला अदालत रौतहटमा थुनछेकको बहस चलिरहँदा बम विस्फोटका घाइते गौरीशंकर राम चमारको बयानले यही तथ्यको पुष्टि गरेको छ । भारतको बिहार घर भएका उनले आफूलाई अपहरण गरी बयान फेर्न लगाएको खुलासा गरेका हुन् ।

यसअघि इँटाभट्टामा हालेर मारिएको भनिएका ओसी अख्तर ज्युँदै रहेको भन्दै उनकी श्रीमतीले परिवारका कसैसित सल्लाह नगरी बयान फेरेकी थिइन् । बम विस्फोटमा घाइते भएका अख्तरसहितका व्यक्तिलाई आलमकै निर्देशनमा इँटाभट्टामा हालेर ज्युँदै जलाइएको अभियोगमा थुनछेक बहस चल्दै गर्दा उनकी श्रीमतीले श्रीमान वैदेशिक रोजगारीमा गएको र अहिले ज्युँदै रहेको भनेर निवेदन दिएकी थिइन् । जबकि उनैले पतिको मृत्यु दर्ता प्रमाण बुझेको कागज अदालतमा पेश भैसकेको छ ।

अदालतलाई अलमल्याउन र फैसला आफ्नो पक्षमा पार्न आलमले अझै पनि शक्ति र पैसाको हदैसम्मको दुरुपयोग गरिरहेका छन् भन्ने एउटा प्रमाण हो यो । अनि आलमको यो कर्मलाई न्याय दिलाउने नाममा वकिलहरुले प्रोत्साहन गरिरहेको कुरा कसैबाट लुकेको छैन

व्यावसायिक बन्ने कि नैतिक ?

आलमको पक्षमा बहस गर्ने वरिष्ठ वकिलहरुमध्ये शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसी बारका पूर्व अध्यक्ष हुन् । रमण श्रेष्ठ बारका पूर्व महासचिव तथा पूर्व महान्यायाधीवक्ता हुन् । सुनील पोखरेल पनि बारका पूर्व महासचिव हुन् ।

समाजले उनीहरुलाई अधिवक्ताको रुपमा मात्रै चिन्दैन । उनीहरु लोकतन्त्र, कानुनी राज्य र मानवअधिकारका अभियानकर्तासमेत हुन् । अधिवक्ताभन्दा बढी न्याय र कानुनी शासनको अभियानकर्ताका रुपमा चिनिने यिनै वकिलहरुको साथ आलमले पाएका छन् । यी वकिलहरुको हात र साथबिना बयान फेर्ने कागज बनेको हो भन्न सकिँदैन । आलमको नियत प्रस्टै देखिन्छ एकातिर वरिष्ठ वकिलहरुको लाइन लगाएर अदालतलाई मनोवैज्ञानिक दबाब दिने र अर्कोतिर आवश्यकभन्दा धेरै वकिल राखेर थुनछेक बहस लम्ब्याइरहने ।

१२ वर्षअघि राजपुरमा कुनै घटना नै नभएको, बम विस्फोटसमेत नभएको, राजनीतिक पूर्वाग्रहले फसाइएको भन्दै ३५ जना कानुन व्यवसायीले उनको पक्षमा वकालत गर्दैछन् । आलमको तर्फबाट सोमबारदेखि बहस सुरु भएको छ । एउटै वकिलले तीनदेखि पाँच घण्टासम्म बहस गरेका छन् । उनका पक्षका सबै वकिलको निचोड एउटै छ, ‘आलम निर्दोष छन्, उनलाई साधारण तारेखमा छुटाउनुपर्छ ।’

एउटा कुरा सत्य हो, वकिलले अपराधीको पक्षमा पनि मुद्दा लड्नुपर्छ । त्यो उसको व्यावसायिक अधिकार हो । तर आलमको पक्षमा बहस गर्ने अग्रपंक्तिका यी वरिष्ठ वकिलहरुलाई समाजले अधिवक्ताभन्दा बढी सत्य, न्याय र मानवअधिकार आन्दोलनका अगुवाको रुपमा चिन्छ । उनीहरुकै सहकर्मी भन्छन्, ‘सामाजिक र राजनीतिक न्यायको वकालत गर्ने हो भन्ने कानुन व्यवसायीका आफ्ना सीमा हुन्छन् । सार्वजनिक रुपमा मर्यादाका कुरा गर्ने र इजलासमा जघन्य अपराधको आरोप लागेका व्यक्तिको पक्षमा वकालत गर्नु अशोभनीय हो ।’

त्यसमाथि रमण श्रेष्ठ बारको महासचिव हुँदा राजपुरमा जघन्य अपराध भएको भन्दै छानबिन समिति नै गठन भएको थियो । व्यावसायिक हैसियतमा मिल्छ र फाइदा हुन्छ भन्दैमा जघन्य अपराधीको पक्षमा वकालत गर्न मिल्दैन भन्ने कुरा वरिष्ठहरु आफैले बुझ्नुपर्ने हो ।

आलमविरुद्ध बलिया प्रमाण र तथ्य छर्लङ्ग भैसकेको बेला अदालतबाट छिटो र न्यायिक फैसला गर्ने बाटो खोल्ने काममा लागे भने मात्र वरिष्ठ वकिलहरुको बचेखुचेको मान, सम्मानले निरन्तरता पाउन सक्छ ।

आँखा चिम्लेर आलमको साथ दिइरहने हो भने यी वरिष्ठ वकिलहरुलाई पनि समाजले इँटाभट्टा नरसंहारका मतियार ठान्ने दिन आउन सक्छ ।

अन्तिम अपडेट: चैत १, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

3 Comments

  • Sabin

    Nov. 15, 2019, 9:25 p.m.

    This is a Congress of Nepal

  •  0 Reply
  • रघु राज वन्त

    Nov. 14, 2019, 3:26 p.m.

    यो पनि मान्छे होर????? यो त नराधम पशु हो । अनि संगको रंग भने जस्तै यी बरिष्ठ अधिवक्ताहरु पनि नराधम पशु सरह बन्दै छन ।

  •  0 Reply
  • Janak Chaudhary

    Nov. 13, 2019, 5:27 p.m.

    गाइ भैसी पाल्ने व्यवसायीले जति धेरै दूध भएपनि पानी नमिसाइ छोड्दैन । यस्तै हो कानून ब्यवसायी पनि । पेशा नै वकालत गर्ने अपनाएपछि मूल्य हेर्नु परिहाल्छ नी । जित्ने वा हार्ने त तथ्य र प्रमाणले गर्ने होला । न्यायधिसको हेर्ने मनले पनि गर्छ होला नी ।

  •  0 Reply

तपाईको प्रतिक्रिया