डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन

 कात्तिक २८, २०७६ बिहिबार ११:२८:१४ | रासस
unn.prixa.net

मकवानपुर – भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ । 

चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत सात महिनायता वडा कार्यालय नेतृत्वविहीन बनेको छ । समयमै राजीनामासमेत नआएपछि त्यहाँ उपचुनावसमेत नहुने अवस्था रहेको जनाइएको छ ।

वडा सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर २०७५ चैत २७ गते वडा अध्यक्ष जगतमान घिसिङ परिवारसहित अमेरिका गएको थियो । अध्यक्ष घिसिङको राजीनामा समयमा नआएकाले उपचुनावका लागि समस्या भएको निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले बताउनुभयो । 

निर्वाचन कार्यालयका प्रमुख पौडेललले राजीनामा जुनसुकै माध्यमबाट आए पनि त्यो हस्तलिखित हुनुपर्ने र हस्तलिखित नहुँदा मान्य नहुने प्रावधान रहेको बताउनुभयो । यो वडामा उपचुनाव हुन सुरुदेखिकै कुनै पनि प्रकिया नभएको प्रमुख पौडेलको भनाइ छ ।

अध्यक्ष घिसिङ निर्वाचन जितेपछि डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका जानुभएको थियो । उहाँ अमेरिका जानुभएको पाँच महिनापछि मात्र घिसिङले गाउँपालिकामा इमेलमार्फत राजीनामा दिनुभएको गाउँपालिका प्रमुख हिदम लामाले जानकारी दिनुभयो । 

सुरुमा अमेरिका गएको भन्दै तीन महिनाका लागि बिदा लिनुभएका वडाध्यक्ष घिसिङ पाँच महिनासम्म पनि अमेरिकामै रहेको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि राजीनामा दिन बाध्य भएर इमेलमा राजीनामा पठाएको उहाँको भनाइ छ  । उहाँले भन्नुभयो, ‘घिसिङले इमेलमार्फत त राजीनामा पठाउनुभयो, तर हस्तलिखित राजीनामा पठाउन पनि आलटाल नै गर्नुभयो ।’

भदौमा इमेलमार्फत राजीनामा दिनुभएका घिसिङको असोजको आधाआधीमा पनि लिखित राजीनामा नआएको जनाइएको छ । असोजमा उम्मेदवार छनोटको तीव्र तयारी भइरहेको तर राजीनामा नआउँदा उपचुनाव गराउन समस्या रहेको बताइएको छ । देशमा उपचुनाव गराउने तयारी भइरहेको अवस्थामा समेत घिसिङले हस्तलिखित राजीनामा नपठाएका कारण याे वडामा उपचुनाव नहुने भएको छ ।

यो वडामा विसं २०७४ भएको वडाध्यक्षको चुनावमा नेकपाका जगतमान घिसिङको ५४१ मत थियो भने दोस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सुन्दर राउतले २२३ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै नेपाली काङ्ग्रेसका दिपेशकुमार विश्वकर्माले १९१ मत प्राप्त गर्नुभएको थियो ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया