खुला ठाउँको हरियाली जीवन्तता राख्ने विषयमा काठमाण्डाै महानगर...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – ‘यहाँ आउन पाउँदा म धेरै खुशी छु । असाध्यै राम्रो ठाँउ रहेछ’ रुपाकोट रिसोर्टमा पुगेपछि नेपाल भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पहिलो प्रतिक्रिया हो यो । ताल नगरीको रुपमा परिचित कास्कीको पोखरा ।
सामान्य अवस्थामा पोखराबाट ४५ मिनेटको उकालो चढेपछि पुगिने रुपाकोटको अतिथि बनेर बङ्गलादेशी राष्ट्रपति र उहाँको प्रतिनिधिमण्डल पुगेको हो । रुपा र बेगनास तालको ठ्याक्कै माथिपट्टिको हरियो डाँडामा एकनासले विराजमान रुपाकोट रिसोर्टबाट हिउँले सेताम्मे पारेको हिमशृङ्खला देखिन्छ । आठ आठ हजार मिटरभन्दा अग्ला तीन वटा हिमाललाई आँखै अगाडि देख्न पाउँदा जो कोही मन पुलकित हुन्छ । प्रकृतिक छटाले मुग्ध भएपछि धेरैको मुखबाट सहजै निस्कन्छ, आहा कति राम्रो ठाँउ ।
आम मान्छेले सहजै जनाउने प्रतिक्रिया जस्तै बङ्गलादेशी राष्ट्रपति हमिदले पनि आफ्ना प्रतिनिधिमण्डलका सदस्य र रिसोर्टका सञ्चालकका बीचमा भन्नुभयो, ‘आइएम भेरी ह्याप्पी, दिस इज भेरी नाइस प्लेस ।’
भीआईपीको भ्रमण हुँदैछ भन्ने खबर थाहा पाएपछि रुपाकोट रिसोर्टका मालिक पुष्पराज अधिकारीलाई खुशीले भुइँमा खुट्टा नै थिएन भन्दा पनि हुन्छ । त्यसो त बङ्गलादेशका व्यवसायी, कलाकार, बैंक तथा वित्तीय संस्थाका प्रमुख र यहाँ रहेको बङ्गलादेशी दूतावासका अधिकारी पटक–पटक रुपाकोट रिसोर्ट पुगेका थिए । राष्ट्रपति नै आउने खबर अधिकारीले दश दिन पहिले थाहा पाउनुभएको थियो ।
राष्ट्रपति हमिदलाई नै भनेर रिसोर्टले स्थानीय माछाको विशेष परिकार बनाएको थियो । त्यसका लागि रिसोर्टले बङ्गलादेशी दूतावाससँग पनि छलफल गरेको थियो । रिसोर्ट भित्रैको करेसाबारीमा उत्पादन हुने साग असाध्यै मीठो मानेर खानुभयो, रिसोर्टका सञ्चालक अधिकारीले भन्नुभयो, ‘हामीले विशेष प्रकारको बिरयानी बनाएका थियौँ । त्यसलाई समेत राष्ट्रपति हमिदले खुशी हुँदै लिनुभयो ।’
हामीले स्थानीय खाना नै उहाँलाई खुवायौँ । असाध्यै खुशीको भाव प्रस्तुत गर्दै अधिकारीले भन्नुभयो, ‘पछाडि परेको रुपाकोटजस्तो डाँडाको पनि दिन फिर्दो रहेछ भन्ने मलाई अनुभव भएको छ ।’ अधिकारीले थप भन्नुभयो, ‘हामीले आफ्नै बारीमा प्राङ्गारिक खेती गरेका छाँै, त्यसले आफ्नै उत्पादन पाहुनालाई खुवाउन सकिन्छ भन्ने मान्यताको समेत विकास गरेका छाँै ।’
डेढ घण्टा रिसोर्टमा रहँदा राष्ट्रपतिले मन्त्रमुग्ध भएर हिमश्रृंखला हेर्नुभयो । रुपा र बेगनास तालको प्राकृतिक छटाको मज्जा लिनुभयो । ‘डाँडा काँडामा पनि राष्ट्रिय पाहुना आउनुहुन्छ र नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउनुहुन्छ भन्ने मेरो विश्वासले काम गरेको छ’, हर्षित हुँदै अधिकारीले भन्नुभयो ।
राष्ट्रपतिको स्वागतले पुलकित हुनुभएका अधिकारी भन्नुहुन्छ, ‘यो त सुरुवात हो जस्तो लाग्छ, आगामी दिनमा अझै धेरै देशका विशिष्ठ पाहुना यहाँ आउनुहुन्छ भन्ने मेरो विश्वास छ ।’ अधिकारीले भ्रमणको जोहो गरिदिने नेपाल सरकार, परराष्ट्र मन्त्रालय, गण्डकी प्रदेश सरकार र स्थानीय रुपा गाउँपालिकालाई पनि आभार व्यक्त गर्नुभयो । ‘यो रिसोर्ट राज्यका लागि हो, मेरा लागि मात्र होइन भन्ने मेरो पूर्ववत् भनाइले साकार रुप पाएजस्तो लागेको छ’, अधिकारी अगाडि भन्नुहुन्छ, ‘पैसा खोज्न अब विदेश जानु नै पर्दैन ।’ पोखरामा फूलबारी रिसोर्टजस्ता अन्य २० वटा रिसोर्ट बनाउन सकिन्छ, तर रुपाकोट रिसोर्ट भने भूगोल र प्रकृतिको आधारमा हेर्दा मात्रै एउटा मात्रै बन्न सक्ने उहाँको भनाइ छ ।
बेल्जियममा रेस्टुराँ व्यवसाय गर्दै आउनुभएका अधिकारीले स्वदेश फर्किएर २०० रोपनी जग्गामा रिसोर्ट स्थापना गर्नुभएको हो । यूरोपमा बसेर व्यवसाय गरिरहँदा रुपाकोटको सौन्दर्यले पछ्याएपछि उहाँले आफ्नै गाउँ फर्किएर रिसोर्ट बनाउने सपना देख्नुभयो । जुन पछिल्लो दिनमा सकार हुँदै गएको छ । कूल ६० रोपनी क्षेत्रमा फैलिएको रिसोर्टमा नेपालीपन झल्कने आकर्षक घर बनाइएको छ । स्थानीय गुरुङ समुदायको शैलीसँग मिल्ने गरी ढुङ्गाले छापेको बाटोमा कागती, मेवा, आँपलगायतका फलफूलका बिरुवा छन् । बाटाकोे छेउमा फुलेका रङ्गीचङ्गी फूलले आम मानिसलाई तानेजस्तै बिहीबार राष्ट्रपतिलाई पनि मोहित बनायो ।
रुपाकोटमा बिहीबार मौसम पनि राम्ररी खुलेको थियो । घमाइलोले पनि राष्ट्रपति हमिदलाई सहयोग ग¥यो । खुलेको मौसमले ‘रिट्रिटका’ लागि आउनुभएका बङ्गलादेशी अथितिलाई स्वागत गरेकोजस्तो लाग्थ्यो । प्राङ्गारिक खाना खाएपछि राष्ट्रपति हमिद, उहाँकी धर्मपत्नी र बङ्गलादेशी पाहुनाले पोखराको सौन्दर्यको आफू आफैँमा चर्चा मात्रै गर्नुभएन, नेपालको प्राकृतिक विविधता र सुन्दरताको समेत मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
राष्ट्रपतिको स्वागतमा रुपा गाँउपालिकाले कुनै कन्जुस्याइँ गरेको थिएन । नेपाली पञ्चचेबाजा बजाइएको थियो । बाटा घाटा सफा गरिएको थियो भने स्वागतद्वार बनाएर नेपाल बङ्गलादेशमैत्री सम्बन्ध अमर रहोस् भन्ने नारासमेत लेखिएको थियो ।
राष्ट्रपति हमिदको कास्कीको रुपाकोट गाउँपालिकास्थित रुपाकोट रिसोर्टमा भव्य स्वागत गरियो । नेपालीको भव्य स्वागत पाउँदा खुशीले मुस्काउनु भएका राष्ट्रपतिले हात हल्लाएर स्थानीयवासीलाई अभिवादन गर्नुभएको थियो ।
रुपाकोटमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, रुपा गाउँपालिकाका प्रमुख नवराज ओझा, उपप्रमुख लालसुब्बा गुरुङ, जनप्रतिनिधि तथा सरकारी कर्मचारीलगायतले स्वागत गर्नुभएको थियो ।
उहाँको स्वागतार्थ रुपा गाउँपालिकाको मुख्य प्रवेशद्वार खोलाको छेउ र रुपाकोट रिसोर्टको मुख्य प्रवेशद्वारमा आकर्षक स्वागतद्वार राखिएको थियो । स्थानीय विजयपुरदेखि नै पानीले भरिएका घडा राखेर स्वागत गरेका थिए । राष्ट्रपति हमिदलाई स्वागतार्थ मुस्लिम समुदायको झाँकी, दलित समुदायको पञ्चेबाजा तथा नेवार समुदायबाट लाखे नाचका साथै गुरुङ समुदायको घाटु र मारुनी नृत्य देखाइएको थियो ।
पोखरा र लेखनाथका विभिन्न भूभागसहित रुपाताल र बेगनासतालको दृश्य एकसाथ अवलोकन गर्न सकिने यहाँबाट देखिएको माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिम शृङ्खलाले राष्ट्रपति हमिदलाई लोभ्याएको सहजै अनुमान गर्न सकिन्थ्यो ।
उहाँले हिमाल, तालसहितका दृश्य निकै उत्सुकताका साथ अवलोकन गर्नुभएको रिसोर्टका सञ्चालक अधिकारीले बताउनुभयो । उहाँले उच्च पहाडी भूभागमा सडक र खानेपानी कसरी पुर्याइएको छ भन्दै जिज्ञासा समेत राख्नुभएको थियो । राष्ट्रपति हमिदलाई गाउँपालिका प्रमुखले नेपालमा परम्परागतरुपमा उत्पादन गरिँदै आइएको काठको ठेकी उपहार दिनुभयो । उपहार लिँदै गर्दा राष्ट्रपति हमिदले पोखरेलीले जनाएको हार्दिकताको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।