मंसिर १ देखि लुम्बिनीमा समाचार महोत्सव हुने

 कात्तिक २९, २०७६ शुक्रबार १४:२१:५८ | रासस
unn.prixa.net

कपिलवस्तु - लुम्बिनीमा संघीयतापछिको पत्रकारिता विषयमा समाचार महोत्सव आयोजना हुने भएको छ । 

लुम्बिनी प्रेस क्लबको आयोजनामा आउँदाे मंसिर १ गतेदेखि ३ गतेसम्म चल्ने लुम्बिनी समाचार महोत्सव (न्यूज फेस्टिभल) का क्रममा देशका छापा, रेडियो, टिभी र अनलाइन मिडियाका सम्पादक तथा देशैभरबाट आउने पत्रकारबीच विभिन्न सत्रमा छलफल गर्नेगरी तयारी गरिएको प्रेस क्लबका अध्यक्ष तथा लुम्बिनी न्यूज फेस्टिभल मूल आयोजक समितिका संयोजक दिपेश पछाईंले बताउनुभयो ।

कार्यक्रममा देशका स्थापित वरिष्ठ सम्पादक र पत्रकार गरी ३०० जनाको सहभागिता रहनेछ । साथै देशभरबाट प्रकाशित पत्रिकाहरु पनि प्रदर्शनीका लागि राखिने बताइएको छ ।

लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसर र नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा लुम्बिनीमा हुने तीनदिने न्यूज फेस्टिभलले नेपाली पत्रकारिता जगतमा नयाँ आयाम थपिने विश्वास गरिएको छ ।

कार्यक्रममा मोफसलको समग्र पत्रकारिता, सङ्घीयतामा प्रेसको संरचना, पर्यटन प्रवर्द्धनमा पत्रकारको भूमिका, समाचारका विषय, लेखन र साहित्य, कलाको विषयमा छलफल हुनेछ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, पूर्वअध्यक्षहरु किशोर नेपाल, विष्णु निष्ठुरी, शिव गाउँले, प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ, राससका अध्यक्ष हरिहर अधिकारी, रघु मैनाली, मोहन मैनाली र सात  प्रदेशका पत्रकार महासङ्घका अध्यक्षलगायत उपस्थिति रहने निश्चित भएको आयोजकले बताएका छन् । 

यसैगरी दोस्रो दिन बिहान मायादेवी मन्दिरअगाडि ध्यानगुरुमार्फत ध्यान हुनेछ । त्यसलगत्तै ‘पत्रकारिता: चुनौती र भविष्यको बाटो’ विषयमा समूहगत छलफल हुनेछ । त्यसै दिन ‘संघीयतामा रेडियो’ विषयमा छलफल हुनेछ ।

त्यसपछि सहभागीहरुलाई बुद्धको अष्टधातु रहेको रामग्राम नवलपरासी भ्रमण गराउने कार्यक्रम रहेको छ । रामग्रामको कार्यक्रम नेपाल पत्रकार महासंघ नवलपरासीले संयोजन गर्ने भएको छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितिमा अर्को सत्र सम्पन्न हुनेछ । त्याे सत्रपछि ‘संघीयतामा समावेशी सञ्चार’ विषयमा छलफल हुनेछ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया