बंगलादेशका राष्ट्रपति हमिद स्वदेश प्रस्थान

 कात्तिक २९, २०७६ शुक्रबार १७:४७:३ | रासस
unn.prixa.net

काठमाण्डाै - बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चारदिने औपाचारिक सदभावना भ्रमण पूरा गरी शुक्रबार अपराह्न स्वदेश प्रस्थान गर्नुभएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा गएकाे मंगलबार नेपाल भ्रमणमा आउनुभएका राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बिदाइ गर्नुभयो । उहाँको बिदाइका निम्ति गृहमन्त्री रामबहादुर थापा तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई पनि उपस्थित हुनुहुन्थ्यो ।

उहाँलाई नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी दिएको थियो ।

उहाँको स्वागतमा झैँ बिदाइमा पनि सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कलाकारले गीतसङ्गीत र नृत्य प्रस्तुत गरेका थिए भने बालबालिकाले नेपाल र बंगलादेशको झण्डा फहराएर विशिष्ट पाहुनालाई बिदाइ गरेका थिए । 

नेपाल भ्रमणका क्रममा उहाँले राष्ट्रपति भण्डारीसँग बुधबार भेटवार्ता गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले आफ्ना बंगलादेशी समकक्षी तथा उहाँले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन साँझ रात्रिभोजको आयोजना गर्नुभएको थियो । 

भ्रमणका क्रममा बंगलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुभएको थियो । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले उहाँसँग शिष्टाचार भेट गर्नुभएको थियो ।

नेपाल बसाइका क्रममा राष्ट्रपति हमिदसहित बंगलादेशका विशिष्ट अतिथि  भक्तपुर दरबार स्क्वायर क्षेत्रका साथै पोखराका पर्यटकीय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गर्दै विभिन्न पर्यटकीय गतिविधिमा सहभागी हुनुभएको थियो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया