आलमलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतकाे आदेश

 कात्तिक २९, २०७६ शुक्रबार १८:१२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

रौतहट - जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई ज्युँदै इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफताब आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

गएको असोज २६ गते पक्राउ परेमा आलममाथिको थुनछेक बहस शुक्रबार दिउँसो सकिएको थियो । प्रतिवादी मोहम्मद अफताब आलमका तर्फबाट २८ जना अधिवक्ताले बहस गरेपछि वादीतर्फका २ जना सरकारी वकिल सहित अधिवक्ता पुष्पराज पौडेलले त्यसको खण्डन गर्नु भएको थियो । रौतहटका प्रमुख जिल्ला सरकारी वकिल खडिन्द्र कटुवाल, सहन्यायाधिवक्ता सूर्यराज दाहाल र उपन्यायाधिवक्ता अर्जुनप्रसाद कोइरालाले आलमलाई थुनामा राखेर घटनाको अनुसन्धान हुनुपर्ने माग राख्नु भएको थियो ।

रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित आलमले जघन्य अपराध गरेको भन्दै उनलाई कडा सजायको मग गर्दै पौडेलसँगै वरिष्ठ अधिवक्ता युवराज संग्रौला, ओमप्रकाश अर्याललगायतले बहस गर्नु भएको थियो ।

आदेश आएसँगै जिल्ला अदालत रौतहट परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला अदालत परिषरको झण्डै ४ सय मिटर वरपर नेपाल प्रहरी र सशस्त्र प्रहरीका झण्डै ६ सय जना सुरक्षाकर्मी खटाइएको छ । आलमका समर्थकले प्रदर्शन गर्न सक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएकाे प्रहरीले बताएकाे छ ।

आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीन वटा अभियोगमा मुद्दा दायर भएको छ । २०६४ साल चैत्र २७ गते पहिलो संविधानसभा चुनावको अघिल्लो दिन आलमका काका शेष इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटाभट्टामा हालेर जलाएको आरोपमा गएको असोज २६ गते नेता आलमलाई प्रहरीले पक्राउ गरेको थियो ।

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया