भ्रष्टाचारबाट आर्जित २ अर्ब रुपैयाँ बराबरकाे सम्पत्ति जफत गर्दै गृह मन्त्रालय

 माघ ४, २०८१ शुक्रबार १४:११:४५ | रासस
unn.prixa.net

काठमाण्डाै – गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको छ । त्यस क्रममा सर्वाेच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारका नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद् पठाइएको कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीले जानकारी दिनुभयो ।

पाँच जना पूर्वप्रशासक र आपराधिक गतिविधिबाट एक जना भारतीय नागरिकले नेपालमा खरिद गरेको घरजग्गा जफतका लागि प्रस्ताव पठाइएको महानिर्देशक पन्थीले बताउनुभयो । अदालतबाट भएका फैसलाको लगत सङ्कलनका लागि शाखा अधिकृतको नेतृत्वमा पाँच वटा समूह बनाएर काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

पन्थीका अनुसार सम्पत्ति जफतसम्बन्धी विभिन्न अदालतबाट तीन हजार पाँच सय वटा फैसला भएको छ । यसमा दुई अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफतको तयारी भइरहेको छ ।

पहिलो चरणमा पाँच जना पूर्वप्रशासकले भ्रष्टाचारबाट आर्जन गरेको काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा रहेको सम्पत्ति जफतको प्रक्रिया अघि बढाइएको छ । विभागका अनुसार पूर्वप्रशासक, कर्मचारी तथा परिवारका सदस्य, आमोनन्द मिश्र, सरस्वती ढुङ्गाना, मुरारीबहादुर कार्की, केशरजङ्ग खड्का र रामात्रा चतुर्वेदीको काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा रहेका घरजग्गा जफत गर्ने प्रक्रिया मन्त्रिपरिषद्मा पुगेको हो । यस्तै आपराधिक गतिविधिबाट एक जना भारतीय नागरिकले नेपालमा खरिद गरेको घरजग्गा पनि जफतका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश भएको छ ।

विगतमा आपराधिक गतिविधिमा संलग्न भारतकाे असामका निरञ्जन होजाइले नेपाली महिलाका नाममा काठमाण्डौको जोरपाटीमा राखेको जग्गा र घर जफतका लागि गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको हो । डेढ वर्षअघि कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागले घर खाली गराए पनि सरकारका नाममा आउन नसकेको महानिर्देशक पन्थीले बताउनुभयो ।

होजाइसँग विवाह गरेकी सरिता गिरीको नाममा घरजग्गा छ । जफतको ठहर भएका घरजग्गा लिलामी गर्ने वा सरकारका नाममा ल्याउने दुवै विकल्प कानूनले दिएको छ । भ्रष्टाचारसम्बन्धी मुद्दामा जफत गर्न लागिएका घरजग्गा भने सरकारका नाममा ल्याएर सरकारी प्रयोजनमा प्रयोग गरिने विभागले जनाएको छ ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया