चाैरासी पूजाकाे साटाे विद्यालयलाई ११ राेपनी जग्गा दान

 मंसिर २, २०७६ सोमबार १३:५०:१८ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – पाणिनी गाउँपालिका २ पोखराथोक रयलेका ८४ वर्षीय वृद्धले चौरासी पूजाकाे सट्टा विद्यालयलाई ११ रोपनी जग्गा दान गर्नुभएको छ । 

चौरासी पूजामा गरिने खर्चभन्दा विद्यालयमा गरिने दानले बालबालिकाको पठनपाठनमा सहयोग पुग्ने भन्दै रविलाल सार्कीले विद्यालयलाई जग्गा दान गर्नुभएको हो । 

उहाँले पाणिनि गाउँपालिका ३ को खिदीममा रहेको ११ रोपनी जग्गा र पाँच हजार रुपैयाँ पाणिनि गाउँपालिका २ पोखराथोकको रयलेमा रहेको चित्ररम्भा आधारभूत विद्यालयलाई प्रदान गर्नुभएको हो ।  

आफूले दिएको जग्गाले विद्यालयको श्रीवृद्धिमा सहयोग पुग्ने उहाँले बताउनुभयो । ‘मैले गरेको काम सबैका लागि प्रेरणा हुनेछ । अरुलाई पनि विद्यालयलाई दान दिने र गाउँको विद्यालयलाई राम्रो बनाउन गाउँले नै लाग्नुपर्ने बानीको विकास हुनेछ’, सार्की भन्नुहुन्छ । 

विद्यालयमा एक कार्यक्रमका बीच जग्गाको लालपुर्जा सार्कीले वडाध्यक्ष नेत्रप्रसाद भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणनिधि गैरेलाई हस्तान्तरण गर्नुभएको हो ।

‘उहाँले मन ठूलो बनाएर विद्यालयलाई जग्गा दान गरेर समाजकै उदाहरणीय काम गर्नुभएको छ । यसबाट हामी सबैले सिक्न जरुरी छ’, वडाध्यक्ष नेत्रप्रसाद भट्टराईले भन्नुभयो, ‘विद्यालयको विकासमा यो जग्गा दानले उल्लेखनीय भूमिका खेल्नेछ ।’ 

अन्तिम अपडेट: चैत १४, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया