१३ औँ साग : फुटबल टिमकाे कप्तान सुजल श्रेष्ठ

 मंसिर ९, २०७६ सोमबार १६:४७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो मंसिर १५ गतेदेखि सुरु हुन लागेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली पुरुष फुटबल टिमको कप्तानी सुजल श्रेष्ठले गर्ने भएका छन् । 

नियमित कप्तान विराज महर्जन र कार्यवाहक कप्तान किरण चेम्जोङ सागको टिममा नभएपछि सुजलले कप्तानी गर्ने भएका हुन् । सागको टिममा २३ वर्षमाथिका तीन जना खेलाडी मात्रै राख्न पाइने प्रावधान रहेको छ । सिनियर तीन जना खेलाडीमा विकेश कुथु र विक्रम लामा पनि रहेका छन् । 

सागका लागि नेपाली टिमको घोषणा हुँदा स्ट्राइकर विमल घर्तीमगर, मिडफिल्डर अन्जन विष्ट र दिनेश राजवंशी अनुशासनको कारबाहीमा परेपछि नयाँ तीन जना खेलाडीलाई पनि समेटिएको छ । उनीहरुको ठाउँमा राजेश परियार, राजीव लोप्चन र प्रेजेन तामाङ रहेका छन् । 

नेपाली टिमले सोमबार साढे चार वर्षपछि औपचारिकरुपमा अभ्यासका लागि दशरथ रंगशालामा टेकेको छ । विक्रम संवत २०७२ वैशाख १२ गते गएको महाभूकम्पका कारण क्षतिग्रस्त बनेको रंगशाला पुनर्निर्माण नभएकाले त्यसयता खेलाडीहरुले अभ्यास गर्न पाएका थिएनन् । 

रंगशालाको विकल्पको रुपमा नेपाली टिमले सातदोबाटोमा नियमित प्रशिक्षण गर्दै आएका थिए । पहिलो पटक दशरथ रंगशाला पुगेपछि नेपाली फुटबल टिमका खेलाडीहरु निकै उत्साहित देखिएका थिए । 

कप्तान सुजलले धेरैपछि रंगशालामा खेल्न पाउँदा आफू निकै उत्साहित र खुशी भएको प्रतिक्रिया दिए ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया