१३ औँ साग : नेपाली महिला क्रिकेट टिम पोखरा प्रस्थान

 मंसिर ११, २०७६ बुधबार १२:१८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दक्षिण एसियाली खेलकुद (साग)का लागि नेपाली महिला क्रिकेट टिम पोखरा प्रस्थान गरेको छ । 

झण्डै तीन महिना काठमाण्डौमा प्रशिक्षण गरेको महिला क्रिकेट टिम बुधबार प्रतियोगिताका लागि पोखरा प्रस्थान गरेको हो । पोखरामा महिला टिमले केही दिन प्रशिक्षण गरेर प्रतियोगिता खेल्नेछ ।

जम्मा चार टिमको सहभागिता रहने प्रतियोगितामा नेपाली महिला क्रिकेट टिमले पदकको आशा गरेको छ । नेपाली महिला टिमलाई काठमाण्डौ इन होटेलले ट्रयाकसुट सहयोग गरेको छ । पोखरा जाने क्रममा बिदाइ गर्दै होटेलले सबै खेलाडीलाई एक एक थान ट्रयाकसुट दिएको हो । 

झण्डै एक लाख ४० हजार बराबरको खेल सामग्री दिएको होटेलले २४ थान ट्रयाकसुट हस्तान्तरण गरेको हो । जसमा १८ जना खेलाडी, चार जना प्रशिक्षक र दुई जना फिजिओलाई ट्रयाकसुट दिइएको हो । 

महिला क्रिकेट टिमले पहिलो खेल माल्दिभ्ससँग खेल्नेछ । यस पटकको सागमा महिला क्रिकेटमा श्रीलंका, बंगलादेश, माल्दिभ्स र नेपालको सहभागिता रहेको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया