बाजुरामा सर्वसाधारणकाे स्वास्थ्यमाथि खेलबाड: सुत्केरीको मृत्यु हुने क्रम राेकिएन

 मंसिर १२, २०७६ बिहिबार १३:४०:२७ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा - बाजुरा सदरमुकाम मार्तडीदेखि कम्तीमा दुई दिनको दूरीमा पर्ने जगन्नाथ गाउँपालिका–५, गोत्री की ३५ वर्षीया पुल्ती रावलको साल नझरेका कारण मंगलबार राति मृत्यु भयाे ।

घरमै सुत्केरी भएकी रावलको साल नझरेपछि सामुदायिक इकाइ गोत्रीमा अचेत अवस्थामा उपचारका लागि ल्याइएकी उहाँलाई स्वास्थ्य इकाइमा ल्याएर साल निकालेपछि होस आएकाे थियाे । तर रक्तश्राव नरोकिएपछि उहाँको मृत्यु भएको अहेव अमर बुढाले जानकारी दिनुभयाे ।

यस वर्ष मात्र रावललगायत स्वास्थ्य संस्थामा मृत्यु भएका सुत्केरीको संख्या चार पुगेको छ।

बडिमालिका नगरपालिका–७ की २१ वर्षीया बसन्ती नेपालीको जिल्ला अस्पतालमा उपचारका क्रममा भदाै ७ गते मृत्यु भयो ।

त्यसै महिनाको २५ गते  जिल्ला अस्पताल बाजुरामा उच्च रक्तश्रावका कारण उपचार हुन नसकेर बुढीनन्दा नगरपालिका–१० पाण्डुसेनकी ३५ वर्षीया निर्मला बोहराको ज्यान भयो । 

कार्तिक २५ गते त्रिवेणी नगरपालिकामा रहेकाे छतारा स्वास्थ्य चौकीमा सुत्केरी भएको ६ घण्टापछि ३७ वर्षीया रेजिया नेपालीको ज्यान गयो ।

रेजियाले घरबाट स्वास्थ्य संस्था ल्याएको २ मिनेटमै बच्चा जन्माउनुभएकाे थियाे । सामान्य अवस्थामा अस्पातालमा बच्चा जन्माएकाे तर बिहान ५ बजेपछि एकाएक बेहोस भएकी उनकाे ज्यान गएकाे हाे ।

‘गाउँघरमा नियमित गर्भजाँच तथा स्वास्थ्य संस्थामा सुत्केरी गराउनुपर्छ भन्ने चेतना अझै पनि छैन, स्वास्थ्य संस्थाकाे सट्टा घरमै सुत्केरी गराउन खोज्ने र अप्ठेराे भएपछि मात्र स्वास्थ्य संस्थामा ल्याउने प्रचलनका कारण यस्ता समस्या आएका छन्’, जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले बताउनुभयाे।

कमजोरी

पूर्वाेत्तर क्षेत्रका तीन वटा गाउँपालिका र एउटा नगरपालिकामा जिल्लाको सबैभन्दा बढी स्वास्थ्य समस्या रहेको छ। भैगोलिक समस्याका कारण बिरामीहरु समयमा स्वास्थ्य संस्थामा पुग्न नसक्दा यस्ता समस्या आउने गरेका हुन्। त्यस क्षेत्रका लागि कोल्टीमा प्राथमिक स्वास्थ्य केन्द्र भए पनि बुढीनन्दा नगरपालिकाले कर्मचारी व्यवस्थापन गर्न नसक्दा अलपत्र हालतमा छ।

प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा आकस्मिक प्रसूति सेवा सुरु हुन सकेको छैन । सेवा सञ्चालनका लागि बुढीनन्दा नगरपालिकामा रकम पनि छ र कर्मचारीहरुले तालिम समेत लिइसकेका छन्। डाक्टर तथा औषधि व्यवस्थापनका लागि आएको बजेट नगरपालिकाले खर्च नगरेकाले यो समस्या आएको हो।

आकस्मिक प्रसूति सेवा सुरु गर्न परिवार स्वास्थ्य महाशाखाले याे वर्ष पनि ३० लाख रुपैयाँ विनियोजन भएकाे भए पनि सञ्चालनका लागि कुनै पहल नभएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

गएको आर्थिक वर्ष ०७५/०७६ मा आकस्मिक प्रसूति सेवा स्थापना गरी सेवा सुचारु भइसक्ने भनिए पनि काम हुन नसकेर २० लाख रुपैयाँ फिर्ता गएको परिवार स्वास्थ्य महाहशाखाले जनाएको छ।

आकस्मिक प्रसूति सेवा स्थापनाका गएको आर्थिक वर्षमा नै १० लाख बराबरको सामान खरिद भएर जिल्ला स्वास्थ्य कार्यलय बाजुरामा रहेको छ। ती सामान कोल्टी पठाउन अहिलेसम्म कुनै पहल भएको देखिँदैन।

गएको वर्ष कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसूति सेवा स्थापनाका लागि करारमा कार्यरत डा. सत्य शाहीलाई परिवार कल्याण महाशाखाले आकस्मिक प्रसूति शल्यक्रिया तालिममा पठाएको थियो । उहाँले सेती अञ्चल अस्पतालमा ७० दिनको तालिम लिनुभएकाे थियाे । नगरपालिका र डा. शाहीबीच तलब रकमबारे कुरा नमिल्दा गएको वर्ष सञ्चालनमा ल्याउन नसकिएको नगरपालिकका एक कर्मचारीले बताए ।

प्रयासहरु 

गएकाे वर्ष चार दिनदेखि सुत्केरी बेथाले छट्पटाइरहेकी बाजुराको गोत्रीकी एक गर्भवती महिलालाई उपचारका लागि हेलिकप्टरद्वारा नेपालगञ्ज पुर्‍याएर ज्यान बाचइएको थियो । जगनाथ–५, गोत्रीकी विपन्न दलित परिवारकी ४१ वर्षीया फुलटुका ढोली सुत्केरी हुन नसकेकाे खबर पाएपछि नेपालगञ्ज पठाइएको जिल्ला कार्यालयका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले बताउनुभयाे । 

त्यस्तै गौमुल गाउँपालिका–१, अन्द्राणीकी २२ वर्षीया अन्जना बोहराको साल अड्किएपछि बुधबार उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौको प्रसूति गृहमा लगिएको थियो । साल नझरेर रगत बगेपछि गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायाको पहलमा हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको हो ।

गएकाे पुषमा पनि यसैगरी काँडा स्वास्थ्य चौकीमा चार दिनदेखि सुत्केरी बेथाले छट्पटाइरहेकी १९ वर्षीया गर्भवतीलाई हेलिकोप्टरबाट उद्धार गरेको थियो ।

सदरमुकाम मार्तडीदेखि दुई दिनको दूरीमा पर्ने पहिलेको खप्तड छेडेदह गाउँपालिका-१, जारिमतोला काँडा घर भएकी रामकला नेपालीलाई उद्धार गरी उपचारका लागि नेपालगञ्ज पुर्‍याइएपछि उहाँको ज्यान जोगिएको थियो ।

‘सरकारले जनताका लागि दिएको सुविधा स्थानीय तहबाट प्रभावकारी रुपमा कार्यान्वयन नभएका कारण धमाधम सुत्केरीले ज्यान गुमाउनु परेको छ। यसमा कसैले चासो दिएका छैनन्, बरु आफ्ना कार्यकर्तालाई कति योजना दिने र आफूले कसरी चुनाव जित्ने भन्नेमै जनप्रतिनिधिहरु लागेका छन्’, नागरिक समाज कोल्टीका संयोजक जनेश भण्डारीले बताउनुभयाे।

अन्तिम अपडेट: चैत १५, २०८०

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया