फेसबुकबाट जागिर खोज्दा यौन हिंसा : घर न घाटको अवस्थामा आशा

 मंसिर २६, २०७६ बिहिबार १४:३६:४४ | इन्द्रसरा खड्का
unn.prixa.net

आफ्नो बढ्दै गएको पेट हेर्दै टोलाइरहन्छिन् आशा (नाम परिवर्तन) । अविवाहित आशाको पेटमा कसैको बच्चा हुर्कंदैछ । बच्चालाई कसरी जन्म दिने, जन्मेपछि के गर्ने भन्ने चिन्ताले पिरोलिरहन्छ । उनले एक, दुई महिनासम्म त जसोतसो पेट लुकाइन् । तर पेट बढ्दै गएपछि समस्या भयो ।

बढ्दै गएको पेट लुकाउनको लागि १९ वर्षकी आशा पहाडको घरबाट काठमाण्डौ आएको दुई महिना भयो । गत जेठमा गोरखाका कमल (नाम परिवर्तन)ले जागिर लगाइदिन्छु भन्दै आशालाई फकाएर भैरहवा लग्यो । काम लगाइदिने बहानामा आफैंसँग राखेर बलात्कार गर्‍यो ।

प्रतिकार गर्दा आफू र आफ्नो परिवारको बदनाम हुने भन्दै आशा आफूमाथि भएको अत्याचार चुपचाप सहेर आफैं लुकेर बस्न बाध्य छिन् ।

घटना यसरी भयो

आशा कक्षा १२ मा पढ्छिन् । घरमा आमाबुवा, हजुरआमा र चार भाइबहिनी छन् । आमाबुवा खेतीकिसानीको काम गर्छन् । आशालाई पढ्दै जागिर गर्न मन लाग्यो । घरमा पैसा कमाउने कोही नहुँदा पैसाको अभाव थियो । उनी कामको खोजीमा लागिन् । काम गर्न मन त लाग्यो, तर कहाँ खोज्ने ?

एकदिन आशाले फेसबुकमा जागिरको अवसर भन्ने सूचना देखिन् । ओरेन्ज नेटवर्किङ मार्केटिङ भन्ने संस्थाले अफिसमै बसेर अनलाइन काम गर्ने र उचित पारिश्रमिक दिने भन्ने सूचना थियो । त्यसपछि आशाले अनलाइनबाट आफ्नो मोबाइल नम्बरसहित आवेदन दिइन् ।

आवेदन दिएको तीन दिनपछि गएको पुसमा आशाको मोबाइलमा फोन आयो । फोन थियो, गोरखाका कमल तामाङको । उसले काममा लगाउने आश्वासन दियो ।
कमलको फोनपछि आशाको आशा पलायो । उनले वैशाखमा कक्षा १२ को परीक्षा दिएर काम गर्न जाने योजना बनाइन् । आफूले काम पाएको कुरा आमाबाबुलाई पनि सुनाइन् । आमाबुवाले पनि काम राम्रो छ भने गरे हुन्छ भनेर स्वीकृति दिए ।

आशाले कमलसँग बुझ्दा ओरेन्ज नेटवर्किङ मार्केटिङको मुख्य कार्यालय भारतको चेन्नई र नेपालको शाखा चाहिँ झापामा रहेछ । गएको पुसदेखि कमल र आशाको दिनहुँ फोनमा कुरा हुँदै गयो । त्यसपछि उनीहरु फेसबुकमा जोडिए । कहिले फेसबुक, कहिले फोनमा कुरा हुँदै जाँदा उनीहरु नजिकिए । वैशाखमा कक्षा १२ को परीक्षा दिएपछि आशा काम गर्न जान तयार भइन् । आशाले जानुपर्ने भैरहवा थियो । तर कहाँबाट जाने भन्ने उनलाई थाहा थिएन । आशालाई लिन भन्दै कमल आफैं भैरहवाबाट मलेखु पुग्यो ।

जेठ ५ गते बिहान ९ बजे आशा मलेखु पुगिन् । त्यहाँ कमलसँग भेट भयो । उनीहरु साँझ करिब ५ बजेतिर भैरहवा पुगे । आशाको लागि भैरहवा नयाँ ठाउँ थियो । भैरहवाको कुन ठाउँ बसेका छौँ भन्ने समेत थाहा थिएन । कोठामा पुग्दा अरु १६ जना केटाकेटी थिए । सबैजना एक घरको पुरै फ्ल्याट लिएर बस्दा रहेछन् ।

भैरहवा पुगेको तीन दिनसम्म जागिरको कुरा भएन । आशाले काम के गर्नुपर्छ भनि सोध्दा कमलले कामको लागि पहिले तालिम लिनुपर्ने बताए । तालिम लिन ७ हजार रुपैयाँ चाहिने रहेछ । तर आशासँग पैसा थिएन । उनले घरमा पैसा पठाइदिन भनिन् । आशाका बुवाले ऋण गरेर १० हजार रुपैयाँ पठाइदिए । तालिममा मान्छेसँग पैसाको डिल गर्ने, नयाँ मान्छे कसरी बनाउने भन्नेबारे सिकाइयो ।

काम गर्न भैरहवा पुगेकी आशाले बल्ल थाहा पाइन् कि मान्छे खोज्दै लगानी गर्न लगाउने काम रहेछ । त्यो काममा एकजनाले १० हजारदेखि, ३० हजार हुँदै एक लाख रुपैयाँसम्म लगानी गर्न पाउने र उसैले यस्तै दुईजना मान्छे खोजेबापत १८ हजारदेखि २२ हजारसम्म पाइने रहेछ ।

आशालाई यो काम चित्त बुझेन । तर तालिममा बसेपछि एक महिनासम्म तालिम लिनुपर्ने भनेपछि बाध्यताले बस्नुपर्‍यो । तालिममा बस्दा कमलले जे भन्यो त्यही मान्नु पर्थ्यो । उसको अनुमतिबिना कसैसँग बोल्न, हाँस्न पनि पाईंदैनथियो । 

कमलले जेठ १७ गते आशालाई आफूसँगै कोठामा बस्न बोलायो । आशाले मानिनन् । कमलले धम्की दियो । ‘नचिनेको ठाउँमा केही गर्‍यो भने के गर्ने भन्ने डरले उसले जे भन्यो त्यही मान्नु पर्‍यो’ आशाले भनिन् । त्यसपछि कमलले आशालाई हरेक रात आफ्नै कोठामा बस्न बाध्य पार्न थाल्यो । उसको सामु आशाको केही चलेन, उसले जे जे भन्यो, त्यही मान्नुपर्ने भयो । 

२५ गते आशालाई अझै राम्रो तालिम लिन भारतको गोरखपुर लैजाने कुरा भयो । भारतमा गएर सिक्दा राम्रो पनि हुने र पैसा पनि बढी हुने भन्दै कमलले आफू पनि उतै गएर काम गर्ने बतायो । जेठ २५ गते बिहानै उनीहरु सुनौली नाका हुँदै भारत हिँडे ।

नाकामा आशालाई माइती नेपालका प्रतिनिधिले सोधपुछ गरे । उनी अकमकाइन् । उनी अकमकाएको देखेपछि माइती नेपालका प्रतिनिधिले उनलाई पारी जान दिएनन् । बरु आमाबुवाको नम्बर मागे । आशाले बुवाको नम्बर दिइन् । उनीहरुले बुवालाई फोन गरेर छोरी लिन बोलाए ।

बिहान १० बजे माइती नेपालले राखेकी आशालाई लिन उनीसँगै बस्ने अर्का मदन नाम गरेका केटा गए । उनले आशा आफ्नै बहिनी भन्दै घरबाट आमाबुवाले फोन गरेर लिन आएको बताए । आशाले पनि आफ्नै दाइ भएको बताइन् । त्यसपछि माइती नेपालका प्रतिनिधिले उनीहरुलाई फर्काए ।

एक महिनासम्म भैरहवा बसेपछि आशा असार २५ गते भागेर घर पुगिन् । आफूमाथि जबर्जस्ती भएकोबारे केही भनिनन् । काम आफूलाई चित्त नबुझेको मात्र भनिन् ।
घर फर्केपछि आशाको महिनावारी रोकियो । उनले यो कुरा कमललाई फोन गरेर भनिन् । तर उसले वास्ता गरेन । आशाको पेट बढ्दै गयो । दुब्लो शरीर भएकी आशालाई एक्कासी मोटो देख्दा गाउँलेले शंका गर्न थाले । छरछिमेकीले तेरोे छोरी हिजोआज फरक देखिंदैछ किन भनेर आशाकी आमासँग सोध्ने थाले । आमाले गाउँलेले शंका गर्दैछन् के हो भनेर सोध्दा आशाले आमालाई सत्य कुरा बताइन् ।

त्यसपछि आमाबुवा छाँगाबाट खसेजस्ता भए । छोरीलाई गाली गरे । तर गाली गरेर र चिन्ता गरेर मात्र केही हुने थिएन । गाउँलेले यो कुरा थाहा पाए बदनाम हुने भन्दै गर्भपतन गर्ने कुरा भयो । त्यसपछि आशा काठमाण्डौ आइन् ।

आमा र फुपूले उनलाई गर्भपतन गराउन काठमाण्डौको एक अस्पतालमा पुर्‍याए । अस्पतालले ३० हजार रुपैयाँ लाग्ने, तर गर्भपतन गर्न गाह्रो हुने बतायो । ३० हजार रुपैयाँ नभएपछि उनीहरु त्यत्तिकै फर्के ।

त्यसपछि आशा एक्लै थापाथलीमा रहेको प्रसूति गृह पुगिन् । अस्पतालमा एकजना नर्ससँग आशाको कुरा भयो । उनले आफूमाथि भएका सबै घटना बेलिबिस्तार लगाइन् । आशाको कुरा सुनिसकेपछि नर्सले अस्पतालमा रहेको एकद्वार संकट व्यावस्थापन प्रणाली(ओसीएमसी) मा कुरा गरिन् ।

त्यहाँका डाक्टरले २, ३ महिनाभन्दा बढीको गर्भ हुँदा गर्भपतन गर्न नसकिने बताए । त्यसपछि ७ महिनाको गर्भवती आशा निराश भएर फर्किन् । अहिले उनी काठमाण्डौको एक सुरक्षित आवास गृहमा बसिरहेकी छिन् ।

आफूलाई यस्तो अवस्थामा पुर्‍याउने कमल खुल्ला रुपमा निर्धक्क हिँडिरहेको र आफू यसरी लुकेर बस्नु परेकोमा उनलाई दुःख लागेको छ । ‘मलाई यो हालतमा पुर्‍याउने कमललाई जेलको हावा खुवाउन त मन थियो । तर उजुरी दिएमा अरुले थाहा पाउँछन्, फेरि मेरै बदनाम हुन्छ’ उनी भन्छिन् ।

आफ्नो भन्दा पनि आमाबुवाको बद्नाम हुने डरले चुपचाप सहेर बस्नु परेको उनी बताउँछिन् । ‘आमाले छोरी काठमाण्डौमा जागिर गर्दैछ भनेर गाउँमा भन्नुभएको छ, म यहाँ यस्तो अवस्थामा छु’ आँखाभरी आँसु पार्दै आशाले भनिन् ।

आशालाई प्रहरीको सल्लाह : गोप्य रुपमा जाहेरी दिन मिल्छ

आशाको यस्तो हालत र बाध्यता सुनेपछि हामीले यसबारे महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापासँग कुरा गर्‍याैँ । उहाँले पीडितको अवस्थालाई मध्यनजर गर्दै प्रहरीले पीडकलाइ पक्राउ गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अपराध गर्ने मान्छेलाई त समाजसामु खुलेरै समाउन सकिन्छ, तर यौन हिंसाको केसमा पीडितसँगै पीडकको नाम ठेगाना पनि गोप्य राखिन्छ ।

अहिले अपराध शाखामा यस्तै खालका यौन हिंसाको उजुरी धेरै आउने गरेको उहाँले बताउनुभयो । यौनहिंसा पीडित महिला वा किशोरी आफ्नो र परिवारको बदनाम हुने डरले प्रहरीकोमा कम पुग्ने गरेको बताउँदै उहाँले अन्याय नसहन र उजुरी गर्न पनि आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: पुस २९, २०७६

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया