‘फोहोर गर्नेले नै सफा गर्नुपर्छ’

 मंसिर २७, २०७६ शुक्रबार १९:१९:५३ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौका उत्तम पुडासैनी १० वर्ष अमेरिकामा बस्नुभयो । सुख-सुविधा कमी थिएन । जिन्दगी गज्जब थियो । एउटै कुराले उहाँलाई स्वदेश फर्काइदियो, त्यो हो अमेरिकनहरुको राष्ट्रप्रेम । पुडासैनी भन्नुहुन्छ, ‘पुर्ख्याैली थातथलो अमेरिका नै भएकाहरुमा यति गहिरो राष्ट्रप्रेम देखेँ कि त्यसले मलाई देशको अर्थ बुझाइदियो ।’ 

उहाँ थप्नुहुन्छ, ‘सबै अमेरिकनहरुको कोठामा राष्ट्रिय झण्डा हुन्छ । उनीहरु बिहान काममा निस्कने बेला र फर्केपछि झण्डालाई स्यालुट गर्छन् । देशको बारेमा कसैले औँला उठाएमा ज्यान दिन तयार हुन्छन्, यही कुराले मलाई देशप्रति सोच्न सिकायो ।’

बागमती सफाइ महाअभियानमा 

पुडासैनी अमेरिकाबाट फर्केको केही समयमा बागमती सफाइ महाअभियान सुरु भयो । सुरुकै हप्तादेखि उहाँ अभियानमा जोडिनुभयो । अभियानले निकै चर्चा कमायो । राष्ट्र प्रमुखदेखि सबैजसो पेशा र व्यवसायका मानिस यसमा सहभागी भए । तर चर्चाले मात्र बागमती सफा हुँदैन भन्ने पुडासैनीलाई लाग्यो ।

पुडासैनी भन्नुहुन्छ, ‘सेना, प्रहरी तथा अरु कर्मचारीलाई जबर्जस्ती बोलाएर सफाइ दिगो बन्दैन । जसले फोहोर गर्छ उसैलाई सफा गर्न लगाउनुपर्छ भन्ने हामीलाई लागेको थियो । बागमती सफाइ महाअभियानमा यो कुरा राख्यौँ, तर यो कुराले प्रहरी खोरमा पुग्ने धम्की पनि पाइयो ।’

खोला किनारमा पुगेर सेल्फि खिच्दैमा, एक दुई मुठी फोहोर फ्याँक्दैमा बागमती कलकल नबग्ने उहाँको ठहर थियो । अनि सुरु गर्नुभयो ‘फ्याँक्नेले नै सफा गर्ने’ अभियान । बागमतीमा पौडी खेल्दै र खेतमा सिँचाई गर्दै हुर्कनुभएका पुडासैनीलाई आफूहरुकै कारण बागमतीमा फोहोर भएको थाहा थियो । अब हामीले नै सफा गर्नुपर्छ भनेर स्थानीयबासीन्दासँग छलफल गर्नुभयो । 

गुह्येश्वरीमाथिको सफाइ अभियान 

गुह्येश्वरीभन्दा माथिका बासिन्दाको माग थियो, हामीले गरेको फोहोर हामीले नै सफा गर्न पाउनुपर्छ । तामझाम र चर्चा हैन काम गर्न दिनुस् भन्दै पुडासैनी लगायतका स्थानीयबासिन्दाले सफाइ अभियान सुरु गरे । बागमती सफाइ अभियानको नेतृत्व गर्नुभएका तत्कालीन मुख्य सचिव लिलामणी पौडेलले बागमती सफाइ अभियानमा समस्या ल्याएको भन्दै गाली समेत गरेको पुडासैनी बताउनुहुन्छ । 

तर गुह्येश्वरी माथिका बासिन्दा पछि हटेनन् । दिनरात खटे । केही समयपछि पौडेलले कार्यकक्षमै बोलाएर तपार्इँहरु वास्तविक अभियानकर्मी हुनुहुँदो रहेछ भनेपछि आत्मबल झनै बढेको पुडासैनी बताउनुहुन्छ । 

उत्तम पहिले पुडासैनी समाजको नेतृत्व गर्नुहुन्थ्यो । तर जात विशेषको कार्यक्रम भन्ने बुझिएपछि वागमती सुन्दरता सरोकार मञ्च गठन गरियो । मञ्चमा गुह्ेश्वरी भन्दा माथिका सरसफाइमा सहभागी हुने ४६१ वटा स्थानीय समूह तथा संघसंस्था समेटिएका छन् । मञ्चका अध्यक्ष पुडासैनी अहिले टोल÷टोल र घर÷घरमा सरसफाइको लागि पहल भैरहेको बताउनुहुन्छ । 

फोहोर फ्याँक्नेको पहिचान

आज सफा गर्‍यो भोलि फोहोर थुप्रन्छ । सफाइ अभियानको मुख्य चुनौती यही हो । फोहोर फ्याँक्न रोक्नु थियो । अभियन्ताहरुले गस्ती पनि गरे । तर पार लागेन । अनि जुक्ति निस्कियो फोहोर फ्याँक्नेको पहिचान गर्ने । 

पुडासैनी भन्नुहुन्छ ‘जुनसुकै अपराध गर्नेले केही न केही प्रमाण छाड्छ भन्ने मान्यतामा रहेर हामीले फ्याँकेको फोहोर कसको हो भनेर चिन्ने प्रयत्न ग¥र्यौँ ।’ केही फोहोरको पोकामा विद्यालयमा पैसा तिरेको रसिद हुन्थ्यो, केहीमा खानेपानी तथा बिजुलीको बिल ।

कसैले सामान खरिद गरेको बिल पनि फोहोरमा फ्याँकेका हुन्थे । पहिचान खुल्ने कागजात फोहोरको पोकामा फेला परेपछि ती मानिसलाई सम्पर्क गरेर फोहोर फिर्ता गर्ने काम सुरु भयो । ७२ जनाको फोहोर पहिचान गरेर फिर्ता गरेको पुडासैनी भन्नुहुन्छ ।  

फोहोर कसले फ्याँकेको हो भन्ने पहिचान गरेर फिर्ता गर्ने कामले निकै राम्रो नतिजा दियो । पुडासैनी भन्नुहुन्छ, ‘आफूले फ्याँकेको फोहोर फिर्ता लिन आउनु भन्दै अभियन्ताले फोन गर्न थालेपछि फोहोर फ्याँक्नेहरु सतर्क भए । अनी बिस्तारै फोहोर फ्याँक्नेहरुको संख्या घट्दै गयो ।’ 

फोहोरको श्रोतमै व्यवस्थापन

बागमतीमा ढल मिसाउन रोक्ने अभियान सरकारले थाल्यो । अभियन्ताले रोक्नु थियो नदीमा फ्याँकिने फोहोर । यो काम सजिलो थिएन । सबै घरलाई फोहोर संकलन गर्ने संस्थाको सदस्य बन्न अनिवार्य गरियो । तर उठाएको फोहोर पालिकाले सिधै सिस्डोल पुर्‍याउँछन् । 

यसरी फोहोर थुपार्नु दीर्घकालिन समाधान हैन । झनै समस्या ल्याउँछ । त्यसैले सकेसम्म धेरै फोहोर श्रोतमै व्यवस्थापन गर्ने काम शुरु भयो । घरबाट निस्कने फोहोर मध्ये कुहिने फोहोर घरमै व्यवस्थापन गर्ने अभियान सुरु भयो । 

कुहिने फोहोरबाट कम्पोष्ट मल बनाएर खाली जग्गा वा कौशीमा तरकारी उत्पादन गर्ने काम सुरु भयो । अहिले गुह्ेश्वरीभन्दा माथिका धेरैजसो घरमा कौशीमा तरकारी उत्पादन हुन थालेको पुडासैनी बताउनुहुन्छ । अहिले कतिपयले त मल बनाउन फोहोर नपुगेर कुहिने फोहोर अन्यत्रबाट संकलन गरेर ल्याउने गरेको उहाँले बताउनुभयो । 

गुह्येश्वरीभन्दा माथिको बागमती आसपासबाट निस्कने फोहोरको मात्रा आधा घट्यो । फोहोर मात्र हैन, तरकारी किन्ने दर पनि आधा भन्दा धेरै घट्यो । अप्रत्यक्ष रुपमा कसको कौशीमा धेरै तरकारी भन्ने प्रतिस्पर्धा नै चलेको पुडासैनी बताउनुहुन्छ । भान्छामा प्रयोग हुने तरकारीमा विषादीको मात्रा पनि उही दरमा घट्यो । फाइदा धेरैतिर भयो । 

सरसफाइ जनचेतना

आफ्नो अबको जिन्दगी स्वयंसेवामा छुट्याएको बताउने पुडासैनी विभिन्न विद्यालय, संघसंस्था तथा समूहहरुमा पुगेर सरसफाइ सम्बन्धी चेतनामूलक कक्षा चलाउनुहुन्छ । यदि बजेट भएमा मञ्चमा आबद्ध केही प्रशिक्षकहरुका लागि पारिश्रमिक उपलब्ध गराए पनि आफूस्वयंसेवी रुपमा खटिँदै आएको पुडासैनी बताउनुहुन्छ । 

उहाँसहित उहाँको समूहले अहिलेसम्म एक हजारभन्दा धेरै कक्षा चलाइसक्यो । भन्नुहुन्छ, ‘कक्षामा मानिसको मनस्थिति परिवर्तन हुने खालका कुरा गर्नुपर्छ, परिवर्तन सुरु हुन्छ । सचेतना कक्षामा सहभागीको मनस्थिति परिवर्तनको लागि उहाँका पाँच तरिका यस्ता छन् : 

तपाईँको घरमा चोर्न पाइन्छ कि पाइँदैन ? पाइँदैन किनभने कानुनअनुसार कसैको सम्पतीमा हानी पुर्‍याउन पाइँदैन  । त्यसो हो भने फोहोरमैला व्यवस्थापन ऐन २०६८ ले सार्वजनिक स्थानमा फोहोर फ्याँक्न पाइँदैन भनेको छ । त्यो अपराध हो । 

७० प्रतिशतभन्दा धेरै रोगहरु फोहोरमैलाका कारण हुन्छन् । हिजो सुगर, प्रेसर, क्यान्सरजस्ता रोगहरु निकै थोरै हुन्थे । विभिन्न किसिमका रोगहरु आज किन बढिरहेका छन् भन्दा फोहोरमैलाको कारण हो । यदि तपाईँ स्वस्थ बाँच्न चाहनुहुन्छ भने फोहोर मैला जथाभावी फ्याँक्नु हुँदैन ।

तेश्रो विषादी औषधिको समस्या बढिरहेको छ । फोहोरमैला व्यवस्थापन गरेर विषादी वा विषादी मिसाइएको तरकारी विस्थापित गर्न सकिन्छ । कुहिने फोहोरहरुबाट अर्गानिक मल बनाउने र मलबाट कौशी खेती गर्दा अर्गानिक तरकारी खान पाइन्छ । 

चौथो संस्कृति र सम्पदा । तपाईँ पशुपतिमा बागमतीको जल चढाउनुहुन्छ । तपाईँ भगवानलाई बागमतीको जल चढाउनुहुन्छ भने एक अञ्जुली जल पिएर देखाउनुस् । तपाईँले पिउन सक्नुहुन्न त्यो जल भने तपाईँ कसरी चढाउनुहुन्छ ? तपाईँ धर्मका नाममा पाप गर्दै हुनुहुन्छ । त्यसकारण नदीनाला सफा राख्नुपर्छ । 

पाँचौँमा विदेशको कुरा । विदेश गएकाहरुलाई विदेशमा कति सफा छ भन्ने र नजानेहरुलाई पनि टेलिभजनमा विदेश कस्तो देख्नुहुन्छ भन्दा सबैले सफा छ भन्नुहुन्छ । यदि विदेश सफा हुन्छ भने हाम्रो देश किन सफा हुँदैन ? हामीले नै यहाँ फोहोर पारेको हो भने सफा किन नगर्ने ? 

सहभागीहरुको अन्तरमनमा फोहोर मैलाले साँच्चै समस्या ल्याएको छ भन्ने कुरा पुर्‍याएर सरसफाइको अभियानलाई अघि बढाइन्छ । 

पुडासैनी ढुक्कका साथ भन्नुुहुन्छ, ‘पहिले÷पहिले फोहोर लगेर नदीमा फ्याँक्नेहरुले अहिले नदी सफा राख्नुपर्छ भन्ने बुझ्न थालेका छन्, अब चाँडै नदी सफा गर्न एउटा ठूलो जमात निस्कनेछ ।’ 

अन्तिम अपडेट: पुस १३, २०७६

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया