वैदेशिक रोजगारी : लहै-लहैमा जाँदा दुःख, बुझेर जाँदा सुख

 मंसिर २८, २०७६ शनिबार १२:३९:२१ | बेदानन्द जाेशी

काठमाण्डौ – बाग्लुङ ग्वालीचौरका ३८ वर्षीय कर्णबहादुर बलामी वैदेशिक रोजगारीको क्रममा अल्जेरिया जानुभयो । तर त्यहाँ गएको दुई महिना नपुग्दै फर्कनुपर्यो ।
अल्जेरिया जाने सोच बनाएर काठमाण्डौ आएका कर्णबहादुरको भेट ‘फाइन जब’ नामको म्यानपावर चलाएर बसेका बुटवलका सुधिर खातीसँग भयो । कर्णबहादुरकै गाउँका लालबहादुृर खातीले अल्जेरिया पठाउँछ भनेर सुधिरसँग भेट गराएका थिए ।

‘मेरै म्यानपावर हो ढुक्क हुनुुस् तपाईँलाई केही समस्या पर्दैन, मैले राम्रो काम हेरेर तपाईँलाई पठाउने हो’ भनेर सुधिरले कर्णबहादुरलाई निकै फकाए । सुधिरका सबै कुरामा कर्णबहादुरले विश्वास गर्नुभयो । सुधिरले दुई लाख रुपैयाँ लाग्छ भनेका थिए ।

सुधिरले पैसा बैंकबाट लिन मानेनन् । बैंकबाट पैसा नलिए नदिने भनेपछि सुधिरले बैंकबाट पैसा लिंदा कारोबारमा समस्या हुने र आफूले सबैसँग पैसा लगेको कागज बनाइदिने गरेको भने । त्यसपछि कर्णबहादुर दुई लाख रुपैयाँ बोकेर राति आठ बजे सुधिर खातीकै म्यानपावर फाइन जबमा पुग्नुभयो र हातमै पैसा बुझाउनुभयो । पैसा लगेको कागज बनाएर सुधिरले त्यसको प्रतिलिपि कर्णबहादुरलाई दिए ।

अल्जेरियाको लागि उड्ने दिन नजिकियो । सुधिरले कर्णबहादुरलाई पासपोर्ट दिए । तर पासपोर्टमा श्रम स्टीकर भने प्रतिज्ञा म्यानेजम्यान्ट प्रालिको थियो । यस म्यानपावरको नाम कर्णबहादुरले सुन्नु पनि भएको थिएन ।

एउटा म्यानपावरले पैसाको कारोबार गरेर अर्कै म्यानपावरबाट श्रम स्टीकर दिन पाईंदैन । यस्तो गर्नु गैरकानुनी कार्य हो । यस्तो गर्ने व्यक्तिलाई कारबाही हुन्छ । तर कर्णबहादुरलाई भने यो गैरकानुनी कार्य हो भन्ने थाहा थिएन । त्यही पनि शंका लागेर उहाँले ‘एउटा म्यानपावर भनेर अर्को म्यानपावरको स्टीकर कसरी आयो’ भनेर सुधिरलाई सोध्नुभयो । सुधिरले तपाईँले चिन्ता लिनुपर्दैन, त्यो पनि हाम्रै म्यानपावर हो कुनै समस्या हुँदैन भनेर सम्झायो ।

त्यसपछि उहाँले विश्वास गर्नुभयो र २०१९ मे १९ मा अल्जेरिया पुग्नुभयो । त्यहाँ उहाँले भनेअनुसारको निर्माणसम्बन्धी काम पाउनुभयो । तर काम गर्ने समय भने भनेजस्तो थिएन । यताबाट पठाउँदा ८ घण्टा काम गर्ने भनेर उता १२ घण्टा खटिनुपरेको कर्णबहादुर बताउनुहुन्छ । त्यो पनि काम गर्न थालेको डेढ महिनामा कम्पनी बन्द भएपछि कम्पनीले नै टिकट काटेर नेपाल पठायो ।

डेढ महिना काम गरेको तलब नदिएरै नेपाल पठाउँदा पनि आफूलाई अल्जेरिया पठाउने म्यानपावरले केही सहयोग नगरेको कर्णबहादुर बताउनुहुन्छ । उल्टै यहाँ आएपछि पनि आफूबाट लगेको रकम फिर्ता गराइपाउँ भन्दा आनाकानी गर्ने गरेको र पाँच महिनासम्म म्यानपावर धाउँदा पनि पैसा नदिएको कर्णबहादुरको गुनासो छ । 

यस्तै डडेल्धुराका प्रकाश बम पनि गएको असार ४ गते प्रहरीको लागि भनेर दुबई पुग्नुभयो । तर त्यहाँ पुगेपछि उहाँले भनेको ठाउँमा काम पाउनुभएन । उल्टै चार महिनासम्म बन्दी भएर बस्नुप‌र्‍याे ।

प्रकाश वैदेशिक रोजगारीमा पहिलोपटक जानुभएको हो । उहाँ वैदेशिक रोजगारीमा जाने भनेर प्रक्रिया अगाडि बढाउन २०७५ को चैततिर काठमाण्डौ आउनुभयो ।  पत्रिकामा युनाइटेड नेपाल म्यानपावरको विज्ञापन देख्नुभयो । दुबई सुरक्षा गार्डको लागि विज्ञापन थियो । दुबई प्रहरीमा त राम्रै कमाइ हुन्छ भन्ने सुनेको प्रकाशको मन त्यसै म्यानपावरतर्फ तानियो ।

उहाँ युनाइटेड नेपाल म्यानपावरमा पुग्नुभयो । त्यहाँ गएर कुरा भएको केही दिनमै मेडिकल जाँच र अन्तर्वार्ता पनि भयो । मेडिकल र अन्तर्वार्ता दुईटैमा पास हुनुभयो । त्यसपछि म्यानपावरले तुरुन्तै भिसा  लाग्छ पैसा बुझाउनुपर्‍यो भनेपछि प्रकाशले युनाइटेड नेपाल म्यानपावरमा पैसा बुझाउनुभयो ।

दुई पटक गरेर उहाँले म्यानपावरलाई तीन लाख ६५ हजार रुपैयाँ बुझाउनुभयो । दुई लाख ६५ हजार बैंकबाट र एक लाख रुपैयाँ युनाइटेड म्यानपावरका मेनेजर केशव तामाङको हातमै बुझाउनुभयो ।

कर्णबहादुरको जस्तै उहाँको पनि पैसा लेनदेनको कारोबार एउटा म्यानपावर र श्रम स्टीकर चाहिँ अर्कै म्यानपावरबाट भयो । युनाइटेड नेपाल म्यानपावरमा पैसा बुझाए पनि श्रम स्टीकर भने जियो नेपालले गरिदियो ।  

त्यसपछि उहाँ असार ४ गते दुबई जानुभयो । तर त्यहाँ गएपछि उहाँलाई कुनै पनि काम मिलेन । कम्पनीले प्रकाशलाई चार महिनासम्म खाना पनि नदिएर बन्दी बनाएर राख्यो । भोलि भोलि भन्दै चार महिना बितिसक्दासम्म पनि कम्पनीले काममा लगाएन । प्रकाशले पटक पटक नेपालमा आफूलाई पठाउने म्यानपावरलाई फोन गरेर समस्या बताउँदा पनि म्यानपावरले कुनै चासो दिएन । त्यसपछि प्रकाशका परिवार तथा आफन्तले पैसा पठाएर उहाँलाई नेपाल फर्काए ।

उहाँका काका अहिले पनि हातमा डकुमेन्ट बोकेर कहिले विभाग त कहिले म्यानपावर धाइरहनुभएको छ । क्षतिपूर्तिको लागि दिनदिनै दौडधुप गर्दाको दुःख त छँदैछ, काठमाण्डौमा होटलमा बस्नुपर्दा बढेको खर्चको पीडा पनि उस्तै  छ ।

साउन १७ गतेदेखि  विभाग र म्यानपावर धाइरहनुभएका उहाँ मंसिर सकिन लाग्दा पनि कतैबाट न्याय नपाउँदा चिन्तित देखिनुहुन्छ ।

बुझेर जाँदा सजिलो

आफू जान लागेको देश र काम गर्ने कम्पनी अनि यहाँबाट पठाउने म्यानपावर कम्पनीको बारेमा राम्रोसँग नबुझेर वैदेशिक रोजगारीमा जाँदा कर्णबहादुर र प्रकाशले दुःख पाउनुभयो । तर आफू जाने देश, त्यहाँ गर्ने काम र यहाँबाट पठाउने म्यानपावर कम्पनी सबैको बारेमा राम्रोसँग बुझेर वैदेशिक रोजागरीमा जाँदा दोलखाकी सुवासना लामाले कुनै पनि समस्या भोग्नु परेन ।

सुवासना लामा

सुवासना लामासँग उच्च शिक्षा केही पनि थिएन । विदेश जानुभन्दा पहिले काठमाण्डौमै किताब छाप्ने प्रेसमा काम गर्नुहुन्थ्यो । नेपालमै उहाँले १२÷१४ हजार रुपैयाँ त कमाउनुहुन्थ्यो । तर यहाँको कमाइमा चित्त नबुझेपछि विदेश जाने सोच बनाउनुभयो । उहाँलाई वैदेशिक रोजगारीमा कसरी जाने केही थाहा थिएन । तर वैदेशिक रोजगारीमा ठगी हुन्छ भन्ने चाहिँ जानकारी थियो । त्यही भएर उहाँले कसरी सुरक्षितसाथ विदेश जाने भनेर धेरैसँग सल्लाह लिनुभयो ।

यस्तैमा एक दिन उहाँकी ठूलीआमाले जाउलाखेलमा एफएसआई भन्ने संस्था छ, त्यसले कत्ति पनि पैसा नलिई सीप सिकाएर विदेश पठाउँछ भन्नुभयो । उहाँ एफएसआई वल्र्डवाइड पुग्नुभयो ।  निःशुल्क सीप सिक्नुभयो र जोडर्न जानुभयो । जोर्डन जान सुवासनाले एक रुपैयाँ पनि तिर्नु परेन ।

उहाँलाई जोर्डनमा गर्ने काम, तलब र सेवासुविधाको बारेमा नेपालमै बताइएको थियो । जानेबेला जुन करार गरिएको थियो त्यही अनुसारकै सेवा सुविधा पाउनुभयो । त्यहाँ आफ्नै देशमा काम गरेजस्तो अनुभव भएको सुवासना बताउनुहुन्छ । ‘कम्पनीमा काम गर्ने वातावरण एकदमै राम्रो थियो, खाने बस्ने व्यवस्था पनि उत्तिकै राम्रो’, उहाँले भन्नुभयो, ‘हामी कम्पनीकै होस्टेलमा बस्थ्यौँ, दिनमा दुई पटक खाना दुईपटक खाजा दिन्थ्यो कम्पनीले ।’

तीन वर्षको करार अवधि सकेर सुवासना दुई महिनाअघि सुरक्षित रुपले नेपाल फर्किनुभयो । फेरि पनि काम गर्न आउन मन लागे आउनु भन्दै कम्पनीले नै टिकट काटेर उहाँलाई नेपाल पठाइदियो । यो अवधीमा आठलाख जति कमाइ भएकोमा उहाँ सन्तुष्ट हुँदै भन्नुहुन्छ, ‘आठ लाख जति कमाएँ हुँला, मेरो लागि त त्यति नि धेरै हो ।’

विदेशमा कसैलाई सुख, कसैलाई दुःख किन ?

ठूला सपना बोकेर वैदेशिक रोजगारीमा जाने कर्णबहादुर, प्रकाश र सुवासना त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरु जस्तै दैनिक हजारौँ नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विश्वका कुनाकुनासम्म पुग्छन् । उनीहरुमध्ये कतिपयले प्रकाश र कर्णबहादुरको जस्तो अवस्था भोग्छन् भने कतिपयले सुवासनाको जस्तो ।

यहाँबाट जाँदा सुवासनाको जस्तो सबै कुरा बुझेर, सीप सिकेर वैदेशिक रोजगारीमा जानेहरुले ठगीको जोखिम कम हुने र भनेजस्तै सेवासुविधा प्राप्त गर्छन् । समग्रमा भन्दा त्यहाँको बसाई सुखद रहन्छ । तर एजेण्टको लहैलहैमा लागेर, आफूले जान लागेको गन्तव्य देशको बारेमा र कामको बारेमा केही नबुझेरै जाँदा दुःख पाइन्छ ।

नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये ७६.७४ प्रतिशत कामदारले भर्ना अभ्यासकै कारण समस्या भोग्नुपरेको राष्ट्रिय मानवअधिकार आयोगको एक अध्ययनले देखाएको छ ।

एजेण्टको भरमा अथवा म्यानपावरमार्फत गएका ७६.७४ प्रतिशतले भर्ना प्रक्रियामै वा रोजगारीका क्रममा कुनै न कुनै समस्या भोग्ने गरेको पाइएको छ । यसरी स्वच्छ भर्ना नहुँदा श्रमिक बाध्यकारी श्रममा पर्नेदेखि मानब बेचबिखनमा पर्ने, ठगिने र ज्यानकै जोखिम पनि हुने गरेको प्रतिवेदनले देखाएको छ ।

के हो स्वच्छ भर्ना प्रक्रिया ?

अन्तर्रा्ष्ट्रिय श्रम संगठनले तोकेको मापदण्डअनुसार कामदारलाई वैदेशिक रोजगारीमा पठाउने र फर्काउने प्रक्रिया नै स्वच्छ भर्ना हो । धेरैले फ्रि भिसा फ्रि टिकटलाई स्वच्छ भर्ना प्रक्रिया भने पनि यति मात्र स्वच्छ भर्ना प्रक्रिया नभएको बताउनुहुन्छ, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को नेपालका लागि राष्ट्रिय कार्यक्रम संयोजक नेहा चौधरी ।

‘स्वच्छ भर्ना प्रक्रियालाई फ्रि भिसा फ्रि टिकटको रुपमा मात्र लिने गरिएको छ तर त्यसो होइन’, उहाँ भन्नुहुन्छ, ‘श्रमिकको सम्पूर्ण अधिकार सुनिश्चित भएको र न्यायमा सहज पहुँच भएको अवस्थालाई नै स्वच्छ भर्ना प्रक्रिया भनिन्छ ।’

उहाँका अनुसार स्वच्छ भर्ना प्रक्रियामा म्यानपावरमा कामदार पुगेदेखि, सजिलैसँग गन्तव्य देश पठाउने, गन्तव्य देशको त्यहाँको रोजगारदाता कम्पनीसँग सम्पर्कमा रहिरहने र आफूले पठाएको कामदार स्वदेश नफर्किउन्जेल उसको जिम्मेवारी लिएको हुनुपर्छ ।

झुटो आश्वासन दिएर, एउटा कामको लागि कुरा गरेर अर्कै काममा पठाउनुु र सरकारले तोकेको भन्दा बढी रकम लिनु स्वच्छ भर्ना प्रक्रियाभित्र पर्दैन । यस्तै गन्तव्य देशमा पुगिसकेपछि पनि त्यहाँ काम गर्ने कम्पनीले दिने सेवा सुविधाका कुरा, गर्ने व्यवहार र कम्पनीको सुरक्षित वातावरण पनि स्वच्छ भर्ना प्रक्रियाभित्र नै पर्छ । यो सबैको जिम्मेवारी कामदारलाई रोजगारीमा पठाउने कम्पनीले नै लिनुपर्ने हुन्छ ।

अन्तर्राष्ट्रिय श्रम संगठनले तोकेको मापदण्ड अनुसार भर्ना प्रक्रिया नहुनुमा रोजगारदाताको कमजोरी भएको आईएलओको नेपालका लागि राष्ट्रिय कार्यक्रम संयोजक नेहा चौधरी बताउनुहुन्छ । रोजगारदाताले कामदारको पूर्ण सुरक्षाको प्रत्याभूति गर्नुपर्ने उहाँको भनाइ छ । ‘जबसम्म रोजगारदाताले नै यसप्रति ध्यान दिएको छैन यो नै मुख्य कमजोरी हो, यस्तै जनचेतनाको कमी पनि मुख्य समस्या रहेको छ’, उहाँ बताउनुहुन्छ ।

यस्तै वैदेशिक रोजगार विज्ञ रामेश्वर नेपाल गलत भर्ना प्रक्रियाका कारण श्रमिकहरुमाथि शारीरिक र मानसिक तथा आर्थिक  शोषणको जोखिम हुने गरेको बताउनुहुन्छ  । गलत भर्ना प्रक्रियाका कारण श्रमिकहरु जबर्जस्ती श्रमको अवस्थामा पुग्ने गरेको उहाँको भनाइ छ ।

यसको सुधारको लागि सरकार तथा व्यवसायीहरुले ऐन कानुनको पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने र यसको सबैभन्दा बढी जिम्मेवार राज्य नै हुनुपर्ने उहाँ बताउनुहुन्छ ।
 

अन्तिम अपडेट: माघ १२, २०७६

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया