जडीबुटी संकलन गर्न गएका एकै गाउँका १२ जना बेपत्ता

 मंसिर ३०, २०७६ सोमबार ८:११:२३ | रासस
unn.prixa.net

सुर्खेत – तिला गाउँपालिका ९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन् ।

जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका ९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिनुभयो । 

ढिपुगाउँबाट पाटन पुग्न दुई दिन लाग्छ । उहाँले भन्नुभयो ‘सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी सङ्कलन गर्ने भनेर उनीहरु पाटनतर्फ लागेका थिए तर गएको दिनदेखि आजसम्म सम्पर्कमा छैनन् । १२ जनाकै अवस्था अज्ञात छ ।’ 

उहाँका अनुसार बेपत्ता हुनेमा ढिपु गाउँका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जङ्ग रावत, सुमबहादुर बोहोरा, मनमाया बोहोरा, रेश्मा बोहोरा, लाउरी बोहोरा र कल्पना बोहोरा रहेका रहेका छन् ।

पाटनबाट सेतक चिनी ल्याएर घर फर्केका त्यही वडाका खच्चर गोठाला २६ वर्षीय बीनबहादुर बोहोराको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार तिला गाउँपालिका ६ को नेटा भन्ने ठाउँमा चिसोले कठ्याङ्ग्रिएर बोहोराको ज्यान गएको र अन्य चार जना गोठाला भने सकुशल फर्केका छन् । 

भारी हिमपातका कारण शव पहिचान गर्न अप्ठ्यारो परेको छ । स्थानीयले बेपत्ताको तत्काल उद्धार गर्न स्थानीय प्रशासन तथा सरकारलाई अनुरोध गरेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बेपत्ता भएकाहरुको उद्धारको लागि गृह मन्त्रालयमा पत्र पठाइएको जानकारी दिनुभयो । फूलबारी पाटनमा हिँडेर जान सकिने अवस्था छैन । हेलिकप्टरको विकल्प नरहेको त्यहाँका स्थानीयले जानकारी गराएका छन् ।   

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले हेलिकप्टरका लागि गृह मन्त्रालयसँग आग्रह गरिएको बताउनु भयो । एकै गाउँका १२ जना बेपत्ता भएपछि ढिपुगाउँ चिन्तामा डुबेको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया