दुई श्रीमती कुवेत, श्रीमान् घर कुरुवा...

 पुष ४, २०७६ शुक्रबार ११:३५:८ | रासस
unn.prixa.net

सिन्धुपाल्चोक – जुगल गाउँपालिका १ सेलाङका ३६ वर्षीय भीमबहादुर लोप्चनको १७ वर्षको कलिलै उमेरमा छिमेकी राममायासँग विवाह भयो ।

सुरुका केही दिन त हाँसखेलमै बिते । वर्ष बित्दै गयो तर बच्चा भने हुन सकेन । उनीहरुमा एक खालको तनावकाे स्थिति सुरु भयाे । उनीहरुका धेरै प्रयास असफल भए । यसैगरी झण्डै १० वर्ष बिताए ।

एकदिन राममायाले कठोर निर्णय लिएर अर्को बिहे गर्न भीमबहादुरलाई सुल्झाइन् । भीमबहादुरले पनि सहजै स्वीकार्नुभयाे । अन्ततः राममायाले आफ्नै बहिनीसँग श्रीमानकाे बिहे गराइन् । बिहे गराउनुको एउटै कारण थियो बच्चा जन्माउनु, 'बच्चा भयो भने त्यो परिवारमा छुट्टै खुशी आउँथ्यो ।'

तीन वर्ष अघि एउटा छुट्टै संयोग बन्यो । दुवैको केही महिनाको अन्तरालमै गर्भ बसेपछि भीमबहादुर तीन छक पर्नुभयाे । तीन वर्षअघि राममाया र मोतीमायाले आठ महिनाको अन्तरालमा एक/एक छोरा जन्माए ।

'बच्चा हुँदैन भनेर बूढीले बहिनीसँग बिहे गराइदिइन्, आखिर आठ महिनाको फरकमा बच्चा पायो', मन्द मुस्कानसहित भीमबहादुरले त्यो क्षण सम्झिनुभयाे । छोरा सुदीप र प्रवीन अहिले नजिकैको स्कुलमा कक्षा एकमा पढ्छन् ।

छोराहरु श्रीमानलाई छाडेर दुवै श्रीमती वैदेशिक रोजगारीका लागि अहिले कुवेतमा छन् । निःशुल्क भिसामा उनीहरु दुई वर्षअघि विदेश गएका हुन् । दुवै जना घरको काम गर्छन् । यता भीमबहादुर दुई छोराको रेखदेख गरी घर कुरुवा बन्नुभएकाे छ । आफू पनि विदेश जाने चाहना थियो तर भूकम्पले घर भत्काएकाले निर्माणको चरणमा भएर नगएको उहाँले सुनाउनुभयो ।

भीमबहादुरका दुइटा श्रीमतीले महिनाकाे १५ हजारदेखि २० हजार रुपैयाँसम्म पठाउने गर्छन् । उहाँले सबै पैसा बैंकमा राख्नुभएकाे छ । 'त्यसैबाट बैंकमा तीन लाख रुपैयाँ जम्मा भएकाे छ । यसपालि आउँदैछन्, त्यो पैसाले चौतारामा जग्गा किन्ने भनेका छन्', उहाँले भन्नुभयो ।

भीमबहादुरको मात्रै होइन, यहाँका धेरै महिला वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । श्रीमान घर कुरेर बस्छन् । उहाँका साखै भाइ पेम्बाको पनि मेखामाई र रीतामाई गरी दुई श्रीमती छन् । उनीहरु पनि दिदीबहिनी हुन् । जेठी अहिले विदेशमै छिन् । जेठीकी दुई छोरा भए । कान्छीपट्टिबाट जन्मेको छैन ।

दश वर्षअघि ओमन, त्यसपछि झण्डै दुई वर्ष साउदी अरबमा बिताएर वैदेशिक रोजगारीको अनुभव लिनुभएका उहाँ आजकल काम हुँदा गाउँको ढुङ्गाखानीमा जानुहुन्छ, काम नहुँदा घर कुरुवा भएर बस्नुहुन्छ । बेलाबेलामा उहाँले आफूमा भूकम्पको पीडा छचल्किने गरेको तीतो अनुभव सुनाउनुभयाे ।

उनका लागि कहिल्यै निको नहुने घाउ बनेर आयो विसं २०७२ वैशाख १२ को भूकम्प । भूकम्पमा परेर तीन वर्षका छोरा मायस गुमे । त्यो दिन मेखामाई छोरालाई झोलुङ्गोमा हालेर सुताउने तरखरमा हुनुहुन्थ्याे । एकैचोटी गुटुङ्टुङ भएर हल्लायो । एकैछिनमा घर गर्‍ल्यामगुर्लुम ढल्लो । मायस पुरिए । आमा मेखामाईको पनि टाउकोबाहेक सबै पुरियो ।

गाउँलेले निकै समय लगाएर आमालाई त निकाले । छोरा फेला परेनन् । तीन दिनपछि छोराको शव भेटियो ।

गाउँका धेरै महिला विदेश 

भीमबहादुरकी दुई श्रीमती, पेम्बाकी एक श्रीमती मात्रै होइन, कान्छा भाइ निक्मा लोप्चनको श्रीमती सविना पनि कमाइका लागि विदेशमै छिन् । छिमेकी मिलन तामाङकी श्रीमती सलमायाँ पनि कुुवेत गएको निक्कै समय भयो । छिमेकी एक जनाको यसैगरी विदेश जाँदाजाँदै आपसी विवाद हुँदा दुवै श्रीमतीले छाडेको उनीहरुले बताए ।

सानुकान्छी तामाङकी छोरी सुनमाया पनि वैदेशिक रोजगारीका लागि दुबई गएकी छिन् । सेलाङ गाउँमा रहेका १९ भूकम्प प्रभावित परिवारका ६ जना महिला वैदेशिक रोजगारीमा छन् । उनीहरुका श्रीमान घर रुँगेर बस्छन् । गाउँलेका अनुसार पुरुषहरु गाउँमा भए पनि जुगल गाउँपालिकाका धेरै महिला विदेशिएका छन् ।

कानुनमा के छ ?

विगतको मुलुकी ऐनमा श्रीमान वा श्रीमतीबाट बच्चा नभएको प्रमाणित भएमा, नपुङ्सक भएमा, तीन वर्षसम्म एक अर्कालाई छाडेमा, पारपाचुके भएमा अर्को बिहे गर्न पाइने उल्लेख थियो ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरमा भने बहुविवाह बदर हुने र बहुविवाह गर्नेलाई कैद सजायको कानुनी व्यवस्था छ । उक्त कसुरअन्तर्गत दफा १७५ मा विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने र कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्न नहुने उल्लेख छ । यसरी विवाह गर्ने वा गराउनेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिबाना हुने र बिहे स्वतः बदर हुने उल्लेख छ ।

उक्त कसुरको दफा १७३ मा २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने र गरेमा तीन वर्षसम्म कैद र तीन हजार रुपैयाँ जरिबाना तथा विवाह बदर हुने उल्लेख छ । हद म्याद भने तीन महिनाको छ । कानुनमा कारबाहीको व्यवस्था भए पनि ग्रामीण भेगमा भने कानुनबारे जानकार नहुँदा बच्चामै बिहे हुने र बहुविवाह हुने क्रम रोकिएको छैन ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया