मकवानपुरमा देखिएकाे धुवाँकाे मुस्लाे विमान दुर्घटना नभइ डढेलाेका कारण : प्रहरी

 पुस ९, २०७६ बुधबार १४:४९:१३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरगढी गाउँपालिका-७, बतासेडाँडामा डढेलो लागेको छ । स्थानीय बासिन्दाले ठूलो आवाजसँगै धुवाँको मुस्लो आएको भने पनि डढेलो लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी उपरीक्षक मुकेश कुमार सिंंहले बताउनुभयो । 

स्थानीयले विमान दुर्घटना भएको भनेपछि प्रहरी टोली घटनास्थलमा पठाइएको तर डढेलो लागेको पाइएको बताउँदै उहाँले भन्नुभयो, आज बिहानदेखि तीन घण्टा तनाव मात्र भयो । डढेलो लागेको प्रस्ट भएको छ ।’ 

स्थानीयबासीले जहाज वा हेलिकप्टर दुर्घटना भएकाे आशंका गरेपछि त्यहाँ प्रहरी परिचालित भएको हो । मकवानपुरगढीको सुकौरा र बकैया १२ ठिङ्गनको सिमानामा जहाज दुर्घटना भएको आशंका गाउँलेले गरेका थिए। तर मध्यान्ह १२ बजे देखिएको धुवाँको मुस्लो जहाज दुर्घटनाबाट नभइ डँढेलोका कारण देखिएको प्रहरीले जनाएको छ।  

 

 

गाउँलेले जहाज दुर्घटनाको अनुमान गरेपछि प्रहरी चौकी चौघडा र ठिंगनबाट उक्त स्थानतर्फ पुगेको टोलीले धुवाँको मुस्लो जंगलमा लागेको डढेलोबाट निस्किएको पत्ता लगाएको हाे । धुवाँको मुस्लो देखिएपछि स्थानीयबासी नेत्र कार्की घटनास्थलमै पुगेको प्रहरीले जानकारी दिएको छ । प्रहरीलाई स्थानीय कार्कीले दिएको जानकारी अनुसार डढेलो लागेर आगोसहित धुवाँको मुस्लो देखिएको हो । 

प्रहरी चौकी चौघडा र ठिंगनबाट डँढेलो लागेको स्थानमा प्रहरी गइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिनुभयाे ।प्रहरीले संयम अपनाउन अनुरोध गर्दै कुनै दुर्घटना नभएको बताएको छ । यस्तै त्रिभुवन विमानस्थल एयर ट्राफिक कन्ट्रोलरले सबै विमान सम्पर्कमा रहेकाले दुर्घटना नभएको जानकारी दिएको छ।

अन्तिम अपडेट: चैत २९, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया