हिँउमा हराएकालाई खोज्न नेपाली सेना र कोरियाली उद्धार टोली परिचालन

 माघ ६, २०७६ सोमबार १२:४०:२५ | सुमन गुरुङ
unn.prixa.net

कास्की – अन्नपूर्ण आधार शिविर पदयात्राका लागि जाने क्रममा सम्पर्कविहीन भएका सात जनाको उद्धारको लागि नेपाली सेनासहित कोरियाली उद्धार टाेली घटनास्थलतर्फ प्रस्थान गरेको छ । 

गएकाे शुक्रबारदेखि सम्पर्कविहीन तीन जना नेपाली र चार जना कोरियाली नागरिककाे खोजी गर्नका लागि पोखराबाट नेपाली सेना र उच्च प्रविधिसहितको कोरियाली उद्धार टोली आज बिहान हेलिकाेप्टरबाट गएको ट्रेकिङ एजेन्सिज् एसाेसियशन अफ् नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखराका अध्यक्ष हरि भुजेलले जानकारी दिनुभयो । 

पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले सेना र हेलिकाेप्टरसहित खोजी गर्नका लागि आइतबार अनुरोध गरेको थियो । 

‘नेपाली सेनाको दक्ष टोली र कोरियाली प्रविधिसहितकाे टाेलीले आज पत्ता लगाउँछन् कि ?’ अध्यक्ष भुजेलले भन्नुभयो । कोरियाली टोलीसँग मान्छे हिउँभित्र कहाँ छ भन्ने प्रविधि रहेकोले उद्धारमा आज केही पत्ता लाग्ने उहाँको भनाइ छ ।

आधार शिविरमा गएकाे शनिबार र आइतबार पाँचदेखि सात फिटसम्म हिउँ भएकोले उद्धार गर्न कठिनाइ भएकाे थियाे । 

अन्तिम अपडेट: चैत ६, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया