जब काठमाण्डौले जिस्क्याउँछ पर्यटकलाई !

 माघ ११, २०७६ शनिबार १४:८:३८ | बेदानन्द जाेशी

काठमाण्डाै – एक महिना अगाडिको कुरा हो । नेपाल भ्रमण वर्ष २०२० को रौनकले काठमाण्डौलाई छोइसकेको थियो । जताततै नेपाल भ्रमण वर्षका ठूलाठूला ब्यानर र होडिङबोर्ड । लाग्थ्यो, सहरमा ठूलै उत्सव चलिरहेको छ । बसहरुमा पनि भिजिट नेपालका स्टिकर छ्यापछ्याप्ती टाँसिएका थिए । 

पुस महिनाको चिसो बिहान, म गोंगबु जानको लागि सुन्धाराबाट  बस चढेँ । बस्न नपाए पनि उभिन सजिलो हुन्छ, त्यही भएर माइक्रोभन्दा बस नै चढ्ने गर्छु । लैनचौरमा पुगेपछि दुईजना विदेशी नागरिक पनि त्यही बसमा चढे । एक पुरुष र अर्की महिला, दुवै अग्ला थिए । 

सिट नपाएपछि उनीहरु पनि अरु यात्रुहरुजस्तै उभिए । मध्यम कदका नेपालीहरु त सजिलै बसमा उभिन सक्छन् । तर ती विदेशी नागरिकलाई भने निकै गाह्रो भइरहेको थियो । पटकपटकको जाम । ठाउँठाउँमा यात्रु चढाउने, ओराल्ने भइरहँदा दिक्क मानेर उनीहरु बेलाबेला घडी हेरिरहन्थे । 

ती विदेशीहरु टाउको निहुराएरै लैनचौरबाट गोँगबु पुगे । चिसो मौसममा पनि उनीहरुको निधारबाट पसिना छुटेको देखेर मलाई लाग्यो, ट्याक्सीमा किन नगएका होलान् ? हुन त ट्याक्सीमा नजानु उनीहरुको आफ्नै कारण होला । तर सार्वजनिक यातायातमा जान्छु भन्दा पनि निसास्सिएर जानुपर्ने कस्तो बाध्यता ? एकछिन यात्रु ओरालेपछि बस गुड्यो । फर्केर हेरेँ, बसको पछाडि ‘भिजिट नेपाल २०२०’ को ठूलो स्टीकर टाँसिएको थियो । 

यस्तै एकदिन काम विशेषले म काठमाण्डौको मनमैजुमा रहेको कोठाबाट बिहानै निस्केँ । करिब ६ बजेतिर बसले जमल पुर्यायो । मर्निङवाकमा निस्किएका एकजना विदेशी नागरिक कानमा इयरफोन लगाएर जमलको सडकपेटीमा लम्किंदै थिए । 

उनलाई देखेर मलाई अचम्म लाग्यो । अचम्म किन भने, उनले अनुहार नै छोपिने गरी मास्क लगाएका थिए ।  बिहानको हावा स्वच्छ हुन्छ । गहिरो सास तान्दै मर्निङवाक गर्ने हो भने दिनभरी शरीरलाई फुर्तिलो बनाइराख्छ । त्यही भएर त मर्निङवाक गर्छन् । तर यसरी मास्क नै लगाएर हिँड्दा कसरी शुद्ध हावाको फाइदा लिन पाइयो त ? म सोच्दै थिएँ ।

केही पाइला हिँडेपछि मैलाई पनि रुमालको आवश्यकता महसुस भयाे । खल्तीबाट रुमाल झिकेर नाकमुख छोपेँ र सडक पार गरेँ । ती विदेशी नागरिकको समस्या के रहेछ बल्ल थाहा भयो ।

होटेल, पसलवालाहरुले फोहोरको पोको पारेर राति बाहिर राख्दा रहेछन् । ती फोहोरका पोकालाई बिहानै महानगरको गाडी आएर बोकेर लैजान्छ । तर प्रायःजसो गाडी ७/८ बज्दासम्म पनि नआउँदा ती फोहोरका पोकाहरुबाट दुर्गन्ध फैलिंदो रहेछ । जसले बाटोमा हिँड्नेहरुको बिहानी ‘मुड’ नै ‘अफ’ गर्ने रहेछ । अनि मुखमा मास्क नलगाएर के लगाउन् त ? 

यो समस्या जमलको मात्रै होइन, काठमाण्डौका धेरै ठाउँमा यस्तै छ । सडकका छेउछाउमा फोहोरका थुप्रो दिखिनु कुनै नौलो कुरा होइन । अझै योभन्दा पनि अर्को यस्तै सामान्य समस्याको चर्चा गरौँ । बिजुलीका तार र अलपत्र पानीका पाइप । यी देखेपछि त माकुराको जालो पनि के जालो जस्तो लाग्छ ।

बौद्ध, न्युरोड, असनतिर गयो भने क्यामेरालाई विभिन्न 'एङ्गल' दिइरहेका पर्यटकलाई देखेर मनमा दया जाग्छ । कुनै दृश्यको फोटो खिच्न थाल्दा बीचमै तारले लेन्सको बाटो छेक्छ । नेपाल गएर मन्दिरै मन्दिरको सहरका कति राम्रा फोटो खिच्ने रहर हुन्छ होला । तर सबै फोटोमा तारले सौन्दर्य भङ्ग गरिदिएपछि हैरान हुँदा हुन् पर्यटक पनि ।

के गर्ने, आफ्नै देशको यस्तो अवस्था देखेर उनीहरुको अगाडि मुख देखाएर हिँड्नै लाज लाग्छ । थोरै तारहरु मात्र पनि व्यवस्थित गरिदिएको भए पनि काठमाण्डौ उपत्यकाको २० प्रतिशत सुन्दरता त बढ्थ्यो होला जस्तो लाग्छ मलाई ।

कुरा कति गर्नु । तपाईं हामीले भोगिरहेको समस्या हो यो । दिमाग र शरीरलाई ताजा बनाइराखोस् भनेर पानी पिइन्छ । तर काठमाण्डौमा पानी पिएर कतै जाने हो भने ताजा बनाउनुको सट्टा यसले झन् समस्या थप्छ । म धेरै पानी पिउँछु । धेरै पानी पिएपछि पिसाब गर्नुपर्यो । पिसाब गर्नको लागि शौचालय चाहियो । शौचालय नभेटिएपछि भएन त समस्या ?

विदेशी पर्यटकहरुको पीडा पनि यस्तै हो । प्रायः पानी नबोकेरै हिँड्ने पर्यटक कमै देखिन्छन् । पानी बोकेर हिँडेपछि नपिउने कुरै भएन । त्यसै पनि विदेशीहरु स्वास्थ्यमा बढी सचेत हुन्छन् । बेलाबेला पानी पिइरहन्छन् । अनि त्यति धेरै पानी पिएपछि पिसाब गर्नु परेन त ? तर पिसाब गर्ने कहाँ ?

म वर्षौ‌देखि यहीँ बसेको मान्छेलाई त पिसाब लाग्दा कहाँ जाने भनेर चिन्ता हुन्छ भने उनीहरु त दुई चारदिन घुम्न आउने मान्छे । ठाउँको बारेमा धेरै जानकारी हुँदैन । काठमाण्डौमा सार्वजनिक शौचालयको खासै व्यवस्था गरिएको देखिंदैन । कहिँकतै भइहाले पनि, यति फोहोर हुन्छ कि, छिर्नै सकिदैन ।  बिचरा पिसाब लागिहाल्यो भने कहाँ जाउन् ? घुम्न हिँडेको मान्छेले रमाइलो लिउन् कि पिसाब फेर्ने तनाब ? 

अब अर्को विषयमा प्रवेश गरौँ । काठमाण्डौका ढल । नदी हो कि ढल ? एकपटक सोचेर भन्नुपर्ने अवस्था छ । सहरभरीको ढल नदी, खोलामा गएर मिसिन्छ । काठमाण्डौजस्तो विश्वकै ध्यानाकर्षण गर्ने ऐतिहासिक महत्व भएको सहर । तर दुःखको कुरा यहाँ ढलको कुनै व्यवस्थापन गरिएको छैन । यहाँ घुम्ने पर्यटकले नदीबाट आएको चिसो हावासँगै कावा खाने कि, दर्गन्धले नाक थुन्ने ?

दुर्गन्धले नाक थुन्नु नपरोस् भनेर नै यहाँका वाग्मती, विष्णुमती, हनुमन्ते लगायत सानाठूला खोलाहरुमा करिडोर विस्तार गरेर चिटिक्क पार्ने योजना पुरानो हो । हुन त योजना कछुवाको गतिमा अगाडि बढीरहेको देखिन्छ । तर यही अवस्थामा अगाडि बढ्ने हो भने यसले अर्को पुस्ता नभेटाउला भन्न सकिंदैन ।

यस्तै मेलम्चीको पानीको पाइप बिच्छ्याउन खनिएका खाल्डाहरु अलपत्र छन् । आज सडक कालोपत्रे गरिन्छ, भोलि पानीका पाइप राख्न फेरि त्यही ठाउँमा खनिन्छ र त्यस्तै छोडिन्छ । यो त यहाँको चलन जस्तै भइसक्यो । हामीहरु त यहाँको चलन यस्तै त हो भनेर चित्त बुझाइहाल्छौँ । एक किसिमले भन्ने हो भने हाम्रो बानी परिसक्यो । तर विदेशी पर्यटकलाई के लाग्दो हो ? 

सडकपेटीको कुरा त के गर्नु ? यसो सोच्नुस् त, काठमाण्डौमा पनि सडकपेटी छन् र ? धेरै ठाउँमा छ्रैनन् । भएका थोरै ठाउँमा पनि फुटपाथका पसल थापिएका हुन्छन् । सडकपेटी भन्दा त मूल सडकबाटै हिँड्न सजिलो हुन्छ । दुर्घटनाको जोखिम मोलेर यसरी यात्रा गर्नुपर्ने यहाँको बाध्यता हो, रहर होइन । पर्यटकहरु पनि फुटपाथ छोडेर मूल सडकबाटै हिँडिरहेको कति देखिन्छन् कति । लाग्छ काठमाण्डौ घुम्न आउने पर्यटक यहाँबाट बानी बिगारेर स्वदेश फर्किन्छन् ।

म एकहप्ता अगाडि वसन्तपुर दरबार क्षेत्र पुगेको थिएँ । एकजना पर्यटक ठूलो क्यामेरा लिएर  त्यहाँका भत्केका संरचनाको फोटो खिच्नमा व्यस्त थिए । मैले उनलाई नियाली रहेँ । कति रहर मान्दै भत्केका संरचालाई आफ्नो क्यामेरामा कैद गरिरहेका । मंगोलियन अनुहारका ती पर्यटकले चारैतिरबाट खाँबा लगाएर अड्याइएको कुमारी घरलाई निकैबेर नियाले । त्यसको पनि फोटो खिचे । 

मलाई लाग्यो अब त पुरातात्विक सम्पदा भन्दा पनि भत्केका सम्पदा भनेर देश विदेशमा प्रचारप्रसार भइसकेछन् होला । धन्न हाम्रो देश भत्केकै सम्पदा हेर्न पनि पर्यटकहरु आइरहन्छन् । सम्पदा निर्माण भइसकेर चिटिक्क सजिएका भए झन कति पर्यटक आउँथे होला ? त्यो दिनभरी मेरो दिमागमा यस्तै कुराहरु खेले । 

तर भूकम्पले विनास गरेको पाँच वर्ष भइसक्दा पनि अवस्था उस्तै छ । भत्किएका सम्पदाहरुको निर्माण अझै हुन सकेको छैन । केही सम्पदा त विदेशी सहयोगमा बनिसकेका छन्, केही बन्ने क्रममा छन् । तर बनेका जति धेरैको मूल ढोकामै ‘मेड बाई ईण्डिया’, ‘मेड बाई चाइना’ यस्तै लेखिएको देखिन्छ । 

पाँच वर्षसम्म पनि सामान्य संरचनाहरुको समेत पुनर्निर्माण हुन नसकेको देखेर के सोच्दा हुन् पर्यटक ? पुर्खाले त गरेकै रहेछन् तर अहिलेको पुस्ता कति अल्छी रहेछन् भन्दा हुन् ।

हुन त माथि चर्चा गरिएका समस्याहरु सामान्य होलान् । तर नेपाल भ्रमण वर्ष २०२० मनाईंदै गर्दा मेरो दिमागमा यिनै झिनामसिना कुराहरुले ढ्याङ्ग्रो पिटीरह्यो । नेपाल भूकम्पले पारेको क्षतिबाट तङ्ग्रिसकेको छ भन्दै विश्वसामु यहाँको पर्यटनको प्रचार गरिरहँदा यस्ता कुराहरुलाई नजरअन्दाज गरिनुहुन्न ।

अंग्रेजीमा एउटा भनाइ नै छ नि, ‘फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन ।’ अर्थात सुरुमा परेको प्रभावले पछिसम्म असर गर्छ । यी समस्याहरुलाई नेपालको पर्यटन व्यवस्थापनसँग जोडेर हेर्दा यस्तै ‘इम्प्रेसन’को झलक देखिन्छ । तर ‘नेगेटिभ इम्प्रेसन’ । पर्यटक सुरुमा नेपाल भित्रिने त्रिभुवन विमानस्थलबाटै हुन् । पर्यटकहरुको पहिलो प्रवेश काठमाण्डौमा हुन्छ । एक, दुई दिन काठमाण्डौमै बिताउँछन् । त्यो समयमा पर्यटक यहाँको प्रदुषण, ट्राफिक जाम, अस्तव्यस्त ऐतिहासिक संरचना र गञ्जागोल सहरी व्यवस्थापनबाट झस्किन्छन् । 

पर्यटकलाई काठमाण्डौको धुलोधुवाँ र हिलोले त जिस्क्याउँछ नै । सार्वजनिक यातायातमा चढे सिट नपाएर बसले जिस्क्याउँछ । फोटो खिच्दा बीचमै तारले झमेला गर्छ, तारले जिस्क्याउँछ । पिसाब गर्न सार्वजनिक शौचालयको व्यवस्था छैन, कहीँ कतै भएका गन्हाउने चर्पीले जिस्क्याउँछ । सडकको दुर्गन्धले जिस्क्याउँछ । यहाँका फुटपाथ, ट्राफिक जाम, पुनर्निर्माण हुन नसकेका भौतिक संरचनाले जिस्काउँछ । 

एक वर्षमै २० लाख पर्यटक भित्र्याउने योजनाका साथ नेपाल भ्रमण वर्ष मनाईंदैछ । तर दुई दिनको लागि चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्री नेपाल आउने बेलाको जति पनि बढारिएको छैन काठमाण्डौ । त्यतिबेला जस्तो सडकका खाल्डाखुल्डी पनि पुरिएका छैनन् । सजावट र श्रङ्गारको कुरा त के गर्ने ? तीनकुनेबाट चोरी भएर कसैको आँगनमा रोपिएको चाइनिज दुबोले पनि जिस्क्याउँदो हो पर्यटकलाई ।

अन्तिम अपडेट: माघ २७, २०७६

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया