नेपाल टेलिकमको ग्राहक सङ्ख्या साढे २ करोड, सबै जिल्लामा फोरजी सेवा

 माघ २२, २०७६ बुधबार १०:३६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल टेलिकमका ग्राहक झण्डै साढे दुई करोड पुगेका छन् । गएको मङ्सिरसम्ममा ग्राहकको सङ्ख्या दुई करोड ३९ लाख २४ हजार नाघेको टेलिकमले जनाएको छ ।

जीएसएम मोबाइलका दुई करोड १४ लाख ५४ हजार, सीडीएमए सेवाका १७ लाख ९४ हजार र पीएसटीएन सेवाका ६ लाख ७६ हजार ग्राहक रहेका टेलिकमको दाबी छ । 

यस्तै एक करोढ ४७ लाख ७६ हजार सात सयभन्दा धेरैले नेपाल टेलिकमको इन्टरनेट डाटा सेवा प्रयोग गरेका छन् । जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता एक लाख ९८ हजार, एफटीटीएच सेवाका प्रयोगकर्ता ११ हजार ९ सय र वाईम्याक्स सेवाका प्रयोगकर्ता १८ हजार रहेका छन् । डाटा सेवातर्फ भने कम्पनीले ४८ दशमलव ९ प्रतिशत बजार ओगटेको दूरसञ्चार प्राधिकरणको तथ्याङ्कले देखाएको छ । 

कम्पनीको नाफा ९ अर्ब ७६ करोड रुपैयाँ

यस्तै टेलिकमको आर्थिक वर्ष २०७५/७६ को जम्मा राजस्व ४३ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । झण्डै ४४ करोड रुपैयाँ राजस्व उठ्दा कम्पनीले ९ अर्ब ७६ करोड रुपैयाँ नाफा गरेको छ । यस अवधिमा टेलिकमले २८ अर्ब ७५ करोड ९९ लाख रुपैयाँ खर्च गरेको छ । करअघि खुद नाफा १५ अर्ब सात करोड रुपैयाँ रहेको टेलिकमको करपछिको नाफा भने ९ करोड ७६ लाखमा सीमित भएको हो । 

सरकारको कोषमा ३३ अर्ब ३० करोड योगदान

टेलिकमले आर्थिक वर्ष २०७५/७६ मा सरकारको कोषमा ३३ अर्ब ३० करोड ९५ लाख रुपैयाँ योगदान गरेको छ । टेलिकमले अग्रिम आयकरबापत चार अर्ब ८७ करोड ३४ लाख रुपैयाँ, मूल्य अभिवृद्धि करबापत चार अर्ब ६० करोड ५२ लाख रुपैयाँ, दूरसञ्चार सेवा शुल्कबापत तीन अर्ब ८९ करोड ८५ लाख रुपैयाँ, स्वामित्व शुल्कबापत ५७ करोड ९६ लाख रुपैयाँ, भन्सार शुल्कबापत  ४८ करोड ३१ लाख ४८ हजार रुपैयाँ, रोयल्टीबापत दुई अर्ब ३३ करोढ ९६ लाख रुपैयाँ,  फ्रिक्वेन्स दस्तुरबापत एक अर्ब १४ करोड ४८ लाख रुपैयाँ, लाभाँशबापत सात अर्ब ५४ करोड रुपैयाँ, सम्पत्ति र सवारी साधन करबापत ६ करोड १८ लाख रुपैयाँ, लाइसेन्स शुल्कबापत ६ अर्ब पाँच करोड रुपैयाँ र स्रोत कर कट्टिबापत एक अर्ब ७२ लाख रुपैयाँ बुझाएको छ । 

सेवा अझै गुणस्तरीय र सर्वसुलभ बनाउने प्रतिबद्धता

नेपाल टेलिकमले आफ्नो सेवालाई अझै गुणस्तरीय, सर्वसुलभ र आधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । १६ वर्ष पूरा गरी १७ वर्ष प्रवेश गरेको अवसरमा टेलिकमले आफ्नो सेवा एवं सुविधालाई थप व्यवस्थित गर्दै सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो । 

एक वर्षको अवधिमा टेलिकमले देशभर चौथो पुस्ताको मोबाइल सेवा विस्तारमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताउनुभयो । यो अवधिमा तामाको तारबाट चल्ने परम्परागत स्थानीय टेलिफोन तथा एडीएसएल सेवालाई अप्टिकल फाइबरमा आधारित एफटीटीएच सेवामा रुपान्तरण गरिएको पनि उहाँले बताउनुभयो ।

अत्याधुनिक सूचना प्रविधि सञ्जाल देशभर विस्तार गर्ने राष्ट्रिय लक्ष्यअनुसार नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामट्ठण दूरसञ्चार विकास कोषअन्तर्गत प्रदेश १, २ र वाग्मती प्रदेशमा काम अघि बढेको पनि प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयाे ।  

७७  वटै जिल्लामा फोरजी सेवा

बुधबारदेखि सबै जिल्लामा नेपाल टेलिकमको फेरजी सेवा विस्तार भएको छ । हुम्लाको सदरमुकामा सिमिकोटमा फोरजी जडान र परीक्षण सम्पन्न भएसँगै ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार भएको हो । गएको वर्षको माघ २० गते एक वर्षभित्र देशभर फोरजी सेवा विस्तार गर्ने सम्झौता भएको थियो । 

टेलिकमले २०७३ सालको पुस १७ गते पहिलोपटक फोरजी सेवा सुरु गरेको थियो । नेपाल टेलिकमले अहिले आठ सय १८ सय मेगाहर्ज ब्याण्डअन्तर्गत फ्रिक्वेन्सी प्रयोग गरेर फोरजी सेवा विस्तार गरिरहेको छ । परियोजना सम्पन्न हुँदासम्म ६५ लाख फोरजीका नयाँ ग्राहक थप गर्ने कम्पनीले लक्ष्य लिएको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया