अख्तियारले शक्तिको प्रभावमा मुद्दा चलायो, नेकपाले आफ्नालाई जोगाउन खोज्यो : नेपाली कांग्रेस

 माघ २३, २०७६ बिहिबार १८:४८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राज्य शक्तिको प्रभावमा परेर बालुवाटार जग्गा प्रकरणमा मुद्दा चलाएको आरोप लगाएको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अख्तियारले राज्यशक्ति र नेकपाको प्रभावमा परेर वदनियत रुपमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारमाथि बालुवाटार ललिता निवासको जग्गा हिनामिना गरेको आरोपमा मुद्दा चलाएको आराेप लगाउनु भएको हो । 

बिहीबार पत्रकार सम्मेलन गरेर शर्माले मन्त्रिपरिषद्ले गरेका निर्णयमा एक जना मन्त्रीलाई मात्र मुद्दा चलाइएको भन्दै सरकार आफ्नालाई जोगाउने र अरुलाई फसाउने खेलमा लागेको आरोप लगाउनुभयो । 

उहाँले संसदीय प्रणालीमा मन्त्रिपरिषद्बाट भएका कुनै पनि निर्णयको पूर्ण जिम्मेवारी प्रधानमन्त्रीको हुने भए पनि पूर्वप्रधानमन्त्रीहरु माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिनु वदनियतपूर्ण रहेको समेत बताउनुभयो । 

उहाँले नेकपाका वर्तमान महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलका नाममासमेत जग्गा रहेको सिंगो देशलाई जानकारी हुँदा समेत मुद्दा नचलाइनुले राज्य शक्तिको प्रभावमा अख्तियार रहेको आरोप लगाउनु भयो । 

उहाँले भन्नुभयो, ‘पौडेलका छोरा नवीन पौडेलका नाममा बालुवाटारको जग्गा थियो, फिर्ता दिन्छु भनेपछि मुद्दा नलाग्ने कानून पनि कहीँ हुन्छ । उसो भए कसैले डकैती गर्‍यो र दुई वर्षपछि ब्याजसहित पैसा फिर्ता दिन्छु भन्यो भने जेल पठाउनु परेन ।’
 
प्रवक्ता शर्माले बिहीबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको नेपाली कांग्रेसको बैठकले उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियारले दर्ता गरेको मुद्दा पूर्वाग्रहपूर्ण र राजनीतिक वदनियतले प्रेरित भएको ठहर गरेको समेत बताउनुभयो । 

उहाँले नेपाली कांग्रेसले बालुवाटारको जग्गा प्रकरण राम्रोसँग गम्भीर भएर अनुसन्धान गरी दोशिलाई कारबाही गर्न माग राख्दै आएको तर बदनियत रुपमा आएका विषयलाई नमान्ने बताउनुभयो । उहाँले अख्तियारले गहिरो तथ्यमा आधारित भएर अनुसन्धान गरे कांग्रेसले सघाउन तयार रहेको समेत बताउनुभयो । 

उहाँले नेपाली कांग्रेसको नेताको मुद्दाको विषय मात्र नभएर एउटै निर्णयमा प्रधानमन्त्रीले उन्मुक्ती पाउने र एकजना मन्त्रीले कारबाही पाउने तथ्यको खोजी गर्नु स्वभाविक भएको बताउनुभयो । 

उहाँले आलतमा मुद्दा दायर भएपछि उपसभापति गच्छदारले अदालतको सम्मान गर्दै कानुनी रुपमा पनि सामना गर्ने र कांग्रेस पार्टी पनि कानुनी प्रकृया पालना गर्नेभन्दा बाहिर नजाने बताउनुभयो ।

बालुवाटार जग्गा प्रकरणको गहिरो अनुसन्धानात्मक छानबिनको पक्षमा कांग्रेस रहेको बताउँदै शर्माले अनियमितता, अख्तियार दुरुपयोग र भ्रष्टाचारका प्रकरणहरुको गम्भीर र गहिरो अनुसन्धानको पक्षमा कांग्रेस रहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया