हिमालमा खतराको घण्टी : पग्लिँदै हिउँ, बढ्दै हिमताल

 फागुन ४, २०७६ आइतबार १९:९:२३ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डाै - २०३४ साउन १९ गते आमादब्लम हिमालमा रहेको नारे हिमताल विस्फोट हुँदा कम्तिमा तीन जनाले ज्यान गुमाए । आठ वर्षपछि २०४२ साउन २० गते सगरमाथाको फेदमा रहेको डिग च्छो हिमताल विस्फोट भयो । हिमताल विस्फोटपछि आएको बाढीले नाम्चे जलविद्युत आयोजना त पुरै बगायो नै, दूधकोशी किनारका थुप्रै झोलुङ्गे पुल र अरु संरचना पनि बगायो । 

डिग च्छो ताल विस्फोट भएपछि बल्ल नेपालमा हिमताल जोखिमबारे चासो बढ्यो । अध्ययनहरु भए । त्यसपछि थाहा भयो हाम्रा हिमालतिर बम जस्तै खतरनाक छन् । जुन कुनै पनि बेला विस्फोट भएर जनधनको ठूलो क्षति हुन सक्छ । 

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र, ईसिमोडले सन् २०१५ मा गरेको अध्ययन अनुसार नेपालमा २ हजार ८६ वटा हिमताल छन् । जसले ८५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेका छन् । तीमध्ये २१ वटा हिमताल जोखिममा रहेका र २१ मध्ये १६ वटा हिमताल उच्च जोखिममा रहेका ईसिमोडको प्रतिवेदनमा उल्लेख छ ।

च्छो रोल्पा, ईम्जा, ठुलागी, चामलाङ, वरुण, लुम्दिङ, लोवर बरुण, होङ्गु वान, होङ्गु टु, लुङ्देन ग्लासिएर लेक लगायत हिमताल उच्च जोखिममा छन् ।

आकार र आयतन दुवै बढिरहेका ती हिमतालहरु कुनै पनि बेला विस्फोटको खतरामा रहेका ईसिमोडकी अनुसन्धान सहायक फिनु श्रेष्ठले बताउनुभयो । च्छो रोल्पा र ईम्जामा भने जोखिम घटाउनका लागि पानीको सतह घटाउने, साईरन जडान लगायतका काम भएका छन् । 

हिउँ पग्लिदै, खतरा बढ्दै 

ईसिमोडले सन् १९८०–२०१० मा गरेको अध्ययन अनुसार हिमतालको क्षेत्रफल २४ प्रतिशतले बढेको छ । सन् २०१० पछि तुलनात्मक अध्ययन त भएको छैन, तर ईसिमोडकी अनुसन्धान सहायक श्रेष्ठ भन्नुुहन्छ, ‘सन् २०१० पछि पनि हिउँ पग्लिने, हिमनदीको आकार र संख्या बढ्ने तथा हिमतालले ओगटेको क्षेत्रफल बढ्ने क्रम जारी छ ।’

सन् १९७७ मा कोशी बेसिन अन्तर्गत १ हजार १६० हिमताल रहेकोमा २०१० मा २ हजार १६८ वटा पुगेका छन् । यो संख्याले पनि हिमताल बढिरहेको प्रष्ट हुन्छ । 

हिउँ पग्लिने क्रम बढेकोले हिउँ जोगाउनुपर्छ भन्ने अभियान चलाइरहनुभएका आरोही पिके शेर्पा पनि बताउनुहुन्छ । ‘दुई दशकदेखि नियमित हिमालमा गईरहेको अनुभवबाट हिमालमा हिउँ निकै घटेको छ, सगरमाथा लगायत ठूला हिमालमा काला पहाड पनि देखिन थालेका छन्, हिमतालका आकार र संख्या बढिरहेका छन्, हिमनदीमा बग्ने हिउँको घोलको मात्रा पनि धेरै बढेको छ, यो खतरको घण्टी हो’,शेर्पाले भन्नुभयो । 

सगरमाथा आधार शिविरमा लगातार १३ वर्ष पर्यटन विभागको तर्फबाट सम्पर्क अधिकृतको रुपमा खटिनुभएका ज्ञानेन्द्र श्रेष्ठ पनि हिमालका फेदमा आएको परिवर्तन डरलाग्दो भएको बताउनुहुन्छ ।

श्रेष्ठ भन्नुहुन्छ ‘आधार शिविर र आसपासको भूगोल नै फरक देखिन थालेको छ, केही वर्षअघि सेताम्मे हुने शिखरहरु अहिले काला देखिन थालेका छन्, हिमताल हेर्दा हेर्दै बढिरहेका छन्, यो नाङ्गो आँखाले देखिने परिवर्तन मात्र हैन हामीलाई दिएको खतराको जनाउन पनि हो ।’

हिमतालहरु नयाँ बन्ने र भएकाहरुमा पानीको सतह थपिने क्रम दुवैलाई हेर्दा आफूलाई डर लाग्ने गरेको ईसिमोडकी अनुसन्धान सहायक श्रेष्ठ बताउनुहुन्छ । हिमताल फुटेर हुन सक्ने जनधनको क्षति त छँदैछ, कालान्तरमा हाम्रो पानीको स्राेत नै पो सकिने हो कि भन्ने चिन्ता लाग्ने गरेको श्रेष्ठ बताउनुहुन्छ । 

‘रिमोट सेन्सिङ’ प्रविधिबाट नेपालका हिमाल, हिमनदी र हिमतालहरुलाई नियालिरहनुभएकी श्रेष्ठ गोजुम्पा हिमनदीको उदाहरण दिँदै भन्नुहुन्छ, ‘गोजुम्पाको वृद्धि देखेर मलाई अत्यास लाग्छ, त्यो एक दशकमै धेरै बढिसकेको छ, यहि रुपमा बढ्ने हो भने समस्या विकराल बन्न सक्छ, गोजुम्पाजस्ता हिमनदी र हिमताल धेरै छन् ।’

जलवायु परिवर्तन र मानवीय क्रियाकलाप

जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम बढेपछि हिउँ पग्लिने र हिमतालको संख्या वृद्धि हुने क्रम बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली क्षेत्रमा वार्षिक ०.०८ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ । हाम्रा हिमालमा हिउँ पग्लिनुको मुख्य कारण यही तापक्रम वृद्धि रहेको ईसिमोडकी अनुसन्धान सहायक श्रेष्ठ बताउनुहुन्छ । 

मुख्य कारण जलवायु परिवर्तन भए पनि हिउँ पग्लिनुमा हाम्रो गतिविधि पनि दोषी रहेको अभियन्ता पिके शेर्पा बताउनुहुन्छ । मानिसको पदचाप, हिमाल आरोहणका क्रममा शिविर खडा गर्ने, बाटो बनाउने क्रममा पुग्ने धक्का, हिउँमाथि प्लाष्टिक लगायतका फोहोर छाडिनु जस्ता कारण पनि हिमालको हिउँ घटिरहेको छ । हाम्रा क्रियाकलापसँगै मुख्य समस्या जलवायु परिवर्तन नै रहेकोले यसबारेमा बिश्व समुदायमा बलियो आवाज उठाउनुपर्ने शेर्पा बताउनुहुन्छ । 

सावधानी खै ?

यदि हिमताल फुटेमा नदी किनारमा रहेको जनधनको ठूलो क्षति हुन्छ । नदी किनारका बस्ती नै बगाउन सक्छ भने जलविद्युत आयोजना, सडक, पुल लगायतका भौतिक संरचना जोखिममा पर्छन् । यस्ता बस्ती र संरचना नेपालमा धेरै भएकोले यदि हिमताल फुटिहालेमा अकल्पनीय क्षति हुने हिमालबारेको अध्ययन गरिरहेकाहरु बताउँछन् । 

हिमताल फुटेर आउने बाढीको क्षति कम गराउने उपाय भनेको पूर्व सावधानी नै हो । त्यसका लागि जोखिम क्षेत्रमा पूर्व सूचना प्रणाली आवश्यक पर्छ । नेपालका इम्जा र च्छो–रोल्पा हिमतालको जोखिम क्षेत्रमा यस्तो प्रणाली प्रयोगमा ल्याइएको छ, तर अरु हिमताल र सँगै तिब्बती हिमतालको अवस्थाबारे खोजी भएको पाइँदैन ।

हिमतालको जोखिम र जोखिम न्यूनीकरणका लागि थप अनुसन्धान र काम आवश्यक रहेको अभियन्ता शेर्पा बताउनुहुन्छ । गैह्रसरकारी स्तरबाट केही अनुसन्धान भैरहेको भए पनि सरकारको तर्फबाट भएको पाइँदैन । 


(सबै तस्बिरहरु अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र(इसिमोड) को वेबसाइटबाट लिइएका हुन् ।) 
 

अन्तिम अपडेट: चैत ३, २०७६

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया