प्रचार र विकासको अभावमा रोल्पाको अलौकिक शिवपार्वती गुफा ओझेलमा

 फागुन ९, २०७६ शुक्रबार १८:१७:३० | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – सरकारले नेपाल भ्रमण वर्ष मनाइरहँदा अपार पर्यटकीय सम्भावना बोकेको  रोल्पाको रुन्टिगढी गाउँपालिका–७ मा रहेको शिवपार्वती गुफा प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ ।

गुफासम्म पुग्नका लागि सहज बाटो समेत नहुँदा धार्मिक तथा पर्या–पर्यटनका लागि आर्कषक मानिएको उक्त स्थल ओझेलमा परेको हो ।

रोल्पाको होलेरी बजारदेखि साढे दुई किलोमिटरको दुरीमा अवस्थित शिवपार्वती गुफा २०६८ साल भदौमा स्थानीय भरत पुन र तिलक विकले पत्ता लगाउनुभएको थियो । विशेषगरी धार्मिक तथा पर्या–पर्यटनको सम्भावना बोकेको यो गुफाभित्र शिवपार्वती, गणेश, शेषनाग, गौमाता र शिव लिङ्गको मुर्ति तथा आकृतिहरु देख्न सकिन्छ ।

यस्ता अलौकिक दृश्यकै कारण पछिल्लो समय गुफा हेर्न आउने आन्तरिक पर्यटकको संख्या बढ्न थालेको गुफा संरक्षण समितिले जनाएको छ । ‘गर्मी मौसममा नेपालगञ्जदेखि समेत आन्तरिक पर्यटकहरु घुम्न आउनुहुन्छ,’ शिव पार्वती गुफा संरक्षण समितिका सदस्य भिमलाल पुनले बताउनुभयो, ‘प्रचार प्रसारको कमीले धेरै टाढाबाट पर्यटक आउन सकेका छैनन् ।’

धेरैजसो मानिस धार्मिक आस्थाका कारण र केही रमाइलोका लागि घुम्न आउने गरेको पुनको भनाइ छ । कहिलेकाही दैनिक १५÷२० जना पर्यटक आउने गरेको भए पनि कहिले भने हप्तौसम्म सुनसान हुने गरेको उहाँको गुनासो छ ।

गुफाको प्रवर्धनका लागि हालसम्म पर्यटन कार्यालय भैरहवामार्फत् रेलिङ, शिवालय मन्दिर, शौचालय, खानेपानी, प्रतिक्षालय र बत्तीको व्यवस्था भएपनि सहज बाटो र प्रचारप्रसारको अभावले बाह्य पर्यटक भित्रिन सकेका छैनन् । गुफालाई थप प्रवर्द्धन गर्नसके प्रशस्तै पर्यटक तान्न सकिने सरोकारवालाहरुको भनाइ छ । यस क्षेत्रको पर्यटन प्रवर्धनका लागि हालैमात्र गाउँपालिकाले राष्ट्रिय मिडिया सम्मेलन सम्पन्न गरेको छ ।

यस्तै, पर्यटन प्रवर्धनकै लागि स्थानीय तहको पहलमा प्रदेश र संघीय सरकारले लगानी गरेर भौतिक संरचनाको निर्माण तथा व्यापक प्रचारप्रसार गर्नुपर्ने बताउनुहुन्छ नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने । ‘देशका अन्य स्थानमा रहेका चर्चित गुफाभन्दा यो गुफा कुनै हिसाबले कम छैन,’ न्यौपानेले भन्नुभयो, ‘यसको विकास र प्रचार प्रसार गर्न सके यसलाई आकर्षक पर्यटकीय स्थल बनाउन सकिन्छ ।’

रुन्टिगढी गाउँपालिकाले गुफा नजिकै वनभोज स्थलका लागि भवन र सहायक मार्गको रुपमा सडक बनाएको छ । तर सहज सडक र अन्य व्यवस्थित संरचना भने बन्न सकेका छैनन् ।

१० वर्षे सशस्त्र द्वन्द्वको उद्गम स्थल होलेरी, स्वर्गद्धारी महाप्रभुको जन्मस्थल रुन्टी गाउँ र शिवपार्वती गुफालाई समेटेर संयुक्त रुपमा पर्यटकीय योजना बनाइरहेको गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले बताउनुभयो । ‘समग्र योजना बनाएर अगाडि बढ्दैछौँ’ उहाँले भन्नुभयो, ‘सोही अनुरुप यस क्षेत्रको प्रचार प्रसारका लागि हालैमात्र राष्ट्रिय मिडिया सम्मेलन गर्‍यौँ । प्रचार प्रसारका अरु काम पनि हामी गर्दैछौं ।’

भर्खरै मात्र गाउँपालिकाले १० लाख रुपैयाँको लगानीमा होलेरीमा शान्ति स्मारक निर्माण गरेर फागुन १ गते उद्घाटन गरेको छ । नेपाल भ्रमण वर्षलाई लक्षित गरी विभिन्न कार्यक्रम गर्न लागिएको गाउँपालिका अध्यक्ष बुढाले जानकारी दिनुभयो । यसलाई राम्रो पर्यटकीय स्थलको रुपमा विकास गर्न सके स्थानीय नागरिकको व्यापार व्यवसाय समेत फस्टाउने धेरैको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया