समृद्ध नेपालका लागि गुणस्तरीय शिक्षा : उपराष्ट्रपति पुन

 फागुन ११, २०७६ आइतबार १८:३१:१३ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा - उपराष्ट्रपति नन्दबहादुर पुनले नागरिकलाई गुणस्तरीय शिक्षा प्रदान गरी समृद्ध देश निर्माणमा अघि बढाउनु राज्यको दायित्व भएको बताउनुभएको छ । 

उहाँले शिक्षामा व्यापारीकरण भइरहेकोप्रति आफू चिन्तित  भएको उल्लेख गर्दै देशमा दुई प्रकारका शिक्षा प्रणाली हुनुले असमानता, वर्ग विभेद र फेरि द्वन्द्व हुन सक्ने सम्भावना पनि रहेको बताउनुभयो ।

उपराष्ट्रपति पुनले विरबलभद्र माध्यमिक विद्यालयको उद्घाटनका क्रममा आइतबार रोल्पाको थबाङमा यस्तो बताउनुभएको हो । उहाँले  विगतको रोल्पा र रोल्पालीको त्याग तपस्याले देशमा आमूल परिवर्तनमा ऐतिहासिक भूमिका खेलेको बताउँदै थबाङ अब विकास र समृद्ध तर्फ अगाडि बढेको बताउनुभयो ।

उहाँले दाङको कोइलाबासबाट नुन बोक्ने गरेकोमा अहिले नुन घरमै आएको, शहीदमार्ग, विद्युत, सञ्चार क्षेत्रमा निकै प्रगति भएको बताउनुभयो ।

जनयुद्धको बेलामा रोल्पाबाट तत्कालीन डिभिजन कमाण्डर किमबहादुर थापा ‘सुनिल’, तेजनमान घर्तीमगर, नेबहादुर वली, ज्वार लगायत देशका साझा शहीद भएकोले कसैले पनि आफ्नो पार्टीको मात्रै शहीद हुने भनेर खेती गर्दा शहीदको सपना र बलिदानमा अपमान हुने भएकाले तिनै शहीदहरुलाई सधैँ सम्मान र योगदानको कदर गर्नुपर्ने बताउनुभयो । 
    
आफूलाई राजनीतिक चेतना प्रदान गरेको थबाङलाई उच्च सम्मान गर्दै उहाँले भन्नुभयो, थबाङ देशको गौरव र आदर्श बन्यो, देशभर/ सचेतना फैलायो, जनयुद्धले नयाँ युग जन्मायो, जनयुद्धको जगमा संविधानमा परिकल्पना परिवर्तन भयो यसलाई हामी सबैले नयाँ ढंगबाट विकास गरौँ, एकतामा नयाँ विकास गरौँ । 
    
कार्यक्रममा विशिष्ट अतिथि ऊर्जा, सिँचाइ तथा जलश्रोतमन्त्री वर्षमान पुनले थबाङ एउटा राजनीतिक आस्थाको केन्द्र बनेको र जलजलाको गीत गाउँदै गरेको नेता आज सम्मानित उपराष्ट्रपति बन्दा सबै रोल्पालीको गौरवको विषय भएको बताउनुभयो । उहाँले रोल्पा जिल्लाको लागि यो गौरवको विषय थबाङले जन्माएको बताउँदै यहाँकाे विकासका लागि सधै अगाडि बढाउनुपर्ने बताउनुभयो ।

साथै संघीय सरकारले जलजलालाई नेपालको १०० गन्तव्यमा जलजला पनि पार्न सफल भएको बताउँदै जलजला क्षेत्रको प्रचार प्रसार भएको बताउनुभयो । उहाँले थबाङ र जलजललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर अगाडि बढाएको बताउँदै आगामी दिनमा पनि अझै विकास र विस्तार गर्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया