पुर्ख्याैली घरमा प्रधानमन्त्री ओली भन्नुहुन्छ- मलाई पनि च्याब्रुङसँगै नाचौँ नाचौँ लाग्यो

 फागुन ११, २०७६ आइतबार १८:३६:५ | रासस
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पाँचथरको कुम्मायकको यासोकमा खानेपानी आयोजना र विद्युतीकरण उद्घाटन गर्नु भएकाे छ । आफू ५० वर्षअघि कुम्मायककै यासोकमा पुग्दा तमोरबाट डोकोमा बोकेर खानेपानी प्रयोग गर्नुपर्ने विकराल अवस्थाको प्रधानमन्त्रीले स्मरण गर्नुभयो ।

‘पचास वर्षअघि यो बाटो हिँड्दा तल सिटौलाको पुल तरेर रानीगाउँसम्म आइपुग्दा त्यो उकालोमा डोकामा पानी बोकेर ल्याउनुपर्ने कुरा मैले देखेको छु, मैले भोगेको थिएँ । यी स्थानमा बिजुली, बाटो र खानेपानी पुगेकामा खुशी लागेको छ । ’
 
प्रधानमन्त्रीले भन्नुभयो, ‘यहाँ मोटरहरुबाट हिँड्न पाउँदा, यहाँ खानेपानीको धारा सरर बग्न पाउँदा, यहाँ विद्युत् उद्घाटन गर्न पाउँदा मलाई त अघि नै च्याब्रुङसँगै नाचौँ नाचौँजस्तो लागेको थियो ।’ 

उहाँले यो अवस्था आफ्ना लागि औधि खुशीको क्षण रहेको बताउनुभयो । यासोक बृहत् पम्पिङ खानेपानी आयोजना सञ्चालन गर्दा वार्षिक एक करोड २० लाख रुपैयाँ शुल्क उठ्ने र शुल्क तिर्न कठिन पर्ने भन्दै मिनाहा गरिदिन स्थानीयवासीले माग गरेका थिए । 

 मागमा सकारात्मक प्रधानमन्त्रीले भन्नुभयो, ‘देश अलि सम्पन्न भएपछि विद्युत् शुल्क तिर्न पनि कुनै समस्या पर्दैन, तैपनि म सकारात्मक छु ।’ खानेपानीको समस्या हल भएकामा प्रधानमन्त्री ओलीले कुम्मायकका महिलालाई बधाई दिनुभयो ।

‘खासगरी दिदीबहिनीहरुलाई बधाई भन्न चाहन्छु । आवश्यक पर्ने जति पनि पानी खर्च गर्ने बेलामा ढाड भाँचिनेगरी पानी बोक्दाको दुःख सम्झनुपथ्र्यो । त्यो अब हटेको छ ।’ प्रधानमन्त्री ओलीले कुम्मायकको यासोकसहित पूर्वी पहाड अब पर्यटकीय क्षेत्र बन्ने बताउँदै पूर्वाधार तयार पार्न स्थानीयवासीलाई आग्रह गर्नुभयो ।

 राँके-रवि-भेँडेटार सडक र दमक–चिसापानी–रवि सडकले एक/दुई घण्टामै पूर्वी तराईबाट यहाँ आउन सम्भव भएको बताउँदै प्रधानमन्त्रीले पर्यटकलाई न्यायो आतिथ्यको व्यवस्था गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया