बाँस्कोटाविरुद्ध सरकारले छानबिन गर्छ - गृहमन्त्री थापा

 फागुन ११, २०७६ आइतबार १९:२९:२८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - गृहमन्त्री रामबहादुर थापाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध सरकारले छानबिन गर्ने बताउनुभएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसनको डिल गरिरहेको अडियो सार्वजनिक भएपछि बिहीबार राजीनामा दिएका बाँस्कोटाविरुद्ध सरकारले छानबिन गर्ने गृहमन्त्री थापा बताउनु भएकाे हाे । 

गृह मन्त्रालय र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उहाँले सभामुख प्रकरणको हल भइसकेको र अहिले मन्त्रीको विषयमा सरकारले पनि छानबिन गर्ने बताउनुभयो ।

‘बाँस्कोटाजीले नैतिकताका आधारमा राजीनामा दिनुभएको छ,’वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न हेटौंडा आउनुभएका थापाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भन्नुभयो, ‘यो विषयमा सरकारले आवश्यक छानबिन गर्नेछ । उहाँको विरुद्ध सरकारका विभिन्न निकायले आवश्यक अनुसन्धान गर्नेछ ।’

नेकपा सचिवालय बैठकमा पार्टीबाट पनि छानबिन हुनु पर्ने माग उठिरहेको बेला सचिवालय सदस्य रहेका थापाले बाँस्कोटाविरुद्ध सरकारका निकायले मात्रै छानबिन गर्ने बताउनुभयो । उहाँले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी को बहस पनि उपयुक्त ढंगले टुंगो लगाउने दाबी गर्नुभयो ।

एमसीसीको विषयमा सत्तारुढ दलले गठन गरेको कार्यदलको प्रतिवेदन अध्ययन भइरहेको भन्दै उहाँले प्रतिवेदनको आधारमा सदनबाट अनुमोदन हुने बताउनुभयो।

एमसीसी पारित भएपछि नेपालको विद्युत् र सडक पूर्वाधारमा ठूलो लगानी भित्रिने उहाँको भनाइ थियो । नेपाल-भारतबीचको सीमा विवाद कूटनीतिक ढंगबाट टुंगो लाग्ने मन्त्री थापाले बताउनुभयो ।

‘परराष्ट्र मन्त्रालयले यो विषयमा आवश्यक पहल गरिरहेको छ,’ उहाँले भन्नुभयो, ‘सरकारले छिट्टै दुई देशबीच यो विषयमा कूटनीतिक तवरमा वार्ता हुनेछ ।’ 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया