३० ओटा विद्युतीय बस खरिद गर्न 'ग्लोबल टेण्डर' आह्वान गर्दै वाग्मती प्रदेश

 फागुन १२, २०७६ सोमबार २०:४१:३५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेश सरकारले ३० ओटा विद्युतीय बस खरिदका लागि एक हप्ताभित्रै ग्लोबल टेण्डर आह्वान गर्ने तयारी गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विद्युतीय बस खरिदका लागि सबै तयारी पूरा गरेर टेण्डर आह्वान गर्न लागेको हो । 

मन्त्रालयले विद्युतीय सवारी साधन तथा सरसफाइ उपकरण खरिद सहजीकरण समितिमार्फत बस किन्ने भएकाे छ । गएको आर्थिक वर्षमा साझा सहकारीलाई ३० करोड रुपैयाँ दिएर बस खरिद गर्ने भनिए पनि प्रदेश सरकारले रकम भने उपलब्ध गराएको थिएन । चालु आर्थिक वर्षको बजेटमा झण्डै ३५ करोड रुपैयाँ लागतमा ३० वटा बस खरिद गरिने समितिका संयोजक दिपक निरौलाले जानकारी दिनुभयो । 

हेटौँडा–काठमाण्डौ रुटमा ६ वटा र काठमाण्डाै उपत्यकामा २४ वटा बस सञ्चालन गरिने प्रदेश सरकारले जनाएको छ । काठमाण्डौ उपत्यका र आसपासका जिल्लामा २४ वटा सीटी बस सञ्चालन गर्न लागिएको संयोजक निरौलाले जानकारी दिनुभयो । 

छैन पुग्दो बजेट

वाग्मती प्रदेशले विद्युतीय बस खरिदका लागि चालु आर्थिक वर्षमा भने छुट्टै बजेटको व्यवस्था गरेको छैन । 

तर चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले बस खरिदका लागि १० करोड रुपैयाँ खर्च गर्नसक्ने छ । यो रकम विद्युतीय बस खरिद गर्नका लागि भनेर किटान गरेर राखिएको बजेट भने होइन । 

खरिद सहजीकरण समितिका संयोजक दिपक निरौलाले भन्नुभयो, ‘अर्थ मन्त्रालयसँगको सहकार्यमा रकम जम्मा गर्ने तयारी गरिएको छ । अहिले ग्लोबल टेण्डर गर्न पुग्दाे रकम प्रदेश सरकारसँग छैन ।

प्रदेश सरकारले अन्य शीर्षकबाट रकमान्तर गरेर मात्र बस खरिद गर्न सक्छ । सरकारले बस खरिद गर्दा रकमको सुनिश्चितता नभइकन टेण्डर गर्न नपाइने कानुनी व्यवस्था रहेकाे छ । 

चार्जिङ स्टेशन निर्माणमा अन्याेलता 

विद्युतीय बस खरिद गर्ने अन्तिम तयारी गरिरहँदा चार्जिङ स्टेशन कहाँ निर्माण गर्ने भन्ने विषयमा अन्याेलता कायमै छ । चार्जिङ स्टेशन निर्माण गर्न विद्युत प्राधिकरण, सङ्घीय सरकार र प्रदेश सरकारको समन्वयमा मात्र निर्माण गर्न सकिन्छ । 

बस समयमै नेपाल भित्रिए चार्जिङ स्टेशनबिना त्यसै थन्कने देखिन्छ । तर यसको सबै तयारी भएको समितिका संयोजक निरौला बताउनुहुन्छ । चार्जिङ स्टेशन हेटौँडा उपमहानगरपालिका, भरतपुर, धादिङ र काठमाण्डौमा निर्माण गर्न लागिएको छ । 

 बस खरिदका लागि तीन मन्त्रालय एक जुट

बस खरिदका लागि तीन मन्त्रालय एक जुट भएका छन् । प्रदेशको मुख्यमन्त्री कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तिम तयारीमा छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया