अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
मानिसको शरीरमा दुई वटा मिर्गौला हुन्छ । एउटा मिर्गौला नभएमा वा काम नगरेमा अर्काेले काम गर्छ । तर मिर्गौला खराब भएको कुरा त्यसबेला मात्र थाहा हुन्छ, जब दुवै मिर्गौलामा समस्या पैदा हुन्छ ।
मिर्गौला शरीरको अति महत्वपूर्ण अङ्ग हो । यसले शरीरमा तरल पदार्थलाई सन्तुलित रुपमा प्रवाह गर्न सहयोग गर्छ । यसले शरीरमा रहेको विषाक्त पदार्थलाई बाहिर निकाल्छ ।
किन हुन्छ मिर्गौला खराब ?
धेरै कारणले मिर्गौला खराब हुनसक्छ । धेरैजसो अस्वस्थ्य खानपान र जीवनशैली नै मिर्गौला खराब गर्ने कारण हो । त्यसबाहेक वंशानुगत कारणले कतिमा मिर्गौलाको समस्या देखिने हुन्छ । विषाक्त पदार्थको अधिक सेवन, पानीको अपर्याप्तता, असन्तुलित जीवनशैली र तनावलगायतका कारणले मिर्गौलामा सोझै असर गर्छ । दुवै मिर्गौला खराब भएपछि नियमित डायलासिस गराउनुपर्छ वा प्रत्यारोपण गराउनुपर्ने हुन्छ ।
कसरी हुन्छ मिर्गौला प्रत्यारोपण ?
कानुनी प्रक्रिया पूरा गरेपछि मिर्गौला प्रत्यारोपणका लागि तयार गरिन्छ । मिर्गौला दाताले दिएको मिर्गौला शल्यक्रियाबाट रोगीको शरीरमा प्रत्यारोपण गरिन्छ । यसरी प्रत्यारोपण गरिने मिर्गौला पूर्णरुपमा स्वस्थ हुनुपर्छ । यसमा सबैभन्दा पहिला रगत समूह मिल्नुपर्छ । त्योभन्दा पनि ठूलो कुरा मिर्गोला दिने र लिनेबीच टिस्युम्याचिङ गर्नुपर्छ । यसलाई टिस्यु क्रसम्याचिङ भनिन्छ ।
टिस्यु क्रसम्याच पोजेटिभ भयो कि नेगेटिभ त्यो हेर्नुपर्ने हुन्छ । क्रसम्याचिङ पोजेटिभ भयो भने प्रत्यारोपण गर्न मिल्दैन । मिर्गौला दिने र लिने व्यक्तिको टिस्यु क्रसम्याच नेगेटिभ भयो भने प्रत्यारोपण गर्न मिल्छ । अझै महत्वपूर्ण कुरा के हो भने मिर्गौला दाताको शरीरमा किटाणु छैन, कुनै सङ्क्रमण भएको छैन र कुनै सरुवा रोग लागेको छैन भने प्रमाणित गर्नुपर्छ । यदि किटाणु वा कुनै सङ्क्रमण भेटियो भने प्रत्यारोपणले काम गर्दैन ।
यसरी प्रत्यारोपण गरिएको एउटा मिर्गौलाले पनि रोगीलाई सामान्य जीवनमा फर्काउन मद्दत गर्छ । मिर्गौला प्रत्यारोपणपछि स्वस्थ्य रहन भने निकै सावधानी अपनाउनुपर्छ ।
अरु अङ्गको प्रत्यारोपणभन्दा मिर्गौला प्रत्यारोपण फरक छ । अरु अङ्ग शल्यक्रियामार्फत् पुरै निकालेर त्यही ठाउँमा अरुको अङ्ग राखिन्छ । तर मिर्गौला प्रत्यारोपण गर्दा खराब मिर्गौला निकालिँदैन । खराब मिर्गौला जहाँ छ त्यही छोडिन्छ । किनभने खराब मिर्गौला निकाल्न झन् ठूलो शल्यक्रिया गर्नुपर्ने हुन्छ ।
विश्वमा मिर्गौला प्रत्यारोपण हुन लागेको ६६ वर्ष भएको छ । अहिलेसम्म कुनै पनि व्यक्तिको खराब मिर्गौला निकालिएको छैन । प्रत्यारोपण गरिने मिर्गौला खराब मिर्गौला भएको ठाउँमा नराखेर त्यसको थोरै तल राखिन्छ । खराब मिर्गौला झिक्दा झन् जोखिम हुने भएकाले त्यही खराब त्यही छोडिन्छ । तर मिर्गौलामा सङ्क्रमण भयो वा अरु समस्या आयो भने पुरानो मृगौला निकाल्नुपर्छ ।
प्रत्यारोपणपछिका जोखिमहरु
दाताले मिर्गौला दिएपछि उसले औषधि खानुपर्दैन । तर मिर्गौला लिने व्यक्तिले नियमित रुपमा ईम्युनो सप्रेसेन्ट भन्ने औषधि खानुपर्छ । यो मिर्गौला प्रत्यारोपण गरेको केही समयसम्म धेरै खानुपर्छ भने पछि मात्रा कम गर्दै जानु पर्दछ ।
प्रत्यारोपणभन्दा पहिले नै मुटु र कलेजोको अवस्था ठिक छ कि छैन भनेर जाँचिन्छ । मुटु र कलेजो स्वस्थ्य रहेको प्रमाणित भएपछि मात्र मिर्गौला प्रत्योरोपण गर्ने भएकोले जोखिम हुँदैन । तर उच्च रक्तश्राव र मुटुको समस्या छ भने प्रत्यारोपणपछि औषधि खानुपर्छ ।
मिर्गौला प्रत्यारोपणपछिका जोखिमहरु
– पिसाब नलीमा रोकावट
– सङ्क्रमणको भय
– कहिलेकाही प्रत्यारोपण गरिएको मिर्गौला चाँडै असफल हुन सक्ने
– मिर्गौला प्रत्यारोपण गरिएको व्यक्तिमा हृदयघात र मस्तिष्कघात हुने सम्भावना
– शल्यक्रिया जति छोटो हुन्छ, प्रत्यारोपण गरिएको मिर्गौला त्यति बढी समय स्वस्थ्य रहने
प्रत्यारोपणपछि ध्यान दिनुपर्ने कुराहरु
– स्वस्थ जीवनशैली बाँच्ने
– समयमै सुत्ने
– नुन धेरै नखाने
– पानी प्रशस्त पिउने
– काममा सक्रिय हुने
– एक दिनमा दश हजार पाइला हिड्ने
– प्रत्यारोणपछिको ६ महिना धेरै सावधानी अपनाउने
(वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डाक्टर काफ्लेसँग विना न्यौपानेले गर्नुभएको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
काफ्ले वरिष्ठ मिर्गौला रोग विशेषज्ञ