कोरोना प्रभाव : इटली र इरानबाट भारतीयको उद्धार

 चैत २, २०७६ आइतबार १४:२३:१७ | रासस
unn.prixa.net

काठमाण्डौ - भारतीय अधिकारीहरुले कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमणका कारण इटली र इरानमा अलपत्र परेका भारतीयको उद्धार गरिएको बताएका छन् । 

कोभिड–१९ फैलिएसँगै सबै उडान रद्द भएपछि इटलीमा अलपत्र परेका दुई सय २० जना यात्रुलाई भारतको एअर इण्डिया विमानबाट राजधानी नयाँ दिल्ली ल्याइएको छ । 

उनीहरु आइतबार बिहान नयाँ दिल्ली आइपुगेका हुन् । भारतीय कनिष्ठ विदेश मन्त्री भी मुरलीधरनले ट्वीट गर्दै इटलीको मिलानबाट दुई सय ११ जना भारतीय विद्यार्थीसमेत दुई सय १८ जनालाई उद्धार गरिएको जानकारी दिएका छन् ।  

विश्वभर अलपत्र परेका जो कोही भारतीयलाई उद्धार गर्न भारत सरकार तत्पर रहेको पनि उनले बताए । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ लाई विश्वव्यापी महामारीको संज्ञा दिएसँगै भारतले आफ्ना नागरिकको उद्धार गरेको हो । 

इरानमा अलपत्र परेका दुई सय ३४ जना भारतीय पनि नयाँ दिल्ली आइपुगेका छन् । दुई वटा एयर इण्डियाकाे जहाजबाट ती सबै यात्रुलाई राजस्थानमा रहेकाे जैसल्मेरमा भारतीय सेनाद्वारा निर्मित क्वारेन्टाइन केन्द्रमा राखिने छ । 

यसैबीच कोभिड–१९ बाट भारतमा सङ्क्रमित हुनेकाे सङ्ख्या एक सय सात पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कोरोनाकै कारण २दुई व्यक्तिकाे ज्यान गइसकेकाे छ । 

तीमध्ये साउदी अरेबियाको भ्रमण गरेका एक जना कर्नाटक राज्यका ७६ वर्षीय पुरुष तथा स्विजरल्याण्ड र इटली भ्रमण गरेकी पश्चिम दिल्लीकी ६८ वर्षीया एक महिला रहेकी छिन् । 

कोरोना सङ्क्रमण रोक्न भारत सरकारले विभिन्न उपायहरु अवलम्बन गरेको छ । धेरैजसो राज्यमा शैक्षिक संस्थाहरु र सिनेमा घरहरु मार्च ३१ सम्म बन्द गरिएका छन् । 

अधिकांश खेल कार्यक्रम पनि रद्द गरिएका छन् । मानिसहरुलाई अनावश्यक विदेश भ्रमण नगर्न र ठूलो समूहमा भेला नहुन सरकारले अनुरोध गरेको छ ।  

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया