काेराेना सतर्कता : संसदको काम कारबाही रोक्नुपर्ने राष्ट्रिय सभा सदस्यहरुकाे माग

 चैत ४, २०७६ मंगलबार १५:५८:२१ | उज्यालो सहकर्मी

काठमाण्डाै - कोरोना भाइरस (कोभिड—१९) को सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रियसभा सदस्यहरुले संसदको काम कारबाही रोक्नुपर्ने बताएका छन् । 

मंगलबार संघीय संसद बाहिर पत्रकारहरुसँग कुरा गर्दै सांसदहरुले विश्वभरी फैलिएको कोरोना संक्रमणको महामारीको सम्भावित जोखिमलाई ध्यान दिँदै संसदको कामकारवाही रोक्नुपर्ने बताएका हुन् ।

सांसद राधेश्याम अधिकारीले सरकारले सबै भन्दा बढी भिडभाड हुने ठाउँहरु निषेध गर्नुपर्ने र यसको सुरुवात संसदबाट नै गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसदमा कुनै बिजनेस पनि देखिँदैन । सांसदहरुले पनि तत्काल बन्द गर्नुपर्ने माग गरिरहेका छन् । केही गरि तलमाथि भयो भने ठूलो क्षति निम्त्याउँछ ।’

सांसद सुमन प्याकुरेलले नेपालमा कोरोनाको प्रभाव नदेखिए पनि ढुक्क हुने अवस्था नभएको बताउनुभयो । भौतिक, आर्थिक र प्राविधिक हिसाबले नेपालमा संक्रमण देखिएपछि समस्या हुने भन्दै उहाँले सावधानी अपनाउनुपर्ने बताउनुभयो ।

अत्यावश्यक कुरा बन्द गरेर देश नै ठप्प हुने अवस्था आउने भन्दै उहाँले संसद पनि २, ४ दिनभन्दा बढी नचल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसद २—४ दिनभन्दा बढी जाला जस्तो लाग्दैन ।अधिवेशन सकिने बेला पनि भयो । बढीमा ३ दिन बढी जाँदैन।’

सांसद प्रमिला कुमारी कोरोनाले विश्वका धेरे देशहरु संक्रमित भएको अवस्थामा नेपालमा संक्रमण हुने कुरा नकार्न नसकिने बताउनुभयो । संसदमा कोरोनाका विषयमा निरन्तर छलफल भइरहेको उल्लेख गर्दै उहाँले ७ गतेसम्म मात्रै संसद चल्न सक्ने बताउनुभयो ।

सांसद इन्दिरा गौतमले जोखिम नै नभित्रिएपनि सरकारले आफ्नो तर्फबाट तयारी गरिरहेको बताउनुभयो । नेपाल प्रवेश नै नगरी कोरोनाका कारण जोखिम बढ्यो भनेर भन्न नमिल्ने तर होसियारी भने अपनाउनुपर्ने उहाँले बताउनुभयो ।

विश्वका अधिकांश देशमा कोरोनाको संक्रमण तिव्र रुपमा फैलिरहेको छ । नेपालमा भने अहिले कुनै पनि व्यक्तिमा कोरोनाको संक्रमण छैन् । कोरोनाको संक्रमण नदेखिएपनि सरकारले सभा सम्मेलन, धेरे भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ ।     

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया