लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा, उपाधिका लाग...
फागुन ८, २०८१ बिहिबार
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई कृत्रिम बौद्धिकता भनिन्छ । जसरी मानिसले सोच्न सक्छ, त्यसैगरी कम्युटर र मेसिनले पनि सोच्न सक्छ । एआईमा डेटा अथवा तथ्याङ्क र सर्भर हुने भएकाले यसलाई प्रशिक्षित गर्नुपर्छ । जस्तो किसिमको डेटा मेसिनलाई दिन्छौं, त्यही अनुसार उसले जवाफ दिन्छ । एआईमा डेटा बढ्दै गयो भने उसले राम्रो किसिमको नतिजा दिन थाल्छ । अहिले बच्चाहरुले विद्यालयको गृहकार्यमा पनि एआईको प्रयोग गर्न थालेका छन् । शुरुमा डेटा राख्दा जे चाहियो त्यो नआउन सक्छ तर बिस्तारै डेटा राख्दै जाँदा खोजेको भेटिने र परिस्कृत किसिमको नतिजा आउँछ ।
एआईको प्रयोगले काम छिटो, सहज र प्रभावकारी रूपमा सम्पन्न गर्न मद्दत गर्छ । जस्तै, एआईले स्वास्थ्य क्षेत्रअन्तर्गत रोग पहिचान, औषधि अनुसन्धान र विकास, एआई आधारित रोबोट सर्जरी, व्यक्तिगत स्वास्थ्य सहायतामा मद्दत गर्छ । यस्तै शिक्षा क्षेत्रअन्तर्गत अनलाइन, एक्स र स्मार्ट शिक्षा प्रणाली, व्यक्तिगत अध्ययन सुझावहरू, भाषा अनुवाद र भाषिक सहायतामा पनि काम गर्छ । यसैगरी कृषि क्षेत्रमा पनि एआईको महत्त्वपूर्ण भूमिका हुन सक्छ । जस्तै, स्मार्ट खेती (ड्रोन, सेन्सरहरू), माटोको गुणस्तर विश्लेषण, रोग तथा किरा व्यवस्थापन लगायतमा काम गर्न सक्छ । यस्तै व्यवसाय र वित्तीय क्षेत्रमा सेयर बजार भविष्यवाणी, अनलाईन ग्राहक सेवा र जोखिम व्यवस्थापनमा काम गर्न सक्छ । एआईले यातायात र स्वचालनसम्बन्धी क्षेत्रमा पनि सहयोग पुर्याउन सक्छ । जस्तै स्वचालित गाडीहरु, ट्राफिक व्यवस्थापन प्रणाली, स्मार्ट नेभिगेसन अर्थात् गुगल नक्शामा सहयोग पुर्याउँछ । यस्तै सैन्य तथा सुरक्षा क्षेत्रमा एआईको प्रयोग गर्न सकिन्छ । यसमा स्वचालित ड्रोन तथा रोबोट, साइबर सुरक्षा, अनुहार पहिचान प्रणाली लगायतमा काम गर्छ । एआईले घरायसी तथा व्यक्तिगत सहायकका रूपमा पनि काम गर्न सक्छ । कानूनी क्षेत्रमासमेत एआईको भूमिका हुन सक्छ । कानूनी दस्तावेजहरूको विश्लेषण, विषयको अध्ययन तथा निर्णय सहयोग गर्न पनि एआईले काम गर्छ । साथै एआईले अनुसन्धान तथा विकासअन्तर्गत वैज्ञानिक अनुसन्धान र डेटा विश्लेषण तथा भविष्यवाणी गर्न पनि सहयोग गर्छ । यसकारण एआईमार्फत नेपालमा पनि धेरे कामहरु भइरहेका छन् । पछिल्लो समय मानिसले प्रयोग गर्ने सबै स्मार्ट मोबाइलमा एआईको प्रयोग भएको हुन्छ । एआईको प्रयोग दिन–प्रतिदिन बढ्दै गइरहेको छ र यसले मानव जीवनलाई अझ सहज र प्रविधिमैत्री बनाइरहेको छ । निजी कम्पनीहरुले अहिले एआईको प्रयोग गरिहेका छन् ।
एआईसम्बन्धी नीति किन ?
नेपालको सन्दर्भमा अहिले एआईसम्बन्धी नीतिको मस्यौदा सार्वजनिक भएको छ । यो मस्यौदा तयार गर्नका लागि दुई वटा समिति गठन भएका छन् । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा समिति बनाएर एआईमै विद्यावारिधि गरेका प्रध्यापकहरु, विभिन्न संघसस्थाका एआईसँग सम्बन्धित विज्ञहरु र एआईमा काम गरिरहेका निजी कम्पनीहरुसँगको छलफलमा यो मस्यौदा तयार पारेका हौं । साथै यो समितिले पनि मेरो संयोजकत्वमा उपसमिति गठन गरेर विभिन्न एआईसँग सम्बन्धित व्यक्तिहरुसँग बसेर छलफल गरेर मस्यौदा तयार पारिएको हो । मस्यौदा तयार भएर सार्वजनिक गरेका छौं । यसमा अरू सरकोकारवालाको पनि प्रतिक्रिया आएपछि मस्यौदालाई अन्तिम रूप दिन्छौं । एआईसम्बन्धी नीति आएपछि संरचनागत कुराहरु र नीतिगत कुराहरु हुन्छन् । एआईसम्बन्धी नीति मात्रै बनाएर हुँदैन, कानून पनि बनाउनुपर्छ । अहिले सबैले काम गरिरहेका छन् । तर काम गर्दै जाँदा समस्या आयो भने कहाँ गएर भन्ने र कसरी समाधान गर्ने भन्ने कुरा मस्यौदामा उल्लेख छ । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा छलफल गर्दा, कुनै काम विदेशबाट नेपालमा गर्दा समस्या आयो भने यसको समाधानको लागि एउटा निकायको पनि प्रावधान गरेका छौं ।
मस्यौदामा एआई नियमन र प्रवद्र्धनका लागि नियमन परिषद्, राष्ट्रिय एआई केन्द्र, एआई एक्सिलेन्सी सेन्टर, एआई इन्क्युबेसन हब, प्रदेश र स्थानीय तहमा एआईसम्बन्धी समन्वय र सहकार्य गर्ने संयन्त्रजस्ता नयाँ संस्थागत संरचना स्थापना गर्ने महत्त्वाकांक्षी योजना समावेश गरिएको छ । एआई नियमन र प्रवर्द्धनका लागि नियमन परिषदले एआई केन्द्रलाई निर्देशन गर्छ । परिषदमा सूचना तथा सञ्चार प्रविधि मन्त्रीको अध्यक्षतामा एउटा समिति पनि हुन्छ । यो समितिले निर्देशन गर्छ । खास काम गर्ने एआई केन्द्रले हो । साइबर सुरक्षासँग सम्बन्धित विषयका लागि एउटा केन्द्र बनिसकेको छ । कुनै विषयमा सहज बनाउने, समन्वय गर्ने र नियमनका लागि पनि एआई केन्द्र चाहिन्छ । एआई प्रणालीले निर्णय गर्दा नैतिकता पनि हुनुपर्छ भनिन्छ । जस्तै अहिले सरकारले मिडिया विधेयक अघि बढाएको छ । यसमा पनि स्वनियमन भनिएको छ । यस्तै एआई इन्टरनेटको माध्यमबाट चल्ने हुनाले आफैं सचेत भएर काम गनुपर्ने हुन्छ । यसलाई एउटा दायरामा रहेर प्रयोग गर्ने, कसैलाई आघात नहोस् र सर्वमान्य हुने खालले प्रयोग गर्नुपर्छ । कसैले जानेर गरेका हुन्छन् त कसैले नजानेर गरेका हुन्छन् । त्यसैले एउटा नियन्त्रण गर्ने निकाय चाहिने हुँदा राष्ट्रिय एआई केन्द्रको व्यवस्था गरेका हौं ।
एआई प्रणालीले आफैं काम गर्दैन
कुनै पनि प्रणाली व्यक्तिले बनाउने भएकाले एआई प्रणाली आफैंले काम गर्दैन । त्यसैले कुनै पनि प्रणाली बनाउने व्यक्ति यसमा जिम्मेवार हुनुपर्छ । हामीले चलाउने प्रणालीमा डेटा कस्तो राखेका हुन्छौं, त्यसमा पनि निर्भर हुन्छ । प्रणालीलाई जिम्मेवार बनाउन सकिँदैन तर यसको सञ्चालन गर्ने व्यक्तिलाई चाहिँ जिम्मेवार बनाउन सकिन्छ । मस्यौदामा राय–सुझाव लिएर र प्राप्त सुझाव अध्ययन गरेर अर्थ र कानून मन्त्रालयको पनि प्रतिक्रिया लिएर मन्त्रिपरिषदमा लैजाने भनिएको छ । मन्त्रिपरिषदले समीक्षा गरेर स्वीकृत गरेपछि यो नीति लागू हुनेछ ।
हामीले अहिले पनि जानेर वा नजानिकन एआई प्रयोग गरिरहेका छौं । यसलाई व्यवस्थित गराउन सर्भरहरु राख्नुपर्छ । एआईको नीति मात्र बनाएर हुँदैन, नीति बनिसकेपछि प्राविधिक पक्ष महत्त्वपूर्ण हुन्छ । प्राविधिक पक्षमा सर्भर, सफ्टवयर र कुनै किसिमको अनुमति प्रणाली चाहिन्छ भने त्यो पनि स्थापना गर्नुपर्छ । अनि त्यसमा डेटाहरु राख्नुपर्छ । त्यसैले हामीले कार्यान्वयन पक्षलाई पनि जोड दिएका छौं ।
एआई प्रयोग गर्दा हुने फाइदा
कृत्रिम बौद्धिकता (एआई) को विभिन्न क्षेत्रमा प्रयोग गर्दा धेरै फाइदाहरू हुन्छ । यसले दक्षता र उत्पादकत्वमा वृद्धि गर्न सहयोग गर्छ । एआईले दोहोरिने र समय लाग्ने कार्यहरू स्वचालित गर्न सक्छ, जसले गर्दा कर्मचारीहरूलाई थप जटिल कार्यहरूमा ध्यान केन्द्रित गर्न समय मिल्छ । यस्तै एआई प्रणालीहरूले ठूलो मात्रामा डेटा विश्लेषण गरी छिटो र सही निर्णय लिन मद्दत गर्छन्, जसले व्यवसायिक रणनीतिहरूलाई सुदृढ बनाउँछ । निजीकृत अनुभवहरू जस्तै एआईले प्रयोगकर्ताको प्राथमिकता र व्यवहारको आधारमा निजीकृत सिफारिसहरू प्रदान गर्न सक्छ, जसले ग्राहक सन्तुष्टि बढाउँछ । यसैगरी नवीनता र नयाँ सम्भावनाहरूमा एआई प्रविधिको प्रयोगले नयाँ उत्पादन, सेवा र समाधानहरूको विकासलाई प्रेरित गर्छ, जसले प्रतिस्पर्धात्मक लाभ प्रदान गर्दछ । जोखिम व्यवस्थापनमासमेत एआईले सम्भावित जोखिमहरू पहिचान गरी तिनीहरूको व्यवस्थापनमा सहयोग पुर्याउँछ, जसले सुरक्षा र विश्वसनीयता बढाउँछ । एआईको प्रभावकारी प्रयोगले विभिन्न क्षेत्रमा सुधार र प्रगति ल्याउन सक्छ, जसले समाज र अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउँछ ।
आर्थिक प्रभाव र श्रम बजार
एआई प्रयोगमा आर्थिक प्रभाव र श्रम बजार पनि जोडिन्छ । पहिले मानिसले कम्प्युटर आउँदा सबै काम अब कम्प्युटरले गर्छ, मानिसको जागिर घट्छ भन्थे । तर यसले गर्दा अरू क्षेत्रमा काम बढ्यो । साथै कम्प्युटरबाट काम गर्दा समय बचत हुन्छ । जसले गर्दा एउटा काम छिटो सकेर अर्को काम गर्न मद्दत गर्छ । केही मात्रामा रोजगारी गर्ने मानिसको सङ्ख्या घट्न सक्छ । कुनै कार्यालयमा १० जनाले काम गरिहेकोमा एआईको प्रयोगबाट दुई जनामा सीमित हुन पनि सक्छ । तर यसले गर्दा सम्भावनाका ढोकाहरु चाहिँ धेरै खुल्छ । साथै एआईको प्रयोगले व्यापार र उत्पादनका विधिहरुमा पुनर्संरचना गर्नुपर्ने हुन्छ । एआई प्रणालीलाई चुस्त र सबैतिर पुर्याउनका लागि इन्टरनेटको विशेष भूमिका हुन्छ । मन्त्रालयको योजना अनुसार अहिले नेपाल टेलिकमले देशैभर अप्टिकल फाइबर विच्छ्याउने काम गरिहेको छ । इन्टरनेट आधारभूत आवश्यकता भएकाले गुणस्तरीय इन्टरनेटको सुविधा हुनुपर्छ । एआईमा जाँदा तीब्र गतिको इन्टरनेट जडान, डेटा सेन्टर, एक ठाउँमा प्रयोग भएका डेटा अन्य ठाउँमा पनि चाहिने हुनाले त्यो किसिमको प्रविधि लगायत कुराहरुको आवश्यकता पर्छ । त्यसैले यो मस्यौदा एउटा निश्चित नीति नै बनेर आयो भने धेरै नै फाइदा छ ।
एआई प्रणालीमा अभ्यस्त हुन नागरिकमा साक्षरता चाहिन्छ । यसका लागि यो मस्यौदामा पनि हामीले उल्लेख गरेका छौं । साक्षरता गराउन जनचेताना कार्यक्रम, अन्तरक्रिया, तालिम लगायतका कार्यक्रमको व्यवस्था भएकाले यसलाई एउटा अभियानको रूपमा अगाडि बढाउनुपर्छ । एआईका लागि प्राविधिक शिक्षा, विश्वव्यापी प्रमाणीकरण, विश्वविद्यालयमा उत्कृष्टता केन्द्र, अनुसन्धान केन्द्र, लगायत यो मस्यौदामा उल्लेख छ ।
समस्या र चुनौती
सरकारले एआईसम्बन्धी मस्यौदा तयार गरेर सार्वजनिक गर्दैगर्दा विभिन्न चुनौती र जोखिमहरू पनि देखा परेका छन् । रोजगारीमा प्रभाव पर्न सक्ने देखिन्छ । एआई र स्वचालनको विकासले परम्परागत रोजगारहरूलाई विस्थापित गर्ने सम्भावना छ, जसले धेरै मानिसहरूको रोजगारी गुम्न सक्छ र समाजमा असमानता निम्त्याउन सक्छ । यस्तै नैतिकता र गोपनियतामा पनि केही असर पुर्याउन सक्छ । एआईको प्रयोगले व्यक्तिगत गोपनियता उल्लङ्घन गर्ने सम्भावना बढाएको छ । साथै, एआईले गरेका निर्णयहरूमा नैतिकताको सवाल पनि उठ्न सक्छ । उदाहरणका लागि, एआई आधारित प्रणालीहरूले कसरी निष्पक्ष रूपमा निर्णय लिन्छन् भन्ने कुरा अझै स्पष्ट छैन । यसैगरी गलत सूचना र अफवाह फैलाउन पनि सक्ने देखिन्छ । एआई प्रविधिको दुरुपयोगले गलत सूचना र अफवाहहरू छिटो फैलाउन सक्छ, जसले समाजमा भ्रम र अस्थिरता निम्त्याउन सक्छ । कानूनी र नियामक चुनौतीका रूपमा एआई प्रणालीहरूको स्वायत्त निर्णय क्षमताका कारण कानूनी जिम्मेवारी र उत्तरदायित्व निर्धारण गर्न कठिनाइ हुन सक्छ, जसले कानूनी र नियामक संरचनाहरूमा चुनौतीहरू सिर्जना गर्दछ ।
यस्तै साइबर सुरक्षा जोखिमहरूमा एआई प्रणालीहरू साइबर आक्रमणको लक्ष्य बन्न सक्छन्, जसले डाटा चोरी, प्रणालीको दुरुपयोग, र अन्य सुरक्षा घटनाहरूको जोखिम बढाउँछ । यी चुनौतीहरूलाई सम्बोधन गर्न एआईको जिम्मेवार विकास, प्रभावकारी नियमन र नैतिक मापदण्डहरूको पालना आवश्यक छ, जसले एआईको सकारात्मक प्रभावलाई प्रवर्द्धन गर्दै नकारात्मक प्रभावलाई न्यून गर्न मद्दत पुर्याउँछ । जसरी यो एआईलाई व्यवस्थित बनाउन संरचना बनाएका छौं । यसमा बजेट अपुग भयो भने योजना अनुसार काम गर्न चुनौती हुन्छ ।
एआईमा डेटाको सुरक्षा गर्ने तरिका
एआई प्रणालीहरूले प्रयोग गर्ने डेटाको सुरक्षित गर्न पहिलो कुरा प्रयोग गर्ने व्यक्ति नै सचेत हुनुपर्छ । डेटालाई अनधिकृत पहुँचबाट सुरक्षा गर्न सकिन्छ । यसले संवेदनशील जानकारीलाई सुरक्षित राख्न मद्दत गर्छ । पहुँच नियन्त्रणमा केवल अधिकृत व्यक्तिहरूलाई मात्र डेटामा पहुँच दिनुपर्छ । यसका लागि बलियो पासवर्ड, दुई–चरण प्रमाणीकरण र भूमिका–आधारित पहुँच नियन्त्रण जस्ता उपायहरू लागू गर्नुपर्छ । नियमित सुरक्षा अडिट गर्नुपर्छ । एआई प्रणालीहरूको नियमित रूपमा सुरक्षा अडिट गरेर सम्भावित कमजोरीहरू पहिचान र सुधार गर्न सकिन्छ । यसले प्रणालीलाई अद्यावधिक राख्न र नयाँ खतराहरूबाट जोगाउन मद्दत गर्छ । साथै डेटा गोपिनियता नीतिहरूको पालनामा प्रयोगकर्ताको गोपनियता सुनिश्चित गर्न, सम्बन्धित डेटा गोपनियता नियमहरू र मापदण्डहरूको पालना गर्नुपर्छ । यसले प्रयोगकर्ताको विश्वास बढाउँछ ।
यसैगरी डेटामा निहीत पूर्वाग्रहहरू हटाउन सक्रिय उपायहरू अपनाउनुपर्छ, जसले एआई प्रणालीहरूको निष्पक्षता सुनिश्चित गर्छ ।
नेपाल सरकारले एआई प्रणालीमा प्रवेश गर्न जोड दिएका दिएको छ । अहिले पहिलो चरणमा मस्यौदा सार्वजनिक भएको छ । अब सरोकारवालाहरुको राय प्रतिक्रिया लिएपछि यसलाई अर्थ र कानून मन्त्रालय सहमति प्राप्त गर्न अगाडि बढाउँछौं । एआईसम्बन्धी नीति छिटै आउँछ । त्यसपछि यसको कार्यान्वयन गर्नका लागि हामीले द्रूत गतिमा प्रक्रिया अगाडि बढाउँछौं ।
(सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तसँग विकाश चापागाईँले गरेको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दत्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् एआईसम्बन्धी नीतिको मस्यौदा उपसमितिका संयोजक पनि हुनुहुन्छ ।