जलनबारे जनचेतनासँगै उपचारको पहुँच बढाउन विज्ञको सुझाव

 फागुन १२, २०८१ सोमबार ९:१७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आगलागी र जलनका धेरै घटना लापरबाही र असावधानीका कारण हुने भएकाले यसबारे जनचेतना बढाउन विज्ञले सुझाव दिएका छन् ।

कीर्तिपुर अस्पतालका निर्देशक डा.किरण नकर्मीले उज्यालोलाई दिनुभएको जानकारी अनुसार जलनका धेरै घटना भवितव्य र दुर्घटनाको कारण भन्दा पनि असावधानीका कारण हुने गरेको छ ।

घरभित्रको भान्सा सुरक्षित बनाउनेदेखि शहरबजारमा रहेका पेट्रोल पम्पलाई व्यवस्थित बनाउने काममा आमनागरिकको सचेतनासँगै सरकारको पनि ध्यान पुग्नुपर्ने उहाँले बताउनुभयो ।

अहिलेको सुक्खा मौसममा आगलागीको सम्भावना धेरै हुने भएकाले आगोको प्रयोगमा सावधानी अपनाउन विज्ञहरुले आग्रह गर्दै आएका छन् । जलनका बिरामीलाई समयमै अस्पताल पुर्‍याउन सकेमा उपचार सहज र सफल हुने कीर्तिपुर अस्पतालका निर्देशक डा.नकर्मीले बताउनुभयो । तर जलनको उपचार हुने अस्पताल काठमाण्डौमा मात्रै सीमित छन् ।

जलनको उपचारको लागि तीन तहको अस्पताल आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार सबै नागरिकको पहुँचमा हुने गरी स्थानीयस्तरमा प्रारम्भिक या प्राथमिक अस्पताल चाहिन्छ । अहिले भएकै स्वास्थ्य संस्थामा पूर्वाधार र जनशक्ति बढाएर जलनको उपचार गर्न सकिने उहाँले बताउनुभयो ।

यस्तै सातवटै प्रदेशमा अर्को अस्पताल र केन्द्रमा अन्तर्राष्ट्रिय स्तरको एउटा अस्पताल भएमा बिरामीको उपचार सहज हुने डा.नकर्मीको भनाइ छ ।

नेपालमा हरेक वर्ष ५५ देखि ६० हजारसम्म मानिसलाई जलनको समस्या हुनेगरेको अनुमान छ । जलनमा पर्ने धेरैजसो बिरामी दूरदराज र विपन्न वर्गका हुने गरेको तथ्याङ्क छ ।

विज्ञका अनुसार जटिल जलन भएकामध्ये झन्डै ६० प्रतिशत बिरामीको बाटोमै ज्यान जाने गरेको छ । यसको मुख्य कारण नै प्राथमिक उपचार नपाउनु हो । त्यसैले जलनको प्राथमिक उपचार हुने ठाउँ सबै नागरिकको पहुँचमा हुने हो भने जलनका धेरै बिरामीलाई बचाउन सकिने डा.नकर्मीले बताउनभयो । 

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया