ग्यास अभाव छैन : नेपाल एलपी ग्यास उद्योग संघ

 चैत ४, २०७६ मंगलबार १६:९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल एलपी ग्यास उद्योग संघले बजारमा ग्यास अभाव नरहेको जनाएको छ । 

विगतभन्दा बढी मात्रामा आयात भइरहेको बताउँदै संघले अहिले बजारमा ग्यास अभाव नरहेको जनाएको हो । संघले सोमबार पत्रकार सम्मेलन गर्दै साधारण खपतभन्दा बढी ग्यास आयात भइरहेकोले अभाव नहुने बताएको हो ।

कोरोना भाइरसको प्रभाव नेपालमा पनि पर्न सक्ने त्रासले उपभोक्ताहरुले आवश्यकता भन्दा बढी ग्यास भरेर राखेकाले केही समस्या सिर्जना भएको संघले जनाएको छ । ग्यासको आयात विगतभन्दा बढी भएकाले उपभोक्ताहरुले धैर्य गरी आवश्यकता भन्दा बढी ग्यास सञ्चय नगर्न पनि आग्रह गरेको छ ।

संघका अध्यक्ष गोकुल भण्डारीले कोरोनाको प्रभाव नेपाल परेपछि के हुने हो भन्ने त्रासका कारण केही उपभोक्ताले ग्यास सञ्चय गरेको र अन्य केही उपभोक्तले तत्काल पाउन नसकेका कारण यो अवस्था आएको बताउनुभयो ।

एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघ नेपालले संयुक्त विज्ञप्ति निकालेर घरमा भएको खाली सिलिण्डरलाई मात्र ग्यास दिन र नयाँ सिलिण्डर (ग्यास सहितको सिलिण्डर) बिक्री वितरण नगर्न पनि विक्रेताहरुलाई आग्रह गरेको छ ।

आम उपभोक्तको हितलाई ध्यानमा राख्दै आपूर्ति व्यवस्था सहज राख्ने प्रतिबद्धता पनि उनीहरुले जनाएका छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया