सूर्यदीपकै बाटो हेरिरहन्छन् स्वयम्भूका कुकुर र बाँदर

 चैत २६, २०७६ बुधबार १७:१४:३१ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ - हरेक बिहान काठमाण्डौको स्वयम्भूका कुकुर र बाँदरले एउटा परिवारको बाटो हेरिरहेका हुन्छन् । जब निलो कार बाल्टिनका बाल्टिन खानेकुरा बोकेर स्वयम्भूमा रोकिन्छ, तब कुकुर र बाँदरको पर्खाइ सकिन्छ । अनि खुसीले बुर्कुसी मार्न थाल्छन् । 

‘लकडाउन’को कारण सहरका मानिस घरभित्रै बस्नुपर्दा पशुपति, थापाथली र स्वयम्भूलगायत क्षेत्रका बाँदर र ती ठाउँसँगै जोडिएका मूल सडकका कुकुर भोकै छन् । अन्य क्षेत्रका कुकुर र बाँदरलाई खुवाउन नपाएपनि स्वयम्भू क्षेत्रका कुकुर र बाँदरलाई दैनिक खाना खुवाइरहेको छ भिमसेनस्थानका सूर्यदीप श्रेष्ठको परिवारले । 

श्रेष्ठको परिवारले पहिलेदेखि नै कुकुर र बाँदरलाई खाना खुवाइरहेको छ । ‘यसपटक ‘लकडाउन’ले गर्दा धेरै ठाउँका कुकुर र बाँदर भौकै छन् । त्यसैले आज १६ दिन भयो, हामीले स्वयम्भूका कुकुर र बाँदरलाई खाना दिइरहेका छौं ।’ सूर्यदीपले भन्नुभयो । 

घरका सबैको साथ

धेरैको घरमा बिहान पाँच बजे चियासमेत उम्लिएको हुँदैन । तर सूर्यदीपको घरमा बिहान पाँच बजे उहाँकी श्रीमती रमिनाले १० किलो चामलको भात, मासु र तरकारी पकाइसक्नुहुन्छ । बाँदरका लागि मकै, गहुँ र चामल पनि तयार पार्नुहुन्छ ।

‘सुरु सुरुमा श्रीमतीलाई पनि अप्ठ्यारो महसुस हुन्थ्यो । तर अहिले पाँच बजे नै उठेर कुकुर र बाँदरका लागि खाना तयार पारिसक्नुहुन्छ । दुःख भएपनि कुकुर र बाँदर अघाएको देख्दा खुसी लाग्छ ।’ सूर्यदीपले भन्नुभयो ।

यस्तो बेला मान्छेले धेरैतिरबाट सहयोग पाएका छन् । तर कुकुर र बाँदरले कतैबाट सहारा पाएका छैनन् । त्यसैले उनीहरुलाई विशेष ध्यान दिएको उहाँको भनाइ छ । 

‘स्वयम्भूका सबैजसो कुकुर र बाँदरले हामीलाई चिन्छन् । हामी खाना लिएर आउनेबित्तिकै झुम्मिन्छन् । कहिलेकाही दिउँसोको समयमा खाना नलिएर जाँदा पनि लुटुपुटु गर्न आउँछन् ।’ सूर्यदीपले भन्नुभयो । 

मन कटक्क खान्छ

संविधानसभाकी सदस्यसमेत रहनुभएकी सूर्यदीपकी आमा राज्यलक्ष्मी श्रेष्ठसहित परिवारका सबै जनाले कुकुर र बाँदरलाई खाना खुवाउन सहयोग गर्नुहुन्छ । काठमाण्डौका गल्ली गल्लीका कुकुर र बाँदर भोकै रहेको खबरले उहाँको परिवारका सबै जनाको मन कटक्क खान्छ । तर उहाँहरुले स्वयम्भू क्षेत्रमै खुम्चिनुपरेको छ । 

आफूहरुजस्तै अरुले पनि कुकुर र बाँदरलाई माया गर्ने हो भने ती जनावरलाई भोकभोकै रहनुपर्ने थिएन भन्ने उहाँलाई लाग्छ । कुकुर र बाँदरलाई खाना खुवाएको फोटो र भिडियो फेसबुकमा राखेपछि सूर्यदीपलाई सहयोग गर्ने भन्दै फोनका घन्टी बज्छन् ।

तर उहाँ भन्नुहुन्छ, ‘मलाई पैसा सहयोग गर्नुको साटो भोका कुकुर र बाँदरलाई खान दिनुहोस्, त्यसैमा सबैको भलो हुन्छ ।’

अन्तिम अपडेट: चैत १४, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया