उडान नहुँदा ११ नेपालीको शव यूएईमै रोकियो, यतै अन्त्येष्टि गर्ने तयारी

 चैत २८, २०७६ शुक्रबार १६:४०:३२ | उमाकान्त पाण्डे

यूएई –  कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा यूएईमा ११ जना नेपालीको शव रोकिएको छ । उडान नभएपछि लकडाउनअघि र त्यसपछि ज्यान गुमाएका ११ नेपालीको शव यूएईमै रोकिएको हो । विभिन्न कारणले ज्यान गुमाउने ११ नेपालीको शव अहिले यूएईका अस्पतलामै छन् ।

रुपन्देहीकी बिनु पराजुलीको मृत्युपछि मात्रै मृत्युको कारण कोरोना भएको अस्पतालले पुष्टि गर्‍यो । उहाँको यूएईमै अन्त्येष्टि गर्ने परिवारको तयारी छ । तर नेपाली दूतावासले पराजुलीको मृत्युको कारण पुष्टी गर्न सकेको छैन  ।

यस्तै आफ्नै कोठामा मृत भेटिएका नुवाकोटका हरिशरण डोटेलको शव अनुसन्धानका लागि भन्दै राखिएको छ । अनुसन्धान नसकिएकोले अहिलेसम्म डोटेलको मृत्युको कारणसमेत खुलेको छैन । 

यूएईमा कास्कीका सम्मरबहादुर सुनार, धनुषाका वीरेन्द्र दास, झापाकी निता चौधरी, ताप्लेजुङका राजु पञ्चकोटी, खोटाङका दिलिप तामाङ, रुपन्देहीका सुरज थापासहित अरु ३ जनाको शव नेपाल पठाउन सकिएको छैन । 

सामान्य अवस्थामा यूएईमा ज्यान गुमाएका नेपालीको शव तीनदेखि सात दिनभित्र नेपाल पठाउने गरिए पनि अहिले कोरोनाका कारण उडान ठप्प हुँदा शव पठाउन नसकिएको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । 

लकडाउन लम्बिंदै जाने हो भने शवको व्यवस्थापन गर्न थप कठिन हुने देखिएको छ । 

यूएईमै अन्त्येष्टि गर्ने तयारी

उच्च निमोनियाका कारण दुबईमा ज्यान गुमाएका कास्कीका सम्मरबहादुर सुनारको यतै अन्त्येष्टि गर्ने परिवारको तयारी छ । मृतकको छोरा र भाइ यूएईमै कार्यरत भएकाले पनि सुनारको शव यतै अन्त्येष्टि गर्ने गरी परिवारसँग समन्वय भैरहेको कास्की सेवा समाजका अध्यक्ष केदार कुँवरले जानकारी दिनुभयो । कानुनी रुपमा दूतावासमार्फत आवश्यक प्रक्रिया पुर्‍याएर अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

शव व्यवस्थापन गर्न प्रयासरत छाै‌ ः दूतावास

आबुधाबीमा रहेको नेपाली दूतावासले शव व्यवस्थापन गर्ने विषयमा वैदेशिक रोजगार बोर्ड, कन्सुलर सेवा तथा सम्बन्धित निकायसँग समन्वय गरिरहेको श्रम काउन्सिलर निर्मला थापाले जानकारी दिनुभयो ।

दूतावासले गर्नुपर्ने प्रकृया गरिरहेको र नेपालमा रहेका निकायहरुले प्रकृयागत रुपमा परिवारको अनुमति लिएर शव यतै अन्त्येष्टि गर्न सकिने व्यवस्था छ । त्यसका लागि परिवारको अनुमति भने अनिवार्य चाहिन्छ । दूतावास आफैंले पनि सम्पर्कमा रहेका सम्बन्धित परिवारसँग सल्लाह गरिरहेको जनाएको छ ।  

मृतकको सँख्या बढेसँगै यहाँका उच्च निकायमार्फत दूतावासलाई सक्दो छिट्टो शव व्यवस्थापन गर्न अनुरोध आउन थालेको छ । ‘दूतावास आफैंले शवको विषयमा निर्णय गर्ने अधिकार राख्दैन, कतिपय परिवारले समन्वय गरेर यूएईमै रहेका आफन्त वा परिवारका सदस्यहरुले यहीँ अन्त्येष्टि गर्ने भन्नुभएको छ,’ श्रम काउन्सिलर थापाले भन्नुभयो । 

एउटा जहाजमा दुई वटा मात्र शव ल्याउन मिल्छ ।  । त्यसैले उडान सुरु भए पनि सबै शव नेपाल लैजान समस्या छ ।

शव ल्याउने सम्बन्धमा छलफल हुँदैछ : बोर्ड

वैदेशिक रोजगार बोर्डले विदेशमा ज्यान गुमाउनेको शव नेपाल झिकाउने र कानुन अनुसार मृतकका परिवारलाई राहत र क्षतिपूर्ति दिने गर्छ । तर अहिलेको परिस्थितीमा शव झिकाउन सकिने या नसकिने भनेर बोर्डले विभिन्न नियोगसँग छलफल गरिरहेको जनाएको छ । 

‘यो समस्या झन थपिने देखिएको छ’ बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ भन्नुहुन्छ, ‘बोर्डले विदेशस्थित सबै नियोगहरुलाई पत्राचार गरेर शवको सँख्या, ल्याउन सकिने वा नसकिने विषयमा छलफल गर्ने र कन्सुलर सेवा तथा विभिन्न निकायसँगको समन्वयमा शवको व्यवस्थापनका लागि गृहकार्य गरिरहेको छ ।’

अहिले उडान बन्द भएकाले शव ल्याउन समस्या भएको बोर्डको भनाई छ । यूएईमाभन्दा धेरै मलेसिया, कतार र साउदीमा शव रोकिएका छन् । 

 

अन्तिम अपडेट: चैत १५, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया