लकडाउन उल्लङ्घन गर्नेलाई एक घण्टा घाममा उभ्याएर ‘कोरोना कक्षा’

 चैत ३०, २०७६ आइतबार १२:३१:३ | किरण लोहनी
unn.prixa.net

गोरखा - जिल्ला प्रहरी कार्यालय गोरखाले लकडाउन उल्लङ्घन गर्नेलाई कोरोनाका बारेमा अभिमुखीकरण गराउन थालेको छ । 

आइतबारबाट प्रहरीले यस्तो कार्यक्रम सुरु गरेको हो । लकडाउनका बेला अत्यावश्यक बाहेक सवारी साधन चलाउने र कामबिना हिँडडुल गर्नेहरुलाई नियन्त्रणमा लिएर यस्तो कक्षामा सहभागी गराउन थालिएको हो । 

‘जाँडररक्सी खाएर गाडी चलाउनेलाई जस्तै क्लास लिन थालेका छौँ’, एसपी ओम अधिकारीले भन्नुभयो, ‘यसले कोरोना सङ्क्रमणबारे उहाँहरूलाई जानकारी पनि हुन्छ, अनि गल्ती गरिएछ भन्ने महसुस पनि हुने भैहाल्यो ।’ 

आइतबार बिहान आधा घण्टाको जाँचमा २८ गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसमध्ये पास भएकाहरुलाई फिर्ता गरी बाँकीलाई झण्डै एक घण्टा कोरोनाबारे अभिमुखीकरण गरिएको अधिकारीले बताउनुभयो । 

लकडाउन उल्लङ्घन गर्नेलाई सामाजिक दूरी कायम हुने गरी जिल्ला प्रहरी कार्यालय परिसरमा बनाइएको सुरक्षा घेराभित्र उभ्याएर झण्डै एक घण्टा अभिमुखीकरण गरिएको हो । आउँदा दिनमा यसलाई निरन्तरता दिइने अधिकारीले जानकारी दिनुभयो । 

कोरोनाबारेको अभिमुखीकरणमा सहभागी भएकाहरुलाई कानूनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाइने छ । 

 

अन्तिम अपडेट: बैशाख ११, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया