पहाडी भेगका केही ठाउँमा हल्का वर्षाको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
यूएई – दुबईमा कार्यरत श्रीमती बिनु पराजुलीलाई खोज्दै रुपन्देहीबाट श्रीमान् डोलराज पराजुली यूएई आइपुग्नुभयो । फोन सम्पर्क पनि राम्रो नभएकाले श्रीमतीलाई फकाएर भए पनि घर लैजाने उहाँको योजना थियो । तर डोलराजको जीवनमा नसोचको भयो । लामो यात्रा तय गरेर यूएई आइपुगेका डोलराजले श्रीमतीको सास त परको कुरा, लाश समेत देख्न पाउनुभएन ।
श्रीमतीको मन जित्ने दिन कुर्दै बसेका डोलराजको कानमा श्रीमतीको मृत्युको खबर पर्यो । ‘उसलाई त्यस्तो होला भन्ने के थाहा, म त उसलाई लिएर जाने दिन कुर्दै थिएँ’ डोलराज दुखेसो गर्दै भन्नुहुन्छ, ‘छोरी घरमा आमाको बाटो हेर्दै बसेकी छन्, म कसरी एक्लै घर फर्कनु ?’
सास नभए पनि लाश त देख्न पाउनुपर्ने हो । तर डोलराजको हकमा त यो सम्भावना पनि सकिएको छ । किनकी काम गर्ने घरमै ज्यान गुमाएकी बिनुको मृत्युको कारण कोरोना भनेर अस्पतालले भनेको छ । त्यसैले त आजका दिनसम्म श्रीमती लिन यूएई आएका डोलराजले शव समेत देख्न पाउनुभएको छैन ।
पहिले बिनु र डोलराज दुवै यूएईमै कार्यरत हुनुन्थ्यो । यूएईको रसअल खेमामा कार्यरत डोलराज अढाई वर्ष अघि घर जानुभयो । तर बिनु भने घर नर्फकिएको चार वर्ष भयो । ‘हामीबीच सबै राम्रो थियो, तर एक वर्षअघि सामान्य कुरामा विवाद हुँदा हाम्रो बोलचाल पातलिएको थियो,’ डोलराज भन्नुहुन्छ ।
सरकारले पुनः श्रम स्वीकृति बन्द गरेकाले बिनु नेपाल जान पाउनुभएको थिएन। डोलराजको जानकारीमा आए अनुसार बिनु भिजिट भिसामार्फत एक भारतीय नागरिकको घरमा काम गर्नुहुन्थ्यो । यूएई आएपछि उहाँले एकपटक फोनमा कुरा पनि गर्नुभयो । तर भेट्ने मेसो मिलेको थिएन ।
गएको चैत २१ गते बिनुको काम गर्ने घरमा सुतेकै ठाउँमा ज्यान गयो । कोठामै ज्यान गुमाएकी बिनुको शव त्यहीँबाट प्रहरीले लगेको थियो । त्यसको चार दिनपछि चैत २४ गते बिनुको मृत्यु कोरोनाको कारणले भएको थाहा भयो ।
शव बुझ्ने र नेपाल लैजान नसके यतै अन्त्येष्टि गर्ने हाम्रो योजना थियो, त्यही अनुसार अस्पताल गएका थियौं, तर अस्पतालले मृत्यु कोरोनाको कारण भएको हो भनेर प्रहरी चौकीमा कागज लिएर जान पो भन्यो,’ डोलराज सुनाउनुहुन्छ ।
उहाँका अनुसार यूएईको रशिद अस्पतालले अरेबीक भाषामा बिनुको मृत्युको कारण कोरोनाले भएको भनेर उल्लेख गरिएको छ । यूएईमा रहेको नेपाली दूतावासले बिनुको मृत्युको कारण कोरोना हो भनेर औपचारिक जानकारी नआएको बताएको छ । तर डोलराज भने अस्पतालले कोरोनाकै कारण मृत्यु भएको हो भनेर दिएको प्रमाणपत्र बोकेर श्रीमतीको अन्तिम पटक मुख हेर्ने प्रतिक्षामा हुनुहुन्छ ।
अहिले डोलराजलाई बिनुको शव कहाँ छ भनेर थाहा छैन । अस्पतालले शव कहिले दिन्छ या दिंदैन भन्ने पनि थाहा छैन । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण ज्यान गुमाउने जुनसुकै देशका नागरिकको शव एक देशबाट अर्को देश लैजान पाईंदैन । त्यसैले बिनुको अन्त्येष्टि युएईमै हुने त पक्का छ । तर कहिले र कसरी भन्ने यकिन भएको छैन ।
अस्पतालले शव दिए र मिलेदेखि यूएईमै श्रीमतीको अन्त्येष्टि गर्ने डोलराजको योजना छ । तर दूतावासले अहिलेसम्म बिनुको ज्यान जानुको कारण कोरोना हो भनेर पुष्टि गर्न सकेको छैन ।
यूएईको सरकारी निकायबाट बिनुको ज्यान गएकोबारे अहिलेसम्म औपचारिक जानकारी नआएकोले पुष्टि गर्न ढिलाई भएको नेपाली दूतावासले जनाएको छ । दूतावासले बिनुका श्रीमान् र कार्यरत रोजगारदातालाई आउन भनेको छ । तर आफ्नो कामदारको कोरोनाको कारण ज्यान गएको भन्दै बिनुको रोजगारदाता क्वारेण्टीनमा छ ।
बिनुले काम गरेबापतको रकम परिवारलाई बुझाउनुपर्ने भएकाले बिनुको रोजगारदातालाई बोलाइएको दूतावासले जनाएको छ । रोजगारदाता क्वारेण्टीनमा बसेकाले दूतावास जान सकेका छैनन् । रोजगारदाता नआउँदासम्म दूतावासले पनि एनओसी प्रदान गर्दैन ।
कोरोनाको कारण ज्यान जाँदा अस्पतालले शव दिन्छ, दिँदैन या आफूले दाहसंस्कार गर्न मिल्छ मिल्दैन डोलराजलाई थाहा छैन । साथीभाइसँग ऋण लिएर भिजिट भिसामार्फत यूएई आउनुभएका उहाँ यतिबेला आफैं अलपत्र पर्नुभएको छ । हजुरबुवा र हजुरआमासँग बसेर ९ कक्षामा पढ्दै गरेकी बिनुकी छोरीको आमाको मुख हेर्न इच्छा पनि टरेको छ ।
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोनाकै कारण कुनै नेपालीको परदेशमा ज्यान गएमा शव नेपाल ल्याउन त्यति सम्भव नभएको बताउनुभएको छ । ‘हामीले यसबारे कुनै निर्णय गरिसकेका छैनौं, विभिन्न देशमा दूतावससँग हामीले कुरा गरिरहेका छौं, दूतावासले त्यहाँको सरकारसँग कुरा गरिरहेको छ,’ उहाँले भन्नुभयो ।
शव उठाउनेदेखि लिएर त्यसको दाहसंस्कारसमेत पीपीई लगाएका विशेष टिमले गर्नुपर्ने भएकाले त्यो शवलाई सुरक्षित साथ घरपरिवारसम्म पुर्याउन कति सहज छ, त्यसको प्राविधिक पाटोका बारेमा अध्ययन गरिरहेको पनि मन्त्री ज्ञवालीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।