भान्छालाई शरीरमा रोगै लाग्न नदिने अस्पताल बनाउँ

 बैशाख ४, २०७७ बिहिबार १७:२५:३६ | डा. हरिप्रसाद पोखरेल
unn.prixa.net

काठमाण्डौ - चिकित्साका चार आयाम छन् – प्रिभेन्टिभ, प्रमोटिभ, क्युरेटिभ र र्याभिल्टेटिभ । प्राकृतिक चिकित्साका मुख्य पाटो रोग लाग्नै नदिने अर्थात प्रिभेण्टिभ र प्रमोटिभ हुन् । विजातीय पदार्थ अर्थात टक्सिकहरु विभिन्न कारणले शरीरभित्र पुगेका हुन्छन् । शरीरलाई नचाहिने अर्थात हानिकारक कुरा विजातीय पदार्थ (टक्सिक) हुने नै भए । शरीरलाई चाहिने कुरा पनि आवश्यकताभन्दा धेरै भए विजातीय बन्न पुग्छ । यस्ता कुरालाई शरीरबाट हटाउनुपर्छ । यसो नगरे यसले शरीरलाई हानी पुर्याउँछ । 

अर्को कुरा भनेको रोगसँग लड्ने क्षमता हो । जुन शरीरसँगै हुन्छ । जसलाई जीवन–शक्ति (इम्युनिटी) भनिन्छ । जीवन–शक्ति बलियो भएन भने शरीरले रोेगसँग लड्न सक्दैन । जीवन–शक्ति जति बलियो बनाइयो र शरीरभित्रका विजातीय पदार्थ जति बाहिर निकालियो त्यति नै हाम्रो शरीर बलियो हुन्छ । शरीरको रोगसँग लड्ने क्षमता बढ्छ । निरोगी हुने भनेको शरीरलाई बलियो बनाउने हो । 

एकातिर बर्सेनि अनेकौं रोगहरु थपिइरहेका छन् भने अर्कोतिर यसअघि उन्मूलन भए भनिएका रोगहरु फेरि देखिँदैछन् । किटाणु बोक्ने माध्यम पनि बलिया भइरहेका छन् । किनभने ब्याक्टेरिया वा भाइरसले औषधी वा आफूविरुद्धको विषादीलाई पचाइसकेको विभिन्न अध्ययनहरुले देखाइरहेका छन् । उदाहरणको लागि अहिले डीडीटी हानेर लामखुट्टे मर्न छोडे । लामखुट्टे हिमाली क्षेत्रमा समेत पुग्न थालेका छन् । यसरी फैलिरहेका रोगलाई औषधीले मात्र निको पार्न सक्दैन । यी रोगबाट हामी जोगिने भनेको जीवन–शक्ति बलियो बनाएरै हो । 

अहिले कोरोनाको विश्वव्यापी महामारी फैलिरहँदा शरीरको जीवन–शक्तिको कुरा चलिरहेको छ । जीवन–शक्ति बलियो भएका व्यक्तिलाई कोरोना भाइरसको सङ्क्रमण नहुने भनेर वैज्ञानिकहरुले भनिरहेका छन् । तर हामीले जीवन–शक्तिप्रति विश्वास गरेनौँ । औषधीलाई धेरै विश्वास गर्यौँ । जसले गर्दा शरीर कमजोर भयो । ससाना रोग लागेपनि हामी थला पर्न थाल्यौँ । औषधी खाइहाल्ने अवस्थामा पुग्यौँ । शरीर बलियो भएन भने औषधीले मात्र कहाँ बचाउन सक्छ र ? 

आकस्मिक उपचारको लागि एलोप्याथीभन्दा अर्को उपचार पद्धति छैन । सङ्कटकालीन उपचार वा शल्यक्रियाको लागि एलोप्याथी जति प्रभावकारी अरु छैन । तर समग्र स्वास्थ्यको लागि जीवन–शक्ति बलियो बनाउनुपर्छ । जसरी बलियो घरलाई हावाहुरी र भूकम्पले भत्काउन सक्दैन । त्यसैगरी जीवन–शक्ति बलियो भएको शरीर किटाणु र विषाणुको आक्रमणबाट ढल्दैन । तर हाम्रो हेल्चेक्र्याइँका कारण जीवन–शक्ति घटिरहेको छ र जीवाणु तथा विषाणु बलिया भइरहेका छन् ।

होम टू होटल, होटल टू हस्पिटल

मानव स्वास्थ्यका आधारभूत तीन कुरा छन् । भोजनको व्यवस्थापन, व्यायामको व्यवस्थापन र तनावको व्यवस्थापन । यी तीन काम गर्न सके हामी स्वस्थ रहन्छौँ । पछिल्लो समय हामी यी तीन कुराको व्यवस्थापन गर्न सकिरहेका छैनौँ वा भर्नौँ गर्न चाहिरहेका छैनौँ । खानेकुरामा हामी एकदमै हेलचेक्र्याइँ गरिरहेका छौँ । स्वादको लागि मात्र खाने क्रम बढेको छ । 

र, स्वाद भनेको विभिन्न रसायन हालेका र तयारी खानेकुरामा मात्र पाइन्छ भन्ने भ्रम बढ्दै गएको छ । खासमा त्यसो होइन । एकातिर तनाव बढ्दो छ भने अर्कोतिर व्यायाम गर्ने क्रम पनि घटेको छ । योगजस्ता अति आवश्यक कुरा हामीले बिर्सिरहेका छौँ । यसरी खानामा हेल्चेक्र्याइँ, अल्छी बानी र बढ्दो तनावका कारण जीवन–शक्ति कमजोर बनिरहेको छ । 

प्राकृतिक जीवनशैली भनेको प्रकृति र मानिसबीचको अन्तरसम्बन्धबाट  स्वास्थ्य रक्षा र रोगीको उपचार गर्ने कलासंस्कृति र विज्ञान हो । हामी स्वादको लागि भनेर वा अरु कुनै पनि बहानामा होटल जाने क्रम बढ्दो छ । तर दुःखको कुरा होटलमा खानेकुराको गुणस्तर कायम छैन । उत्पादन र उपभोग्य मितिबारे सचेतना छैन । कस्ता रसायनहरु मिसाइएको छ भन्नेबारे पनि वास्ता छैन । 

त्यस्ता खानेकुरा निर्बाध रुपमा पसल र होटलमा बिक्री भइरहेका छन् । गुणस्तरको अनुगमन खासै हुँदैन । भएपनि झारा टार्ने खालको मात्र हुन्छ । तारे होटलको भान्छा पनि फोहोर र खानेकुरा गुणस्तरहीन भए भन्ने यदाकदा समाचारहरु सुन्न र हेर्न पाइन्छ । तैपनि हामी होटलमा खान मरिहत्ते गरिरहेका हुन्छौँ । 
घरबाट होटल वा होम टू होटल गर्ने हो भने त्यहाँबाट हस्पिटल पनि छिटै जानुपर्छ । अर्थात होम टू होटल र होटल टू हस्पिटल । त्यस्तै ‘फास्ट फुड फास्ट डेथ’ हो । यसलाई हरेक भान्छामा ‘कोटेसन’कै रुपमा राख्न जरुरी छ । 

मिठो भनेको अजिना मोतो ?

स्वभाविक हो कि हामीलाई मीठो खान मन लाग्छ । तर मिठो भनेको अजिना मोतो अर्थात मोनोसोडियम गुल्टामेट हालेका खानेकुरा मात्र मिठो हुँदैन । प्याकेट र बोतलका पत्रु खानेकुरामा जोड दिएपछि त्यसको असर शरीरमा देखिने नै भयो । यसले भोलिको सिङ्गो पुस्ताको शरीरलाई असर पर्ने नै भयो । बच्चालाई प्याकेटका कुरकुरे, फुरफुरे, लेज, चाउचाउ, कोक, पेप्सी र फ्याण्टाजस्ता खानेकुरा खुवाएर हामीले कस्ता बालबालिका खोजेका हौँ ? यसबारे अभिभावक र राज्यले गम्भीर विमर्श गरेको पाइँदैन । 

मसला प्रयोग गरेर खानेकुरा मीठो, सुगन्धित र पोषणयुक्त बनाउन सकिन्छ । मसलाको उडनशील तेल (एलिमेटिक ओइल) धेरै नै महत्वपूर्ण छ । यसलाई उड्न दिनु हुँदैन । तर अहिले मसला एकैैपटक पिसेर राख्ने चलन छ । यसो गर्नु गलत हो । मसला छाकैपिच्छे पिसौँ । लोहोरो सिलौटोमा छाकैपिच्छे पिस्न गाह्रो होला । तर ‘मिस्चर’मा पिस्न गाह्रो हुँदैन । त्यसैले मसला एकैसाथ पिसेर नराखौँ । मसला भुट्ने चलन पनि गलत हो । यसो गर्दा मसलाको गुण र तत्व नष्ट हुन्छ । 

हिजो हाम्रो भान्छामा ५१ प्रकारका मसला थिए । त्यसपछि ३२ मा झार्यौँ । अहिले ९ मा आइपुग्यो । अहिले हाम्रो भान्छामा जाइफल, जाईपत्री र केशरजस्ता मसला पाइँदैन । अहिले हामी धनियाँ, मेथी, जीरा, ज्वानो, प्याज, लसुन, अदुवा, मरिच, अलिअलि सुकमेल र टिमुर प्रयोग गरेका छौँ । हामी ज्वानोदेखि केशरसम्मलाई मसलाका रुपमा प्रयोग गथ्र्यौँ । तर अहिले छैन । अर्कोतिर बनाउने तरिका पनि गलत भइरहेको छ । मसला खोपजस्तो हो शरीरको लागि । मसलाले खाना स्वादिलो बनाउँछ । शरीरलाई चाहिने सुक्ष्म तत्व र विभिन्न लवणहरु पनि प्रदान गर्छ । 

हामीले खानेकुरा अर्थात कृषि उपजको उत्पादनबारे बेवास्ता गर्न थालेका छौँ । खेतीमा विषको रुपमा रहेको रसायनको प्रयोग बेपत्तासँग बढिरहेको छ । हामी त्यही खाइरहेका छौँ । खाना बनाउने, खाने र उत्पादन प्रणाली पुरानो छोड्दै र नयाँ अनुसरण गर्दै गइरहेका छौँ । 

धेरै उत्पादन गर्ने र बेच्ने नाममा हामी विषाक्त कुरा फलाइरहेका छौँ र खाइरहेका छौँ । अनि बिरामी भए अस्पताल छँदैछ नि भन्ने भ्रममा छौँ । औषधीले होइन, जीवन–शक्तिले हामीलाई बचाउने हो भन्ने कुरा हामीले भुल्यौँ । बिरामी भएपछि उपचारमा खर्च हुने लाखौँ रुपैयाँको कुरा त अझ चर्को छँदैछ । 

निरोगी रहन शरीरलाई बलियो बनाउनुपर्छ र शरीर बलियो हुन खानेकुरा स्वस्थ हुनुपर्यो । खाने तरिका प्राकृतिक हुनुपर्यो । योग गर्नुपर्यो । तनावको व्यवस्थापन गर्नुपर्यो । तर यी कुरा हामीले भुल्दै गयौँ । रैथाने ज्ञानलाई बिर्सियौँ । हामीसँग भएका सबै कुरा नराम्रा र अरुसँग भएका कुरा राम्रा भनेर हामी कुदिरहेका छौँ । 

सबै मान्छेले सधैँ घरमै मात्र खान सम्भव नहोला । तर उनीहरुको कार्यालय, अस्पताल र क्याम्पसलगायतका क्यान्टिन, होटल र रेस्टुरेन्टमा कस्तो भान्छा छ, कसरी पकाइन्छ, कस्ता सामान राखिन्छ भन्नेमा ध्यानै छैन । गुणस्तरको ग्यारेण्टी छैन । अजिना मोतो, मैदा, चिनी, नुन, सेतो चामल, वनस्पति घ्यूलगायतका ‘ह्वाइट पोइजन’ भनिने खानेकुरालाई हामीले खुलेआम बढाइरहेका छौँ । 

भान्छालाई ‘प्रिभेन्टिभ र प्रमोटिभ हेल्थ केयर’को अस्पताल बनाउनुपर्छ । अब यसबारेमा हामीले छलफल गर्नैपर्छ । पश्चिमा केही देशले यसबारे बहस गर्न थालेका छन् । हामीले पनि यसमा बहस गर्न ढिलो गर्नु हुँदैन । 

स्वास्थ्य मापनको मान्यता फेर्नुपर्छ

हामी अस्पताल, औषधी उद्योग, उपकरण, औषधीको उपलब्धता, स्वास्थ्यकर्मीलगायतलाई आधार मानेर स्वास्थ्यको अवस्थाको मापन गर्छौँ । सरकारले बर्सेनि यति अस्पताल खोलेको, यति औषधी उद्योग थपिएको, यति उपकरण किनेको, यति डाक्टर, नर्स र जनशक्ति थपेको सुनिन्छ ।

तर कहिल्यै कृषिमा विषादी प्रयोग नगर्न के गरियो ? अर्गानिक खानेकुरा उत्पादनको लागि के के व्यवस्था भयो ? अनुगमन बढाइयो कि बढाइएन ? विषाक्त खानेकुरा बेच्नेलाई कडा कारबाहीको व्यवस्था गरियो ? स्वस्थकर खानेकुरा उत्पादन गर्ने विधि र विज्ञानलाई जोड दिइयो ? भन्नेबारे बहस गरेको खासै सुनिँदैन । किनकि यसबारे सरकारको ध्यान गएको छैन । यो अवधारणालाई आत्मसात् गरिएको छैन । 

त्यसैले औषधी, अस्पताल र उपकरण थपेर मात्र होइन, निरोगी बनेर बिरामी नै नभएर वा कम मात्र बिरामी भएर स्वास्थ्यको अवस्था मापन गर्नुपर्यो । यसका लागि जीवन–शक्ति बलियो बनाउनुपर्छ । यसका लागि भान्छालाई नै स्वास्थ्य हेरचाहको अस्पतालको रुपमा विकास गर्न जरुरी छ । 

(प्राकृतिक चिकित्सक पोखरेलसँग उज्यालोका लक्ष्मण कार्कीले गर्नुभएको कुराकानीमा आधारित)

अन्तिम अपडेट: चैत १५, २०८०

डा. हरिप्रसाद पोखरेल

डा. पोखरेल प्राकृतिक चिकित्सक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया