महामारीले माछापालन व्यवसायमा ल्याएको सङ्कट

 वैशाख ९, २०७७ मंगलबार १०:१७:४२ | डा. मो. ईकबाल हुसेन
unn.prixa.net

पोखरा - कोरोना महामारी मानवमाथि आइपरेको एउटा यस्तो सङ्कट हो जसको निवारणको लागि विश्व एकजुट भएर लाग्नुभन्दा अर्को विकल्प छैन । यस महामारीविरुद्धको लडाइँमा धैर्यता र सजकताका साथ आफ्ना कार्यहरु गरिराख्नु पर्दछ । इमान्दारीका साथ काम गर्नेलाई कसैले रोक्दैन र काम नगर्नेले अनेक बहाना गरेर काम गर्दैन । तर अहिलेको अवस्थामा कुनै पनि द्विविधामा नपरी सबैले सेवाभावले सक्नेजति काम गरौँ । एकले अर्कोलाई सहयोग गरौँ । 

महामारीले उत्पन्न गरेका समस्याहरुबाट छिटोभन्दा छिटो निकासको लागि समझदारीपूर्वक आफ्नो दायित्व निर्वाह गरौँ । यो महामारीले गर्दा आज हामी त्रासमा छौँ । हामी आफ्नो दायित्व कसरी पूरा गर्ने हामीमै निर्भर छ । त्यसैले हामी सबै सचेत हुनुका साथै आफ्नो दायित्वप्रति इमान्दार पनि हुनुपर्दछ ।

भोलिका दिनमा देशमा हुने कृषि उत्पादनमा कमीप्रति हामी अहिलेदेखि सचेत हुनुपर्दछ । आज हामी बेखबर भएर बस्यौँ भने भोलि समयले हामीलाई साथ दिने छैन । कृषि क्षेत्रको लागि सरकारले दिनुपर्ने निर्देशन र गर्नुपर्ने कामहरुको थालनी तुरुन्त गर्नुपर्ने देखिन्छ । 

अहिलेको अवस्थामा किसानले उत्पादन गरेका माछा, मासु, तरकारी र दुधलगायतका वस्तुहरु उपभोक्तासम्म पुर्याउन कठिन देखिन्छ । यो समस्या समाधानको लागि किसानहरुलाई न्यूनतम मूल्य दिएर उनीहरुको उपज खरिद गरी बजारीकरण र विश्वसनीय वातावरणमा बिक्री गर्ने व्यवस्था गर्नुपर्ने देखिन्छ । यसले गर्दा किसानहरु उत्साहित हुने छन् र उनीहरुले नियमित कृषि कार्यमा लाग्ने छन् । 

कृषि उत्पादनको लागि चाहिने बीउबिजन, मलखाद, दाना र औषधि समयमै कृषकको थलोमा पुग्यो भने आउँदा दिनमा कृषि उत्पादनमा कम असर पर्ने छ ।
कृषिका विभिन्न क्षेत्रमध्ये माछापालन एक प्रमुख क्षेत्र हो । माछाको सहज आपूर्ति र सेवनबाट नेपाली नागरिकलाई स्वस्थ रहन चाहिने प्रोटिन, भिटामिन र मिनरलका साथै ओमेगा ३ फ्याटी एसिडजस्ता पोषण प्राप्त हुन्छ । यसले खासगरी महिला र बालबालिकालाई कुपोषणबाट जोगाउँछ । माछामा पाइने ओमेगा ३ फ्याटी एसिडले रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति बढाउन शरीरलाई मद्दत गर्दछ । 

स्वास्थप्रति नागरिकहरुको सजकताको कारण देशमा माछाको माग दिनानुदिन बढिरहेको छ  । तर हामी माछामा आत्मनिर्भर भएका  छैनौँ । भोलिका दिनमा माछाको उत्पादनमा कमी आयो भने विदेशबाट माछा आयात झन् बढ्ने निश्चित छ । यसबारे अहिलेदेखि नै सचेत हुनु जरुरी छ र माछापालनको लागि चाहिने भुराहरु किसानका पोखरीसम्म समयमै पुर्याउनु जरुरी छ । 

माछाको प्रजनन समयअनुसार माछाका भुरा ह्याचारीहरुमा उत्पादन हुन्छ । कमनकार्पको प्रजनन कार्य फागुनदेखि सुरु भएर चैत्रसम्म सकिसकेको छ । निजी र सरकारी ह्याचारीबाट उत्पादित कमनकार्पका भुराहरु हुर्किसकेका छन् । तर बन्दाबन्दीले गर्दा अहिलेसम्म बिक्री सुरु हुनसकेको छैन । जबकि गएको वर्ष बैशाखको पहिलो सातासम्म ८० प्रतिशत कमनकार्पका भुरा बिक्री भइसकेका थिए । कमनकार्पका भुरा समयमै बिक्री नभएर पोखरीहरु खाली नभएपछि कमनकार्पको प्रजनन कार्य कम भएको छ र यसले कमनकार्प भुराको उत्पादनमा कमी आएको छ । 

कमनकार्पका भूराहरु समयमै बिक्री भएपछि मात्र नर्सरी पोखरीहरु खाली भएर अरु जातका भुरा उत्पादनमा सहजता हुन्छ । अहिले ग्रास कार्पको प्रजनन गर्ने समय हो । यस्तै सिल्भर र बिगहेड कार्प माछाको प्रजनन समय नजिकिँदै छ । कमनकार्प भुराहरु धेरै दिन नर्सरी पोखरीमै ‘स्टक’ भइराख्यो भने अन्य जातका माछा प्रजनन गर्ने कार्य रोकिन्छ । यसरी अन्य जातका माछाका भुरा उत्पादनमा कमी आउने देखिन्छ । भुरा उत्पादनमा कमी आएर भुरा माछाको आपूर्ति भएन भने माछाको उत्पादनमा पनि कमी आउने पक्का छ । 

भुरा माछा पाइने स्रोत केन्द्रमा सिधैँ गएर माछापालक किसानहरुले भुरा लिन अहिलेको अवस्थामा कठिन देखिन्छ । त्यसैले ती स्रोत केन्द्रबाट किसानहरुको पोखरीसम्म भुरा माछा पुर्याउने जिम्मेवारी सम्बन्धित सरकारी निकायहरुले लिनुपर्दछ । यसको लागि पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, भेटेनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रलगायत कार्यालय र स्थानीय निकायहरुले किसानहरुको मागअनुसार स्रोत केन्द्रहरुबाट भुरा माछा किसानहरुको पोखरीसम्म सहजतापूर्वक पुर्याउने काम गर्नुपर्दछ । 

पछिल्लो समय कोरोनाबाट पीडित अरु देशहरुको भोगाइबाट हामीले धेरै पाठ सिकिसकेका छौँ । लकडाउन कहिलेसम्म रहने हो भन्ने निश्चित छैन । लकडाउन भविष्यमा खुलेपछि पनि करिब दुईदेखि तीन महिनासम्म सजगता अपनाउनुपर्ने देखिन्छ । स्रोत केन्द्रहरुमा भिडभाड कम भयो भने भुरा वितरण गर्न सजिलो हुनुका साथै जोखिम पनि कम हुने छ । यसको सबभन्दा सजिलो र भरपर्दो उपाय भनेको किसानहरुको माग सङ्कलन गरेर सम्बन्धित निकायहरुले भुरा माछा किसानहरुको पोखरीसम्म पुर्याउनु नै हो । 

भुरा माछा आपूर्तिको साथै माछा हुर्काउनको लागि चाहिने दाना र दाना बनाउने कच्चा पदार्थको आपूर्ति तुरुन्त गर्न आवश्यक छ । मलखाद र औषधिको सहज उपलब्धता पनि जरुरी देखिन्छ । यी आवश्यक सामानहरुको सहज आपूर्तिको लागि सम्बन्धित निकायहरुबाट छिटै पहल हुने छ भन्ने आशा गरेको छु । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. मो. ईकबाल हुसेन

वरिष्ठ वैज्ञानिक डा. हुसेन पोखरामा रहेको मत्स्य अनुसन्धान केन्द्रको प्रमुख हुनुहुन्छ ।  

2 Comments

  • hareram devkota

    April 22, 2020, 9:17 p.m.

    यो लेख सरसर्ती पढे | लेखकलाई मैले नजिक बाट चिनेको नाताले निम्न प्रश्न गर्न आबस्यक ठाने | के इमान्दारिताको पाठ अरुले मात्र पढ्नु पर्ने हो ? आफु मातहतका कर्मचारीलाई हतोस्सहित गरिरहेको अबस्थामा महामारीको विरुद्ध लड्न सकिन्छ ? कसैले कुनै बहाना बाजी गरेको छैन | के यो केन्द्र चाहि सरकारी निकाय होइन ? भुरा वितरण गर्न सकियन भनेर रोइलो गर्नुभन्दा आफ्नै कार्यालमा छलफल गरि समाधान खोज्न सकिदैन ? पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, भेटेनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रलगायत कार्यालय र स्थानीय निकायहरु सँग त समन्वय गर्ने हो| कार्यन्वयन त आफै गर्नुपर्छ भन्ने हेक्का होस | गएको वर्ष बैशाखको पहिलो सातासम्म ८ सय ५ कमनकार्पका भुरा बिक्री भइसकेका थिए । भनिएको छ | के १.५ रोपनीमा मात्र राख्न मिले भुरा मात्र उत्पादन भएको थियो त? तसैले यो भ्रम पुर्ण लेख छ | विश्वास गर्न सकिदैन |

  •  0 Reply
  • hareram devkota

    April 21, 2020, 11:47 a.m.

    यो लेख सरसर्ती पढे | लेखकलाई मैले नजिक बाट चिनेको नाताले निम्न प्रश्न गर्न आबस्यक ठाने | के इमान्दारिताको पाठ अरुले मात्र पढ्नु पर्ने हो ? आफु मातहतका कर्मचारीलाई हतोस्सहित गरिरहेको अबस्थामा महामारीको विरुद्ध लड्न सकिन्छ ? कसैले कुनै बहाना बाजी गरेको छैन | के यो केन्द्र चाहि सरकारी निकाय होइन ? भुरा वितरण गर्न सकियन भनेर रोइलो गर्नुभन्दा आफ्नै कार्यालमा छलफल गरि समाधान खोज्न सकिदैन ? पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, भेटेनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रलगायत कार्यालय र स्थानीय निकायहरु सँग त समन्वय गर्ने हो| कार्यन्वयन त आफै गर्नुपर्छ भन्ने हेक्का होस |

  •  0 Reply

तपाईको प्रतिक्रिया